सूर्योदय वोमी लघुवित्तको एफपीओ ९ जनाले ११ कित्ता पाउने, १० कित्ता कतिले पाउँछन् ?
काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको ५१० गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार लघुवित्तको एफपीओमा अन्तिम दिनसम्म १६ लाख ५६ हजार ८२६ जना लगानीकर्ताले २ करोड ३८ लाख ३७ हजार ९ सय कित्ताका लागि २ अर्ब ३८ करोड ३७ लाख ९० हजार रुपैयाँ बराबरको आवेदन दिएका थिए । लघुवित्तले साउन ४ गतेदेखि आज साउन ८ गतेसम्म ४६ लाख ७२ हजार ९५४.५० रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँका दरले ४६ हजार ७२९ कित्ता सेयर बिक्री खुला गरेको हो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ र नेपाल राष्ट्र बैंकले एक आपसमा गाभ्ने÷गाभिनका लागि अन्तिम स्वीकृती पत्र प्रदान गर्दा दिएको निर्देशन बमोजिम कुल जारी पूँजीमा सर्वसाधारण समूहको हिस्सा ३० प्रतिशत पुर्याउन लघुवित्तले एफपीओ जारी गरेको हो । साविकको सूर्योदय लघुवित्त र वोमी लघुवित्त मर्जरपश्चात् बनेको सूर्योदय वोमी लघुवित्तको चुक्ता पुँजी ९१ करोड ७ लाख ८२ हजार रुपैयाँमा पुँजी संरचनामा संस्थापक समूहको ७०.३६ प्रतिशत र सर्वसाधारणको २९.६४ प्रतिशत कायम छ । सर्वसाधारण समूहको हिस्सा ३० प्रतिशत पुर्याउनुपर्ने भएकाले लघुवित्तले एफपीओ जारी गरेको हो । लघुवित्तको एफपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिमार्फत १० कित्ताका दरले बाँडफाँट गरिनेछ । १० कित्ताका दरले बाँडफाँट गर्दा ४ हजार ६७२ जना आवेदकले मात्रै लघुवित्तको एफपीओ प्राप्त गर्नेछन् । १० कित्ताका दरले आईपीओ बाँडफाँट गर्दा ९ कित्ता बाँकी रहन्छन् । ९ जना आवेदकलाई भने बाँकी रहेको ९ कित्ताबाट एक÷एक कित्ता थप गरेर ११ कित्ताका दरले बाँडफाँट गर्नेछ । लघुवित्तको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ ।
सानिमा जिआईसीका केही संस्थापक बाहिरिँदै
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सका केही संस्थापक सेयरधनी बाहिरिने भएका छन् । इन्स्योरेन्स कम्पनीमा आफ्नो स्वामित्वको सेयर बिक्री गरेर केही संस्थापक बाहिरिने भएका हुन् । कम्पनीका अनुसार केही संस्थापकले आफ्नो नाममा कायम सेयर बिक्री गर्न चाहेकाले १ लाख २३ हजार ८९३ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीले उक्त सेयरको बिक्री मूल्य सार्वजनिक गरेको छैन । उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापकले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि सो अवधिभित्र आवेदन नपरेमा सर्वसाधारणलाई बिक्री खुला गरिने कम्पनीले बताएको छ ।
ज्योति विकास बैंकले बालबालिकालाई कृत्रिम हात प्रदान गर्ने
काठमाडौं । ज्योति विकास बैंकले १६औं वार्षिकोत्सवको अवसरमा ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत ३ वटा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूका लागि सम्झौता गरेको छ । बैंकले स्वास्थ्य, शिक्षा, र सशक्तिकरणका क्षेत्रहरूमा दीर्घकालीन प्रभाव र सकारात्मक परिवर्तन ल्याउन, समाजको समग्र विकास गर्न र समुदायलाई समृद्ध र आत्मनिर्भर बनाउने उद्देश्यले उक्त सम्झौता गरेको हो । ज्योति विकास बैंकले शारीरिक तवरले फरक बालबालिकाहरूलाई कृत्रिम हात प्रदान गर्न ई-नेबल नेपालसँग सहकार्य गर्न सम्झौता गरेको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल तथा ई-नेबल नेपालका अध्यक्ष सुरेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका थिए । यस सहकार्यको माध्यमबाट बैंकले १६ जना बालबालिकाहरूलाई थ्रीडी प्रिन्टेड कृत्रिम हात प्रदान गर्नेछ । प्रदान गरिने कृत्रिम हातहरूले बालबालिकालाई सामान्य दिनचर्यामा सहयोग पुर्याउनुका साथै मनोबल र आत्मविश्वासलाई पनि उच्च राख्न सहयोग गर्ने विश्वास बैंकले राखेको छ । बैंकले यसअघि पनि ई-नेबल नेपालसँगको सहकार्यमा १५ जना बालबालिकालाई उक्त हात प्रदान गरेको थियो ।