लघु, सम्पत्ती र कृषि बीमाको हिस्सा बढ्यो, मोटरको यथावत

काठमाडौं । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्ष २०८१/८२ को दुई महिनामा लघु बीमाको हिस्सा ह्वात्तै बढेको छ । साथै सम्पत्ती र कृषि बीमाको हिस्सा पनि वृद्धि भएको तथ्यांकले देखाएको छ । चालु आर्थिक वर्षको दुई महिना (साउन र भदौ)मा ७ अर्ब ८५ करोड ७० लाख रुपैयाँ बढीको निर्जीवन बीमा व्यवसाय भएको नेपाल बीमा प्राधिकरणले जनाएको छ । त्यसमध्ये लघु बीमा व्यवसायको १.४४ प्रतिशत रहेकाे छ । अर्थात् ११ करोड ३८ लाख रुपैयाँ बराबरको लघु बीमाको व्यापार भएको प्राधिकरणकाे भनाइ छ । गत आर्थिक वर्षको सोही अवधिमा लघु बीमाको व्यवसाय हिस्सा ०.०६ प्रतिशत थियो । अर्थात् गत आवको २ महिनामा ४८ लाख रुपैयाँको लघु बीमाको व्यापार भएको थियो । जबकी गत वर्ष निर्जीवन बीमाको कुल व्यापार ७ अर्ब ८ करोड ५२ लाख रुपैयाँ थियो । यसैगरी, चालु आवको २ महिनामा सम्पत्ती बीमाको हिस्सा बढेर २९.६८ प्रतिशत पुगेको छ । निर्जीवन बीमा क्षेत्रमा सम्पत्ती बीमाको हिस्सा सबैभन्दा धेरै छ । गत आवको सोही अवधिमा सम्पत्ती बीमाको हिस्स २६.७५ प्रतिशत थियो । र, मोटर बीमाको हिस्सा २८.०५ प्रतिशत थियो । विगतमा सबैभन्दा ठुलो बजार मोटरको थियो । तर, अब सम्पत्तीले मोटरलाई उछिनेको अवस्था छ । चालु आवको २ महिनामा मोटर बीमाको हिस्सा यथावत अर्थात् २८.०५ प्रतिशत रहेको छ । चालु आवको दुई महिनामा मोटर बीमाबाट २ अर्ब २० करोड ४१ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको छ भने सम्पत्ती बीमाबाट २ अर्ब ३३ करोड २४ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ । यस्तै, सामून्द्रिक बीमाको हिस्सा पनि घटेको छ । गत आवको २ महिनामा समून्द्रिक बीमाको हिस्सा ६.६९ प्रतिशत थियो । यस्तो हिस्सा घटेर ५.८८ प्रतिशतमा झरेको छ । यसैगरी, हवाई बीमाको हिस्सा ६.९६ प्रतिशतबाट झरेर ५.७१ ओर्लिएको छ भने इन्जिनियरिङको १२.९१ बाट ११.७६ प्रतिशतमा झरेको छ । विविध तर्फ विविध १३.५३ प्रतिशत १२.३४ प्रतिशतमा झर्दा कृषिको भने सामान्य वृद्धि देखिएको छ । गत आवको दुई महिनामा कृषि बीमाको हिस्सा ५ प्रतिशत थियो । यस्तो हिस्सा वृद्धि भएर अहिले ५.१० प्रतिशतमा पुगेको छ ।

संकटमा पनि राम्रा र अनुकरणीय अभ्यास गरिरहेका सहकारी (सूचीसहित)

सहकारीमा बचतकर्ताको बचत रकम दुरुपयोगका विषयहरू सार्वजनिक भएसँगै सिङ्गो सहकारी क्षेत्रको साख नै सङ्कटमा परेको छ । समुदायमा आधारित भई सहकारीको आधारभूत मूल्य, मान्यता र मर्मअनुरूप राम्रा चलेका सहकारी संस्थाहरू माथि समेत शङ्काको दृष्टिले हेर्न थालिएको छ । सहकारीमा बचतकर्ताहरूले सहकारी संस्थाबाट बचत फिर्ता माग गर्न थालेका छन् । एउटा प्रभावकारी