एनसीएचएलले नेप्सलाई १ः०.२८ को स्वाप रेसियोमा प्राप्ति गर्ने
काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड(एनसीएचएल) ले नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स् (नेप्स) लाई १ बराबर ०.२८ को स्वाप रेसियोमा प्राप्त गर्ने भएको छ । बैशाख १३ गते सम्पन्न एनसीएचएलको विशेष साधारण सभाले उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै नेप्सको १०० कित्ता सेयर बराबर एनसीएचएलको २८ कित्ता सेयर हुने छ । नेपाल राष्ट्र बैंकको विद्ययमान भुक्तानी तथा फछ्र्यौट विनियम बमोजिम अपनाउनुपर्ने सम्पूर्ण प्रक्रियाहरु पूरा गरी नेपाल राष्ट्र बैंक समक्ष नेपाल क्लियरिङ्ग हाउस लिमिटेड र नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स् लिमिटेडको संयुक्त रुपमा अन्तिम स्वीकृती प्राप्त गरी कम्पनी रजिष्ट्रार कार्यालय र प्रचलित कानूनबमोजिम अपनाउनुपर्ने सम्पूर्ण प्रक्रियाहरु पुरा गरी एकिकृत कार्य प्रारम्भ गर्ने छन् । प्राप्ति कार्य गरे पश्चात् परिवर्तन हुने शेयर तथा चुक्ता पूँजी वृिद्घ गर्न, सेयर समूह स्वामित्व परिवर्तन गर्न एनसीएचएलको प्रबन्धपत्र तथा नियमावालीका आवश्यक दफा/नियमहरु संशोधन गर्ने लगायतका विषयहरुमा पनि विशेष साधारण सभाले स्वीकृति तथा अख्तियारी प्रदान गरेको छ । प्राप्तिका लागि २०८० पुस ६ गते प्रारम्भिक सम्झौता र विस्तृत मूल्याङ्ककन पश्चात २०८० चैत २२ गते प्राप्ति सम्बन्धी सम्झौता भएको थियो । हाल एनसीएचएल र नेप्सको चुक्ता पुँजी क्रमश १ अर्ब ६६ लाख रुपैयाँ र २१ करोड १२ लाख रुपैयाँ रहेको छ । प्राप्ति पश्चात एकिकृत संस्थाको चुक्ता पुँजी १ अर्ब ६ करोड ५८ लाख रुपैयाँ हुनेछ । एनसीएचएलको गत आर्थिक वर्ष २०७९/८० को खुद मुनाफा ३७ करोड ६८ लाख रुपैयाँ थियो भने नेप्सको ६ करोड ४६ लाख रुपैयाँ थियो । बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्धित दुवै संस्थाहरु नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालकको अनुमति प्राप्त गरी विगत लामो समयदेखि आ-आफ्नो क्षेत्रमा कार्य गरी आएका हुन् । नेप्सले कार्डमा आधारित भुक्तानी प्रणालीको सञ्जाल स्थापना गरि सदस्य बैंकहरुलाई विभिन्न अन्तराष्टिय कार्ड स्किममा आधारित कार्डहरु जारी गर्न तथा सो सम्बन्धी विविध कारोबार सञ्चालन तथा फर्छौट गर्ने सेवा प्रदान गर्दै आएको छ । त्यस्तै एनसीएचएलले कार्ड बाहेकका विभिन्न विद्युतीय भुक्तानी प्रणाली, पूर्वाधार तथा प्ल्याटफर्म मार्फत आफ्नो सदस्यहरुलाई सेवा दिदै आएको छ । विद्युतीय भुक्तानी पूर्वाधारको विकास तथा यसको प्रयोग वृद्धि गरी डिजिटल नेपालले परिकल्पना गरेको उक्त क्षेत्रलाई आधुनिकिकरण तथा अन्तरआबद्धता कायम गर्न र यस सम्बन्धी दूरगामी परियोजनाहरुको सफल कार्यान्वयनको लागि राष्ट्रिय भुक्तानी स्वीच लगायतका थप पूर्वाधारहरु विस्तार गर्न सहयोग हुने अपेक्षा गरिएको छ । प्राप्ति प्रक्रियाको माध्यमबाट दुवै संस्थाका प्रणाली, पूर्वाधार र कारोबारलाई एकीकृत गरी थप सुधार, प्रतिस्पर्धात्मक र प्रतिफलमूलक हुने गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय भुक्तानीको क्षेत्रमा आफ्नो उपस्थितिलाई सशक्त गर्न समेत एनसीएचएल र नेप्सबीचको प्राप्तिले उल्लेखनीय भूमिका खेल्ने छ । प्राप्ति पश्चात कम्पनीको पुँजी थप वृद्धि हुनुको साथै पहुँच, अनुभव र क्षमताको आधारमा यस क्षेत्रमा नेपाल सरकार र नेपाल राष्ट्र बैंकले परिलक्षित गरेको दीर्घकालिन उद्देश्य प्राप्ति गर्न समेत सहयोग हुने कम्पनीको विश्वास छ ।
राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा नेपाल बैंकका अधिकारी
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा नेपाल बैंकका प्रकाशकुमार अधिकारी नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिमा नेपाल बैंकको प्रतिनिधित्व हुने व्यवस्था भए बमोजिम उनी अर्को व्यवस्था नभएसम्मका लागि सञ्चालक सदस्य रहने भएका हुन् । सञ्चालक अधिकारीले पद तथा गोपनियताको सपथ ग्रहण गरि पद बहाली समेत गरेका छन् । उनले बैशाख ११ गते नै कम्पनीको सञ्चालक समितिका अध्यक्षबाट सपथ लिएका हुन् ।
सिटिजन्स बैंकका ग्राहकलाई काठमाडौंका विभिन्न संघ संस्थामा छुट हुने
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकलाई काठमाडौंका विभिन्न संघ संस्थामा छुट हुने भएको छ । बैंकले ग्राहकहरुलाई उत्कृष्ट सेवा सुविधाहरु दिने क्रममा विभिन्न संघ संस्थाहरु संग समन्वय गरी छुट दिने सम्बंधमा सम्झौता गरेको हाे । सम्झौता पश्चात सिटिजन्स बैंकका ग्राहकहरुले उक्त संस्थाहरुका सेवामा विभिन्न किसिमका छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले नयाँ बानेश्वर, काठमाडौंमा अवस्थित दुई संस्था नवदर्मा स्किन एण्ड लेजर एस्थेटिक प्रा.लि. र समाज डेन्टल हस्पिटल प्रा.लि., बौद्ध, काठमाडौंमा अवस्थित उत्पला क्याफे र बसुन्धरामा अवस्थित चिरायू नेस्नल हस्पिटल एण्ड मेडिकल इन्टिच्यूटका सेवाहरुमा १० प्रतिशत देखी २५ प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । यस अघि पनि बैंकले स्वदेश तथा विदेशका विभिन्न संघ संस्था संग समन्वय गरि ग्राहकहरुलाई सेवा सुविधाहरु प्रदान गर्दै आएको छ जसमा बैंकका कार्डबाहक ग्राहकहरुले भारत गुँडगाँव स्थित मेदान्त– द मेडिसिटि अस्पताल र भारतमै अवस्थित अपोलो हस्पिटलस इन्टरप्राईजेज लिमिटेडमा विशेष छुट प्राप्त गर्दै आएका छन । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । बैंकले देशैभरी रहेका आफ्ना १९० वटा शाखा, १५३ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख २४ हजार ग्राहकवर्गलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।