एक रुपैयाँ बचतबाट बन्यो आठ करोडको पुँजी

तनहुँ । सुन्दा पत्यार नलाग्न सक्ला तर एक रुपैयाँ बचतले आठ करोडको पुँजी सङ्कलन भएको छ । बन्दीपुर गाउँपालिका–४ स्थित बिमलनगर आमा समूहले एक रुपैयाँबाट बचत सुरु गरेको कोषमा हाल आठ करोड जम्मा भएको छ। करिब तीन वर्षसम्म समूहले एक, दुई, दश, बीस, पचास र एक सयका दरले क्रमिक रुपमा बचत गर्दै आएको थियो । विसं २०५४ सालमा समूहले सहकारी सञ्चालन गर्ने निर्णय अनुरुप मस्र्याङ्दी आमा बचत तथा ऋण सहकारी संस्था स्थापना गरेका थिए । आमा समूहले बचत गर्दै आएको पैसाले सहकारी सञ्चालन गरेपछि अहिले संस्थाको पुँजी आठ करोडभन्दा बढी पुगेको हो । महिलाले सञ्चालनमा ल्याएको उक्त सहकारी गाउँपालिकामै नमुना र अनुकरणीय गर्न योग्य रहेको संस्थाकी लेखा संयोजक बबिता थापाले बताइन् । अहिले सहकारी संस्थामा आठ सयभन्दा बढी शेयर सदस्य छन् । उनले भनिन्, ‘सुरुमा एक रुपैयाँ बचत गर्ने महिलाले अहिले मासिक एक हजार पाँच सयसम्म जम्मा गर्न थालेका छन् ।’ सहकारी संस्थामा कार्यरत सबै कर्मचारी महिला छन् भने लेखा समिति, शिक्षा उपसमिति, ऋण उपसमिति, धितो मूल्याङकन समिति लगायतमा महिलाले नै नेतृत्व गर्दै आएका छन् । धितो राखेर पन्ध्र लाखसम्म ऋण दिन सक्ने अवस्थामा सहकारी पुगेको संस्थाकी अध्यक्ष बास्ना कुमारी मगरले बताइन् । सहकारीले कृषि र उच्च शिक्षा पढ्नका लागि शिक्षा धितोमा १२ प्रतिशत र अन्य शीर्षकका कर्जामा १४ प्रतिशत ब्याज निर्धारण गरिएको छ । गाईपालन, तरकारी, धूप तालिम र घरबास सञ्चालन लगायतमा लगानी गर्ने गरिएको सो संस्थाले जनाएको छ । संस्थाको आफ्नै भवन रहेको छ । तत्कालीन समयमा एक लाख ४६ हजारमा जग्गा खरिद गरी केही नगद खर्च र श्रमदानबाट भवन निर्माण गरिएको लेखा संयोजक थापाले बताइन्। वडामा रहेका आमा समूहले सामाजिक क्रियाकलाप विवाह, व्रतबन्धलगायतका कार्यमा सक्रिय हुँदै आएको छ भने वडाभित्र सीमित रहेको सहकारी संस्थालाई पालिका तहसम्म क्षेत्र विस्तार गरिएको छ । आगामी दिनमा सहकारीलाई गण्डकी प्रदेशस्तरमा लैजाने लगायतका योजना बनाइएको अध्यक्ष मगरले जानकारी दिइन् । रासस

