ग्रामीण विकास लघुवित्तका अध्यक्ष दङ्गालले दिए राजीनामा
काठमाडौं । ग्रामीण विकास लघुवित्तका अध्यक्षले राजीनामा दिएका छन् । लघुवित्तका कम्पनी सचिव श्याम कुमार कटुवालका अनुसार अध्यक्ष शिवहरी दङ्गालले राजीनामा दिएका हुन् । लघुवित्त सञ्चालक समितिको बैशाख ५ गते बसेको बैठकले अध्यक्ष दङ्गालले दिएको राजीनामा स्वीकृत गरेको छ । वि.सं २०७९ असोज २४ गते बसेको संचालक समितिको बैठकबाट दङ्गाल अध्यक्ष पदमा चयन भएका थिए ।
कुमारी बैंकद्वारा १० लाख रुपैयाँको बीमा रकम भुक्तानी
काठमाडौं । कुमारी बैंक लिमिटेडले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत खाता धारकलाई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ । खाता धारकको परिवारको तर्फबाट कावासोती न.पा. वडा नं २ निवासी निज खाता धारक लक्ष्मी पाण्डे र निजको श्रीमान विश्व नाथ पाण्डेलाई संयुक्त रुपमा रकम हस्तान्तरण गरिएको थियो । उक्त रकम कुमारी बैंक लिमिटेडको कावासोती शाखाबाट हस्तान्तरण गरिएको थियो । नेको इन्स्योरेन्स लिमिटेडबाट बीमा दाबी रकम प्राप्त भई कुमारी बैंक लिमिटेड मार्फत सो रकम भुक्तानी गरिएको थियो । कुमारी बैंकले कुमारी परिवार सुरक्षा बचत खातामा आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै आएको छ । यस खातामा खातावाला सहित परिवारका चार जना सदस्यले २६ लाख रुपैयाँ सम्मको बीमा सुविधा प्राप्त गर्न सकिन्छ । सो खातामा आकस्मिक दुर्घटना, मृत्यु, पुर्ण शारीरिक अशक्क्तता, चिकित्सा उपचार र घातक रोगहरुका लागि बीमा सुविधा प्रदान गरिन्छ । कुमारी बैंकले विगत ४ वर्ष देखि ग्राहकहरुको सुविधाका लागि परिवार सुरक्षा बचत खाता योजना मार्फत बिमा लगायत अन्य उत्कृष्ट सुविधा प्रदान गर्दै आएको बैंकले जनाएको छ । विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१५ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ६७ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
सहकारी घोटाला छानबिनमा सरकार गम्भीर छैन : आरजु राणा
काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवालेले सहकारी अनुगमनका लागि सरकारले गठन गरेको छानबिन आयोग भरपर्दो नरहेको बताएकी छन् । शनिबार काठमाडौंमा आयोजित ‘सहकारी समस्या र भावी रणनीति’ विषयक छलफल कार्यक्रममा बोल्दै उनले सहकारीका पीडितहरूलाई न्याय दिलाउने कामका लागि गठित सरकारी छानबिन समिति भरपर्दो नरहेको आरोप लगाइन् । २० वटाभन्दा बढी सहकारी क्षेत्र समस्याग्रस्त हुँदा पनि उक्त समस्या समाधान गर्न सरकार गम्भीर नभएको उनको आरोप छ । सहकारी संस्थाहरूले मान्छेलाई घरबारविहीन बनाएको घटनाको पनि उजुरी समितिमा आएको उनले बताइन् । २०७४ सालमा सहकारी जथाभावी खोल्न दिने ऐन बनेपछि सहकारी क्षेत्रमा समस्या भित्रिएको भन्दै त्यसको समाधान गर्नुको विकल्प नरहेको उनको भनाइ छ ।