राष्ट्रिय प्रयास नहुने हो भने सहकारी क्षेत्र पुरानै अवस्थामा फर्कनै नसक्ने त होइन भन्ने जोखिम र एक प्रकारको संशय समेत पैदा भएको छ । यद्यपि समुदायमा आधारित भई सञ्चालन भएका सहकारीहरूले राम्रोसँग संस्था चलाएका मात्र छैनन्, सहकारीका नमूना समेत प्रस्तुत गरेका छन् । बचत रकम र वित्त परिचालनका आधारमा आकार सानो वा ठूलो होला, सहकारी संस्थाहरूले नमूना साबित गरेका थुप्रै दृष्टान्त छन् । कुनै समय २२ हजार सेयर सदस्य भएको गुण सहकारी सहित १० वटा सहकारी चलाएका राजेन्द्र शाक्यलाई एकै पटक बचतकर्ताको बचत रकम फिर्ता माग आयो । एकै पटक ठूलो बचत रकम फिर्ताको माग आउँदा उनलाई समस्या त भयो नै तरपनि उनले आफ्नै समुदायमा सहकारी सदस्यहरूसँग सहयोग मागे । उनको भनाइलाई विश्वास गरेर ज्यापु समाज फिर्ता गर्नुपर्ने ठूलो रकमका लागि जमानी बसिदियो । क्रमशः बचत फिर्ता गर्दै जाँदा उनले समस्याको समाधान गरे । एक जना बचतकर्ताले पनि कानूनी कारबाहीको बाटो रोजेनन् । सहकारीका मूल्यमध्ये केही मूल्यलाई अङ्गिकार गरेकाले उनलाई समस्या समाधान गर्दै सहज बन्यो । ‘सहकारीको विश्वव्यापी सिद्धान्त, मूल्य, मान्यता, संरचना र अभ्यासमा स्पष्ट र सुसङ्गत रूपमा सञ्चालनमा रहेका सहकारीहरूमा खास समस्या छैन, देशैभरी राम्रोसँग सञ्चालनमा रहेका सहकारीहरूको सङ्ख्या धेरै छ । त्यसैले सर्वत्र समस्या छ र बर्बाद नै भयो भन्ने तथ्य होइन । सिद्धान्तबाट विचलित भएर गैरसहकारी क्रियाकलाप गर्दै बचत सङ्कलन एवं दुरुपयोगमा लागि परेका केही गलत नियत बोकेका सहकारीहरूमा भने समस्या देखिएको छ । तिनीहरूमा आज एक प्रकारले भागाभागको स्थिति छ । २०४६ सालमा बहुदलीय प्रजातन्त्र आउँदा २०० वटा सहकारी (रेकर्डमा ८००) क्रियाशील रहेकोमा हाल करिब ३१ हजार सहकारी मध्ये १०० हाराहारी मात्रै समस्यामा देखिन्छन् । करिब ४०० वटा विभिन्न कारणले बिग्रने पङ्क्तिमा रहेका छन् । यसरी कूल मिलाउँदा ५०० भन्दा कम सहकारी समस्यामा परेका छन् । २०५८ मा ११२ वटा सहकारी समस्या देखिएको थियो, २०६६ सालमा ओरियन्टल सहकारी लगायत १३३ वटा समस्यामा परेका थिए । सहकारीमा बचत गर्ने कतिपय शेयर सदस्यहरू पनि आफैमा इमान्दार छैनन् । जुन सहकारीले बढी ब्याज दिने भन्छन् त्यसकै प्रलोभनमा परेर बचतकर्ताहरू पनि ठगीमा परेका छन् । सहकारी मूल्य मान्यतालाई राम्ररी पालना गरेका सहकारी संस्थाहरू पनि प्रशस्त रहेका छन् । समितिले अध्ययन र छाननबिनकै क्रममा राम्रो सुशासनमा चलेका सहकारी संस्थाहरू, महिला सहकारीकर्मीहरूले चलाएका सहकारी संस्थाहरू र सानाकिसान सहकारी संस्थाहरूसँग प्रतिनिधिमूलक रूपमा छलफल समेत गरेको थियो । ती छलफलबाट नेपालमा सहकारी क्षेत्रबाट प्रशस्त योगदान अपेक्षा र अर्थतन्त्रको खम्बा