सिटिजन्स बैंकद्वारा घरबार विहीनलाई १७ दिन भोजनको व्यवस्था, निःशूल्क स्वास्थ्य शिविर

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सडक आश्रित घरबार बिहीनलाई दिवा भोजनको व्यवस्था गरेको छ । बैंकले आफ्नो सत्रौं बार्षिक उत्सवको अवसरमा घरबारविहीन र मानसिक सन्तुलन गुमाएर सडकमा आश्रय लिइ वसेका व्यक्तिहरुलाई बिहीबार १ हजार ७०० व्यक्तिहरुलाई १७ दिन भोजनको व्यवस्था गरेको हो । बैंकले आफ्नो सत्रौं बार्षिक उत्सव यहि बैशाख ७ गते मनाउदै छ । भोटुस्इन्दिरा समाज कल्याण संस्थासंगको सहकार्यमा काठमाडौंका जोरपाटी, चाबहिल, बौद्ध, मैतीदेवी, सेतोपुल, पुरानो बानेश्वर, भीमसेनगोला, बत्तीसपुतली, सिनामंगल, गौशाला लगायतका स्थानमा नदी किनार, सडक छेउमा र पुलमुनि बस्ने घरबारविहीन मानिसहरूलाई बैंकले भोजन वितरण गरेको हो । सन् २०२० मा कोभिड १९ को सुरुवातसँगै सडकमा आश्रित घरबारविहीन व्यक्तिहरुलाई खाना खुवाउने कार्यको थलानी गरेको संस्थाले हालसम्म ३ लाखभन्दा बढीलाई खाना खुवाएको छ भने ५०० भन्दा बढीलाई अन्य सहयोग गरिसकेको छ । यसका साथै आजै बैंकको कोशि प्रदेशको धरान शाखाबाट निःशूल्क स्वास्थ्य शिविर संचालन गरि करीब १५० जना सेवाग्राहीहरुले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन् । शिविरमा आवश्यक औषधीहरु समेत निःशूल्क वितरण गरेको छ । साथै कोशि प्रदेशको धरान शाखा र महेन्द्रचोक शाखा, मधेश प्रदेशको महेन्दनगर धनुषा शाखा, बाग्मती प्रदेशको ठिमि, थानकोट, भैंसेपाटी, सामाखुसी, टेकु र नारायणगढ शाखा, कर्णाली प्रदेशको सुर्खेत शाखा, सुदुरपश्चिम प्रदेशको धनगढी र महेन्द्रनगर शाखाहरुबाट बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । देशभर विभिन्न शाखामा गरेको रक्तदान कार्यक्रममा २२२ जना दाताले रक्तदान गरेका छन् । हरेकवर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको जानकारी गराएको छ । बैंकले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा एटीएम र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख २४ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । हाल ५५ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको बैंकले यसै आर्थिक वर्ष थप ७ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्नेछ ।

ड्रिम इन्टरनेशनलले आईपीओ जारी गर्दै, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाडौं । ड्रिम इन्टरनेशनल होटलले साधारण सेयर (आईपीओ) जारी गर्ने निर्णय गरेको छ । पब्लिक कम्पनीमा रुपान्तरण गरी आईपीओ निष्काशनको प्रक्रिया अघि बढाउनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको छ । होटेलले आयोजित एक कार्यक्रममा ड्रिम इन्टरनेशनल होटलको तर्फबाट अध्यक्ष गोपाल राना र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । पर्यटन उद्योगमा फरक पहिचान बनाएको ड्रिम ग्रुप अन्तर्गतको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारणलाई समेत पर्यटन उद्योगमा जोड्ने लक्ष्यसहित सार्वजनिक सेयर निष्काशन प्रक्रिया अगाडी बढाईएको होटलका अध्यक्ष गोपाल रानाले जानकारी दिए । पश्चिम नेपालकै व्यापारिक तथा पर्यटकीय शहर बुटवलमा रहेको ड्रिम इन्टरनेशनल होटलले सहलगानी गर्दै देशका ७ वटै प्रदेश तथा पर्यटकीय गन्तव्यहरुमा होटल स्थापना गर्ने योजना बनाएको छ र छिटै नै आईपीओ जारी गरी उक्त योजनानुसार कामहरु सम्पन्न गर्ने अध्यक्ष रानाले जानकारी दिए ।

लघुवित्त संस्थाहरूको खराब कर्जा बढेका कारण प्रतिफल घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले खराब कर्जा बढेका कारण लघुवित्त वित्तीय संस्थाहरूको प्रतिफलमा संकुचन आएको बताएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको लघुवित्त वित्तीय संस्थाहरूको निरीक्षण तथा सुपरिवेक्षण सम्बन्धी वार्षिक प्रतिवेदनमा निष्कृय कर्जा उल्लेख्य वृद्धि भएका कारण खुद नाफामा संकुचन आएको जनाएको हो । राष्ट्र बैंकका अनुसार २०८० असारमा खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ५९.८२ प्रतिशत घटेर ३ अर्ब ७३ करोड रुपैयाँ रहेको छ । यस्तै, ब्याज आम्दानी ६१ अर्ब १२ करोड रुपैयाँ, ब्याज खर्च ३५ अर्ब ८७ करोड रुपैयाँ र संचालन आम्दानी २१ अर्ब ८५ करोड रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षमा कुल ६५ वटा संस्थाहरूमध्ये २ वटा संस्था मात्र खुद नोक्सानीमा रहेकोमा यस आर्थिक वर्षमा कुल ५७ वटा संस्थाहरुमध्ये ४१ वटा खुद नाफामा र १६ वटा खुद नोक्सानीमा रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख गरिएको छ । यस अवधिमा लघुवित्तको गैर–बैंकिङ सम्पत्तिमा भने कुनै परिवर्तन आएको छैन । लघुवित्तहरूको गैर–बैंकिङ सम्पत्ति १३ लाख ३६ हजार रुपैयाँ तथ्याङ्क छ । लघुवित्त संस्थाहरूले आफुले प्रदान गरेको कुल कर्जाको एक–तिहाईमा नबढ्ने गरी धितो लिई लघु उद्यम कर्जा प्रदान गर्न सक्ने व्यवस्था रहेको छ । सो अनुसार २०८० असारसम्म एउटा संस्था बाहेक अन्य सबै संस्थाहरूले प्रवाह गरेको धितो कर्जा कुल कर्जाको एक तिहाईभन्दा बढी नरहेको राष्ट्र बैंकले जनाएको छ । खुद्रा कर्जा प्रदायक लघुवित्त संस्थाहरूको कुल कर्जामा धितो कर्जाको अनुपात २०.५५ प्रतिशत रहेको छ । कुल बचत दायित्वको ०.५ प्रतिशत (सर्वसाधारणबाट निक्षेप संकलन गर्नेको हकमा २ प्रतिशत) अनिवार्य मौज्दात अनुपात कायम गर्नुपर्ने व्यवस्था छ । तोकिएको अनिवार्य मौज्दात अनुपात कायम नगरेकाले आर्थिक वर्ष २०७९/८० मा महिला लघुवित्त वित्तीय संस्थालाई १ हजार ३०५ रुपैयाँ जरिवाना तिराएको राष्ट्र बैंकले जनाएको छ ।