८.९९% व्याजमा घर कर्जा, १२ करोडसम्म ऋण सुविधा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ग्लोबल ग्रीन आवास कर्जा योजना ल्याएको छ । यस कर्जा योजनाअन्तर्गत ७ वर्षसम्मको कर्जा अवधिमा अधिकतम् १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने व्यवस्था रहेको छ । वातावरणमैत्री गतिविधिहरुलाई उत्प्रेरित गर्ने उद्देश्यले बैंकले दिगो विकास लक्ष्य अनुरुप विभिन्न बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ । यस योजनाअन्तर्गत सहभागी हुने सेवाग्राहीलाई मोबाइल बैकिङ्ग तथा क्रेडिट कार्ड समेत निशुल्क जारी गरिनेछ । इको-फ्रेन्डली घर/भवन र अपार्टमेन्टहरूको निर्माण गर्न, पर्यावरण-मैत्री व्यक्तिगत घर वा आवासीय अपार्टमेन्ट तथा फ्ल्याटहरू खरिद गर्नका लागि यो कर्जा लिन सकिनेछ । यसका साथै वातावरणमैत्री उपायहरू अवलम्बन गर्ने क्रममा विद्यमान भवनहरूलाई पर्यावरणमैत्रीमा स्तरोन्नति तथा इको-फ्रेन्डली भवनहरूको मर्मतसम्भारका लागि समेत यस कर्जाको उपभोग गर्न सकिनेछ । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन । ग्लोबल आइएमई बैंक, सबैका लागि बैंकिङ्ग सेवा प्रदान गर्ने बैंक हो जसले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई, उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूणर् योगदान पुर्‍याउँदै आइरहेको छ ।

सबै नागरिकलाई कोषको पेन्सन योजनामा समेट्ने तयारी

काठमाडौं । नागरिक लगानी कोषले देशभरका सबै नागकिरलाई नागरिक पेन्सन योजनामा समेटने भएको छ । बिराटनगरमा सम्पन्न नागरिक पेन्सन योजना सम्बन्धी अन्तरक्रीया कार्यक्रममा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले सो कुरा बताएका हुन् । उनले उक्त योजनामा चैत मसान्तसम्म २१ करोड ६० लाख रुपैयाँ जम्मा भएको जानकारी दिए । सो अवधिसम्म सहभागी संख्या ६ हजार एक सय १० पुगेको छ । चालु आर्थिक वर्ष २०८०/८१ बजेटमा नागरिक लगानी कोषमार्फत स्वरोजगरामा रहेका सबै नेपाली सहभागी हुने गरी नागरिक पेन्सन योजना सञ्चालन गर्ने भन्ने व्यवस्था अनुसार कोषले देशभरका सबै नागरिकलाई समेटने गरी कार्य सुरु गरेको कार्यकारी निर्देशक कार्कीले बताएका हुन् । यस योजनामा आय आर्जन गर्ने, प्रचलित कानुन बमोजिम स्थापना भएका संघ, संस्था, एवं प्रतिष्ठानमा कार्यरत श्रमिक, कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैर आवासिय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक सहभागी हुन सक्ने व्यवस्था रहेको छ । यसमा सहभागी हुने बचतकर्ताहरुले न्यूनतम मासिक पाँच सय रुपैयाँदेखि अधिकतम आम्दानीको क्षमता अनुसार १० ले भाग जाने संख्यामा जम्मा गर्न सक्ने छन् । बचतकर्ताको आम्दानीको आधारमा मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिकरुपमा रकम जम्मा गर्न सकिने विशेषता योजनाको रहेको छ । पेन्सन प्राप्त गर्न बचतकर्ताको उमेर साठ्ठी वर्ष पुरा भएको र कम्तीमा १५ वर्ष योगदान गरेको हुनुपर्ने व्यवस्था रहेको छ । बचतकर्ताले १५ वर्षको बचत नगर्दै त्यसको ब्याज र प्रतिफल समेत एकमुष्ठ भुक्तानी लिन वा पेन्सनको रुपमा भुक्तानी लिन सक्नेछन् । सहभागीले गरेको बचत, त्यसको ब्याज र कोषको लगानीवाट प्राप्त प्रतिफल समेत जोडी हुन आउने कुल रकमलाई १७० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना निजको जीवनकालभर पेन्सन पाउने व्यवस्था कार्यविधिमा रहेको छ । कार्यक्रममा प्रमुख अतिथि रहेका जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले कोषले अवकाश कोष व्यवस्थापन गरी सामाजिक सुरक्षा सम्बन्धी राम्रा कार्यक्रम सञ्चालनमा ल्याएकोले ती कार्यक्रममा सहभागी बन्न सबैलाई आग्रह गरे । उनले कोषले सहभागीहरुलाई प्रदान गर्ने सेवा सुविधा थप गर्न र चुस्त दुरुस्त सेवा प्रदान गर्नु पर्नेमा जोड समेत दिए । कार्यक्रममा कोषका उप निर्देशक नारायण प्रसाद घिमिरेले नागरिक पेन्सन योजनाका बारेमा कार्यपत्र पेश गरेका थिए भने कोषको विराटनगर कार्यालयका उप–निर्देशक तारानाथ भट्टराईले स्वागत मन्तव्य राखेका थिए ।

समृद्धि फाइनान्सका ग्राहकलाई आर्सिया डेन्टलमा छुट

काठमाडौं । समृद्धि फाइनान्सका ग्राहकहरुलाई आर्सिया डेन्टलमा छुट हुने भएको छ । कम्पनिले आईतबार गते आर्सिया डेन्टल, पुतलिसडक काठमाडौंसँग समझदारी गरेको हो । उक्त समझदारी अन्तर्गत समृद्धि फाइनान्सका ग्राहकहरुले सोमबारदेखि समृद्धि मोबाइल बैंकिङ, डेविड कार्ड तथा सीपीआईएस प्रयोग गरि उक्त डेन्टलमा उपचार गरेको भुक्तानी गर्दा २० प्रतिशत छुट पाउने छन् । यो सुविधाबाट फाइनान्सका सम्पुर्ण ग्राहकहरु लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ । सो समद्मदारी पत्रमा फाइनान्स कम्पनीका तर्फबाट प्रमुख व्यवसाय प्रवर्धन अधिकृत शुभाष श्रेष्ठ र आर्सिया डेन्टलका तर्फबाट संस्थापक आर्सिया बानले हस्ताक्षर गरेको फाइनान्सले जनाएको छ । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको वित्तिय संस्था समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरु मार्फत नगद कारोबार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ भने मोबाइल बैंकिङ, डेबीट कार्ड, क्यूआर कोड आदि डिजिटल सुविधाहरु निशूल्क प्रदान गरिरहेको छ ।