बनाउन सक्ने सम्भावना अझै छ भन्ने आशा गर्न सकिने अवस्था छ । ती सहकारी स्स्थाहरूले खासगरी ग्रामीण समुदायमा वित्तीय पहुँच पुयाउन अपेक्षित योगदान दिइरहेका छन् र प्रगतिउन्मुख अवस्थामा रहेका छन् । केही खराब र व्यक्तिकेन्द्रित सहकारी संस्थाको छविका कारण हजारौं सदस्यकेन्द्रित सहकारी संस्था र तीनका सदस्यहरूले समस्या भोग्नु परेको अवस्था समेत छ । राज्यको दृष्टि नपुगेका कतिपय क्षेत्रमा सहकारी संस्थाले आम नागरिकको सेवा पुर्याइरहेका छन् । यस परिच्छेदमा केही राम्रा चलेका सहकारी संस्थाहरूको वित्तीय विवरण प्रस्तुत गरिएको छ । समस्यामा रहेका सहकारी संस्थाहरू र ती संस्थाको सूचकमा आधारित अनुपात हेर्दा समस्याको पहिचानमा समेत सहयोग पुग्दछ । समितिले सुशासनमा चलेका सहकारी संस्थाहरू, महिला सहकारीकर्मीहरूबाट मात्र सञ्चालनमा रहेका सहकारी संस्थाहरू र साना किसान कृषि सहकारी संस्थाहरूसंग गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी सहकारी संस्थाहरू र केही थप सक्रिय सहकारी संस्थाहरू गरी कूल १२० वटा सहकारी संस्थाहरूको विवरण अध्ययन गर्दा देहायको अवस्था प्राप्त गर्न सकिन्छ । सदस्यहरूसम्म वित्तीय पहुँच विस्तार समुदायमा आधारित र सदस्यकेन्द्रित भई चलेका केही प्रतिनिधि सहकारी संस्थाको वित्तीय स्थिति विवरणमा संलग्न सहकारी संस्थाहरू आफ्नो स्थापनाकालदेखि नै समुदायमा आधारित रही सञ्चालनमा रहेका छन् । सदस्यहरूको सेवा नै आफ्नो कर्तव्यका रूपमा बोध गर्दै दिगो सेवाका लागि यी संस्थाहरूमध्ये केहीले नेपाल राष्ट्र बैंकबाट सीमित कारोबारको स्वीकृति लिई सञ्चालनमा रहेका थिए भने २०५७ सालदेखि उल्लिखित संस्थाहरूमध्ये धेरैले सूचकमा आधारित स्तरीकरण कार्यक्रममा सम्बद्ध रही आफ्नो परीक्षण गराई निरन्तर सुधारमा रहेको पाइन्छ । सञ्चालन क्षमता, वित्तीय व्यवस्थापन, सुशासन र प्रभावकारी सेवाका लागि विषयगत संघहरूले सञ्चालन गरेको स्तरीकरण कार्यक्रम प्रभावकारी र सार्थक देखिएको पुष्टि यी प्रतिनिधि संस्थाहरूको कारोबारको वर्तमान २०८१ असार मसान्तको वित्तीय स्थितिमा आधारित यो अवस्थाले पुष्टी गरेको छ । समुदायमा आधारित र सदस्यकेन्द्रित भई चलेका केही प्रतिनिधि सहकारी संस्थाको वित्तीय स्थिति विवरणमा संलग्न सहकारी संस्थाहरू आफ्नो स्थापनाकालदेखि नै समुदायमा आधारित रही सञ्चालनमा रहेका छन्। सदस्यहरूको सेवा नै आफ्नो कर्तव्यका रूपमा बोध गर्दै दिगो सेवाका लागि यी संस्थाहरूमध्ये केहीले नेपाल राष्ट्र बैङ्कबाट सीमित कारोबारको स्वीकृति लिई सञ्चालनमा रहेका थिए भने २०५७ सालदेखि उल्लिखित संस्थाहरूमध्ये धेरैले सूचकमा आधारित स्तरीकरण कार्यक्रममा सम्बद्ध रही आफ्नो परीक्षण गराई निरन्तर सुधारमा रहेको पाइन्छ । सञ्चालन क्षमता, वित्तीय व्यवस्थापन, सुशासन र प्रभावकारी सेवाका लागि विषयगत संघहरूले सञ्चालन गरेको स्तरीकरण कार्यक्रम प्रभावकारी र सार्थक देखिएको पुष्टि यी प्रतिनिधि संस्थाहरूको कारोबारको वर्तमान २०८१ असार मसान्तको वित्तीय स्थितिमा आधारित यो अवस्थाले पुष्टी गरेको छ ।  (सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको प्रतिवेदनबाट)

