आइएमई पेबाट हवाई टिकट काट्नेको संख्या बढ्यो

काठमाडौंं । आइएमई पेले सञ्चालनमा ल्याएको रिफन्डेबल फिचर मार्फत आन्तरिक हवाई टिकट काट्नेको संख्यामा उत्साहजनक रुपमा वृद्धि भइरहेको कम्पनीले बताएको छ । कम्पनीका अनुसार सहज फिचर सगसगै प्रयोगकर्ताहरूले कल तथा इमेल मार्फत पाउने ग्राहकमैत्री सेवा र तत्कालै हुने रिफन्डले गर्दा आइएमई पेले उपलब्ध गराएको यो सेवामा ग्राहकको संख्या बढेको हो । अझै अहिले मनसुनको समयमा मौसमको फेरबदल भइरहँदा आइएमईपे मार्फत प्राप्त भएको यस रिफन्डेबल टिकट फिचरले ग्राहकहरुलाई ढुक्कले यात्राको लागि टिकट खरिद गर्ने हौसला प्रदान गरेको छ । आइएमई पे एप मार्फत प्रयोगकर्ताहरूले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई टिकट काट्दा आन्तरिक हवाई टिकटमा क्यास ब्याक, रिवार्ड पोइन्ट र टिकट-रिफन्डेबल फिचर पनि पाउन सक्छन् । आइएमई पे का प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले आन्तरिक हवाई टिकटमा टिकट रिफन्डेबल फिचरमा प्रयोगकर्ताहरूको बढ्दो संख्याले र उत्साहले अझै सेवाहरू थप्न कम्पनी उत्साहित भएको बताएका छन् ।

सांसदको अभिव्यक्तिले पुँजीबजारमा २ खर्ब क्षति भएको भन्दै रकम असुल गराउन लगानीकर्ताको माग

काठमाडौं । सांसदहरूले सदन र सार्वजनिक कार्यक्रममा पुँजीबजारको सम्बन्धमा केही स्क्रिप्टको नामै तोकेर अभिव्यक्ति दिनु खेदजनक रहेको लगानीकर्ताहरूले बताएका छन् । लगानीकर्ताहरूको चार संघले संयुत्त विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् । जनरल इन्भेष्टर एसोसियसन, अध्यक्ष नेपाल सेयरधनी संघ, नेपाल धितोपत्र लगानीकर्ता संघ र सधारण लगानीकर्ता संघ नेपालले संयुत्त विज्ञप्ति जारी गरेका हुन् । ‘कसैका प्रभावमा माननीय सांसद प्रकाशशरण महत, अमरेशकुमार सिंह, राजन दाहाललगायत अन्य सांसदहरूबाट समेत बजार आफ्नै लयमा चलिरहेको अवस्थामा सदन र सार्वजनिक कार्यक्रममा पुँजीबजारको सम्बन्धमा केही स्क्रिप्टको नामै तोकेर अभिव्यक्ति दिनु अत्यन्त खेदजनक छ,’ विज्ञप्तीमा उल्लेख छ । देशमा लगानीको वातावरण फराकिलो हुँदै जाँदा पुँजीबजार पनि बिस्तारै बढ्‌दै जाने र लगानीकर्ताले आफूले चाहेको कम्पनीमा लगानी गर्न पाउने लगानीकर्ताहरूले बताएका छन् । कम्पनी कति सुरक्षित छ, छैन भन्ने कुरा लगानीकर्ता स्वयंले निर्धारण गर्ने कुरा रहेको उनीहरूको भनाइ छ । जनताकै प्रतिनिधित्व गर्ने सांसदले सदनमा दिएको अभिव्यक्तिहरू तत्काल फिर्ता गर्न र अब आइन्दा यस्ता खालका अभिव्यक्तिहरू नियमक निकाय, सांसद जोसुकैले दिए पनि सैह्य नहुने उनीहरूले चेतावनी दिएका छन् । पुँजीबजारको सम्बन्धमा सार्वजनिक पद धारण गरेका व्यक्तिहरूबाट जथाभाबी अभिव्यक्ति दिने कार्य तत्काल बन्द गर्न उनीहरूकाे आग्रह छ । साथै, नियमक निकायले यस्ता अभिव्यक्ति दिने व्यक्तिहरूमाथि छानबिन गरी कारबाही गर्न र अभिव्यक्तिबाट दुई खर्बभन्दा बढी क्षति हुन गएकोले सो क्षति सम्बन्धित व्यक्तिबाट असुल गराउनसमेत उनीहरूको माग छ ।

विपदमा मृत्यु भएका परिवारलाई ३ करोड ४० लाख बीमा रकम भुक्तानी

सुर्खेत । कर्णाली प्रदेश सरकारले विभिन्न विपद्का घटनामा मृत्यु भएका व्यक्तिका परिवारका लागि राष्ट्रिय बीमा कम्पनीमार्फत ३ करोड ४० लाख रकम उपलब्ध गराएको छ । प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गत आर्थिक वर्ष २०८०/८१ को साउनदेखि असारसम्म भूकम्प, बाढी–पहिरो, चट्याङ, आगलागीजस्ता विभिन्न विपदबाट मृत्यु भएका परिवारका १ सय ७१ जना हकवालालाई उक्त रकम भुक्तानी गरेको हो । विशेषगरी जाजरकोट भूकम्पमा परी मृत्यु भएका १ सय ५१ व्यक्तिका परिवारलाई २ लाख रुपैयाँका दरले ३ करोड रुपैयाँ बीमामार्फत भुक्तानी गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अधिकृत कमल सापकोटाले जाजरकोट भूकम्पबाट मृत्यु भएका तीनजनाको रकम भुक्तानी प्रक्रियामा रहेको जानकारी दिए । यसैगरी, भूकम्पबाहेक अन्य विपद्मा परी मृत्यु भएका २० जनाको परिवारलाई ४० लाख रकम बीमामार्फत भुक्तानी गरिएको उनको भनाइ छ । कर्णालीका १७ लाख नागरिकलाई विपद् सामूहिक दुर्घटना बीमा गरेअनुसार बीमा रकम उपलब्ध गराइएको उनले जानकारी दिए । ‘अहिलेसम्म जाजरकोट भूकम्पमा परी मृत्यु भएका १ सय ५१ जनामध्ये तीन जनाको प्रक्रियामा छ, बाँकी सबैको बीमामार्फत रकम भुक्तानी भइसकेको छ,’ उनले भने, ‘अन्य विपदमा परी मृत्यु भएका प्रदेशका २० जनाको पनि रकम भुक्तानी भइसकेको छ, भुक्तानी हुन बाँकी रहेका परिवारलाई पनि चाँडै रकम दिन्छौँ ।’ राष्ट्रिय बीमा कम्पनी कर्णाली प्रदेशले केहीको कागज नपुगेका कारण भुक्तानी हुन नसकेको जनाएको छ । आन्तरिक मामिला मन्त्रालयका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा विपद्बाट जाजरकोटमा सबैभन्दा बढी एक सय ५१ जनाको भुकम्पमा परि मृत्यु भएको छ । अन्य २० जनाको बाढीपहिरो लगायतका घटनामा परेर मृत्यु भएको हो । प्रदेश सरकारको ‘विपद् जोखिम बीमासम्बन्धी कार्यविधि, २०७६’ अनुसार विपद्बाट मृत्यु भएका परिवारका लागि २ लाख र आवास बीमाअन्तर्गत ५ लाख रुपैयाँ उपलब्ध गराउने उल्लेख छ ।