कुमारी बैंक र युएसएआइडीबीच सम्झौता, उद्योगलाई वित्तीय साक्षरतामा जोड्ने
काठमाडौं । कुमारी बैंक लिमिटेडले लघु, साना तथा मझौला उद्योग-व्यवसायमा वित्तीय साक्षरता कार्यक्रमका लागि युएसएआइडीसँग सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत युएसएआइडी ट्रेड एन्ड कम्पिटिटीभनेसले बैंकलाई नेपालभरका साना तथा मझौला उद्योगहरुमाझ वित्तीय साक्षरता अभिवृद्धि गर्ने पहलमा सहयोग गर्नेछ । बैंकले यस कार्यक्रम मार्फत १० हजार नयाँ एसएमईजलाई ‘बैंकिङ र क्रेडिट रेडी’ बनाउन वित्तिय सहयोग गर्ने छ ।
नेपाल बैंक लिमिटेडले शैक्षिक छात्रवृत्ति अक्षयकोष स्थापना गर्न दियो ३० लाख
काठमाडौं । नेपाल प्रहरीको सहकार्यमा नेपाल बैंक लिमिटेड शैक्षिक छात्रवृत्ति अक्षयकोष स्थापनाका लागि आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले नेपाल प्रहरीका ९ वटा प्रहरी स्कुलहरूमा अध्ययनरत अमर/सहिद, अशक्त प्रहरी कर्मचारीका सन्ततिहरू र बहालवाला एवम् पूर्व प्र.का.स. देखि प्र.व.ह. दर्जा सम्मका सन्ततिहरू मध्ये उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न अक्षयकोष स्थापनार्थ बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट ३० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रममा ‘नेपाल बैंक लिमिटेड शैक्षिक छात्रवृत्ति’ कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि नेपाल बैंक लिमिटेड र नेपाल प्रहरी बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेय, प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षकहरू तथा प्रहरीका वरिष्ठ अधिकृतहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा नेपाल बैंक लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारीले ३० लाख रुपैयाँ रकमको चेक प्रहरी वरिष्ठ उपरिक्षक रेवती ढकाललाई हस्तान्तरण गरे । नेपाल प्रहरीका विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूलाई प्रोत्साहन स्वरूप शैक्षिक छात्रवृत्तिका लागि आर्थिक सहयोग प्रदान भएकोमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले बैंकप्रति आभार व्यक्त गरे । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले प्रहरी संगठनबाट सञ्चालित विद्यालयहरूमा अध्ययनरत प्रहरी कर्मचारीका सन्ततिहरूलाई छात्रवृत्ति प्रदान गर्ने अवसर प्राप्त भएकोमा प्रसन्नता व्यक्त गरे ।
युनाइटेड रेफरेन्स ल्याबोरेटरी र प्रभु बैंकबीच छुट सम्झौता
पोखरा । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रा.ली. (यु.आर.एल.) र प्रभु बैंकबीच छुट सम्झौता भएको छ । बैंक र पोखरा स्थिति युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रा.ली. (यु.आर.एल.) बीच स्वास्थ्य प्रयोगशालाबाट प्रदान गरिने थाइराइड, क्यान्सर, मधुमेह, मृगौला, कलेजो, मुटु, पेट, छाती, नशा, हाडजोर्नी, भिटामिन लगायतका युआरएलद्धारा परिक्षण गरिने सम्पूर्ण ल्याव सेवा शुल्कमा प्रभु बैंकका ग्राहक र कर्मचारीलाई छुट प्रदान गर्ने सम्झौता भएको हो । उक्त सम्झौता अनुसार ल्याब परिक्षणको सेवा शुल्कमा प्रभु बैंकका ग्राहकहरुलाई २० प्रतिशत र बैंक कर्मचारीलाई २५ प्रतिशत विशेष छुट प्राप्त गर्न सक्नेछन् । गण्डकी प्रदेशको पहिलो र लोकप्रिय एवं आइएसओ २०१५ प्रमाणित युनाइटेड रेफरेन्स ल्याबोरेटरीले संचालन गरेका मुख्य कार्यालय सभागृहचोक, कास्की हस्पिटलचोक, महेन्द्रपुल, मियापाटन, बाटुलेचौर, चाउथे, बिरौटा, लेकसाइड, शिशुवा, तनहुँको दुलेगौडा, शुक्लागण्डकी, दमौली, लम्जुङको बेशीशहर, स्याङजाको पुतलीबजार, वालिङ लगायत १८ भन्दा बढी ल्याबहरुमा उक्त छुट प्राप्त गर्न सकिनेछ । युनाइटेड रेफरेन्स ल्याबोरेटरीका तर्फबाट अध्यक्ष ठाकुरप्रसाद पन्थ र बैंकको तर्फबाट म्यानेजर गणेश सुवेदीले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । उक्त समारोहमा प्रभु बैंक सहसम्बन्ध प्रबन्धकहरु प्रकाश पौडेल, शर्मिला भण्डारी, युनाइटेड रेफरेन्स ल्याबोरेटरीका प्रबन्ध निर्देशक गणेश कोइराला, शुशिल थापा लगायतको उपस्थिती रहेको थियो । ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा ‘बैंक अफ द इयर २०२३’ को उपाधी बाट सम्मानित प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीयम साथै ७० भन्दा बढि एक्सटेन्सन काउन्टर मार्फत बैंकिङ सेवा प्रवाह गरिरहेको छ । साथै, छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको बैंकले जनाएको छ ।