एलआईसी नेपालले लाभांश नदिने

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी) ले गत आर्थिक वर्षको नाफाबाट लाभांश नदिने भएको छ । वैशाख १७ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट बोनस तथा लाभांश वितरण नगर्ने निर्णय गरेको हो । त्यस्तै, संस्थाले कम्पनीको नाफा नोक्सान, हिसाव र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने लगायतका वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्न स्वीकृतिको लागि बीमा प्राधिकरणमा पेस गर्ने निर्णय गरेको हो ।

लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण

काठमाडौं । लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई ‘डिजिटल हट एयर ओभन उपकरण’ खरिद गरी हस्तान्तरण गरेको छ । विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखालाई सो उपकरण हस्तान्तरण गरेको हो । प्रादेशिक रक्तसञ्चार सेवा पोखराको प्रयोगशाला व्यवस्थापनका लागि आवश्यक पर्ने ‘डिजिटल हट एयर ओभन उपकरण’ खरिद गरी हस्तान्तरण गरेको विकास बैंकले जनाएको छ । कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य राम चन्द्र सिग्देलले नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखा सभापति डण्ड राज शर्मा पौडेल लाई उक्त उपकरण हस्तान्तरण गरे । सञ्चालक सिग्देलले प्रादेशिक रक्तसञ्चार सेवा पोखराको प्रयोगशाला ब्यबस्थापनका लागि प्रत्यक्ष सकारात्मक प्रभाव पर्ने हुनाले उक्त उपकरण खरिद गरी गरिमामय संस्थालाई सहयोग गर्न पाउनु खुशीको कुरा रहेको बताए । उक्त कार्यक्रममा बैंकका पोखरा स्थित शाखाकार्यालयका शाखाप्रमुखहरु लगायत नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला तर्फबाट पनि उपसभापति द्वय धर्मराज अधिकारी र उर्मिला खड्का, कोषाध्यक्ष सन्तोष अधिकारी लगायत विभिन्न पदाधिकारीहरुको उपस्थिती रहको थियो । नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला का सभापति डण्ड राज शर्मा पौडेलले बैंकले गरेको सहयोगका लागि धन्यवाद दिंदै भविष्यमा पनि आपसी सहकार्यका लागि अपेक्षा रहेको बताए । देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंकको विभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) रहेको छ ।

एशियन लाइफको बीमा श्री सावधिक जीवन बीमा योजना सार्वजनिक

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले सस्तो मूल्यमा बीमितलाई जोखिम रक्षावरणसँगै बचतको प्रत्याभूति दिने गरी सावधिक जीवन बीमा योजना ‘बीमा श्री’ प्रचलनमा ल्याएको छ । यस कम्पनीको सञ्चालक समिति अध्यक्ष दिपक कुमार श्रेष्ठ, संचालक अच्युत राज सापकोटा, संचालक शिला राजभण्डारी, प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठ, कामु नायब प्रमुख कार्यकारी अधिकृत मुरारी राज हुमागाईंं, डेप्युटी मार्केटिङ हेड विजय पराजुलीले संयुक्त रुपमा सोमबार बीमा योजना सार्वजनिक गरेका हुन् । यो बीमा योजना अन्तर्गत १८ देखि ६५ वर्षसम्मको उमेरका व्यक्तिले यो बीमालेख खरिद गर्न सक्नेछन् । यो बीमा योजनामा न्यूनत्तम ५० हजार रुपैयाँदेखि माथि बीमितले आफ्नो आर्थिक अवस्थाका आधारमा जतिसुकै बीमाङ्क रोज्न सक्ने सुविधा छ । बीमित जीवित रहेको अवस्थामा बीमा अवधि पुरा भएपछि बीमाङ्क रकम र बीमा अवधि पुरा नहुँदै बीमितको निधन भएको अवस्थामा बीमितको इच्छ्याएको व्यक्ति वा हकवालाले बीमाङ्क रकम भुक्तानी पाउनेछन् । यस बीमा योजनामा बीमितले दुर्घटना मृत्यु लाभ, स्थायी अपाङ्ग/असक्त सुविधा, बीमाशुल्क छुट सुविधा र एशियन क्रिटिकल केयर सुविधा समेत रोज्न सक्छन् । मुनाफामा सहभागी नहुने गरी जारी गरिने यो बीमालेखले बीमितलाई कम बीमाशुल्कमा बीमालेख खरिद गर्न सहज बनाउनेछ । यस कम्पनीले आ.व.०८०/०८१ को चैत्र मसान्त सम्म प्रथम बिमाशुल्क १ अर्ब २० करोड ६१ लाख, नविकरण बीमा शुल्क ४ अर्ब ५७ करोड ९२ लाख गरी कुल ५ अर्ब ७८ करोड ५४ लाख बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।