सिटिजन्स बैंकले दिन्छ निःशुल्क इ–कम कार्ड, वार्षिकोत्सवको अवसरमा छुटैछुटको योजना

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १७औं वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक योजनाहरु सार्वजनिक गरेको छ । वैशाख ७ गतेको वार्षिकोत्सवलाई ध्यानमा राखेर बैंकले यहि वैशाख १ गते देखि वैशाख ३१ गते सम्म १ महिनाको लागि लागू हुने गरि विभिन्न सेवा सुविधामा भारी छुट र क्यासब्यक लगायतका योजनाहरु सार्वजनिक गरेको हो । सो योजना अन्तर्गत डेविट/क्रेडिट कार्ड प्रयोगकर्ताहरुले पस मेसिन र अनलाईन मार्फत १००० रुपैयाँ वा बढीको कारोबार गर्दा १७ प्रतिशत वा बढिमा १७० रुपैयाँ क्यासब्याक दिइने छ । यसैगरी सिटिजन्स स्मार्ट मार्फत क्यु आर कोड स्क्यान गरि भुक्तानी गर्ने ग्राहकहरुको लागि पनि ५०० रुपैयाँ वा बढीको कारोबार गर्दा १७ प्रतिशत वा बढीमा १७० रुपैयाँ क्यास ब्याक प्रदान गरिने बैंकले जनाएको छ । डिजिटल भुक्तानीको अर्को माध्यम इ-कम कार्डको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले योजना अवधीभरमा इ-कम कार्ड लिन चाहने ग्राहकहरुलाई सो कार्ड निःशुल्क रुपमा उपलब्ध गराउने छ । त्यसैगरि बैंकले यस योजना अवधिभर ग्राहकहरुका लागि निःशुल्क डिम्याट खाता खोलिदिने व्यवस्था गरेको छ । साथै बैंकका निश्कृय मोबाईल बैंकिङ्ग ग्राहकहरुलाई योजना अवधिभर सेवा सक्रिय गर्दा एकमुष्ठ १५० रुपैयाँ छुट प्रदान गरिने समेत जानकारी बैंकले गराएको छ । बैंकले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख ४६ हजार ग्राहकवर्गलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

स्काइवाक टावरको टिकट खरिदमा प्रभु बैंकका ग्राहकलाई छुट

काठमाडौं । स्काइवाक टावरको टिकट खरिदमा प्रभु बैंकका ग्राहकहरुलाई छुट हुने भएको छ । बैंकका ग्राहकहरूलाई स्काइवाक टावरको टिकट खरिदमा छुट दिन प्रभु बैंक लिमिटेड र वन्डर्स नेपालबीच दुई पक्षीय समझदारी भएको हो । सो समझदारी पत्रमा प्रभु बैंकको तर्फबाट प्रमूख मार्केटिङ्ग अफिसर रविन्द्र ढकाल र वन्डर्स नेपाल प्रा.लि (स्काइवाक) का तर्फबाट कार्यकारी निर्देशक पदम प्रसाद न्यौपानेले ग्राहक वर्गलाई अतिरिक्त लाभ दिने उद्देश्य सहित गरेको यस सम्झौता अन्तर्गत , प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले यो सुविधा उपभोग गर्न पाउने बैंकले जनाएको छ । यस सम्झौता अनुसार बैंकका ग्राहक तथा कर्मचारीहरुले कमलादी स्थित वन्डर्स नेपाल प्रा.लि.को स्वामित्वमा रहेको स्काइवाक टावरको टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउनेछन् । छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले टिकट खरिद गर्दा प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक पेश गर्नुपर्ने छ । बैंकद्धारा यस किसिमका ग्राहक लक्षित छुट तथा अन्य सुविधा सम्झौताहरु देशभरका विभिन्न अस्पताल, रेष्टुरेन्ट, होटल, पार्लर, डिपार्टमेन्टल स्टोरहरु लगायत अन्य व्यापारिक ईकाइहरुमा समेत भएको जानकारी बैंकले दिएको छ । स्काइवाक टावर कुल ७८ दशमलव पाँच मिटर अग्लो छ र यस टावरबाट उपत्यकाको तीनसय ६० डिग्रीमा द्दश्यावलोकन गरि मनोरजंन लिन सकिन्छ । यस बैंकले विश्वभरबाट रेमिटान्स सेवा दिदै रेमिटान्स खाता मार्फत उच्च व्याजदरमा सेवा दिदै आइरहेको बैंकले जनाएको छ ।