यी हुन् बीमा कम्पनीको उच्च व्यवस्थापनमा रहेका २८ महिला

काठमाडौं । नेपालको बीमा क्षेत्रमा महिलाहरुको सहभागीता बढ्दै गएको छ । सामान्य कर्मचारीदेखि उच्च व्यवस्थापनमा महिलाको उपस्थिति बाक्लो देख्न सहिन्छ । हाल १४ वटा निर्जीवन, १४ वटा जीवन बीमा, ७ वटा लघुबीमा र २ वटा पुनर्बीमा कम्पनी गरी गरी कुल ३७ वटा बीमा कम्पनी सञ्चालनमा रहेका छन् । निर्जीवन बीमा कम्पनीको उच्च व्यवस्थापनमा महिलाको सहभागीता राम्रै देख्न सकिन्छ । तर, जीवन बीमा कम्पनीको उच्च व्यवस्थापनमा भने महिलाको सहभागीता निर्जीवनको तुलनामा कम छ ।  निर्जीवन कम्पनीमध्ये एक कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) महिला छिन् । त्यसैगरी, ३ वटा निर्जीवन बीमा कम्पनीमा नायब कार्यकारी अधिकृत महिला रहेकी छिन् । उपासना पौडेल: हिमालयन रिइन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । उनी सन् २०२३ को सेप्टेम्बरदेखि कम्पनीको सीईओमा नियुक्त भएकी हुन् । यसअघि उनी सोही कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृत थिइन् । सन् २०१० मा भारतको कुमिन्स इन्डिया (रिकोन इन्डिया) मा काम गरेकी पौडेल त्यसपछि आईसीआईसीआई लोमबर्डमा काम गरेकी थिइन् । करिब ३ वर्ष उक्त कम्पनीमा काम गरेकी पौडेलसँग भारतकै अन्य विभिन्न जनरल इन्स्योरेन्समा काम गरेको अनुभव छ । उनी नेपाल फर्किएपछि साविक सानिमा जनरल इन्स्योरेन्सको सहायक महाप्रवन्धक बनिन् । त्यसपछि उनी साविक यूनाइटेड इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा नियुक्त भइन् । पछि उनी सोही कम्पनीको कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनिन् । यूनाईटेड र अजोड मर्जरपछि भने उनी हिमालयन रिइन्स्योरेन्समा आएकी हुन् । अन्जु श्रेष्ठः हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सीईओ हुन् अन्जु श्रेष्ठ । गत असोज १८ गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त भएकी श्रेष्ठले साविकको हिमालयन जनलर इन्स्योरेन्सबाट बीमा क्षेत्रमा करिअर सुरु गरेकी हुन् । हिमालयन र एभरेष्ट इन्स्योरेन्स मर्जपछि हिमालयन एभरेष्टमा पनि उनी डीसीईओ नै भएर काम गरेकी थिइन् । श्रेष्ठ पुनर्बीमा र निर्जीवन बीमामा अब्बल रहेको बुझिएको छ । बरिश्मा साउद आचार्यः दुई दशकभन्दा बढी नेपाली बीमा क्षेत्रमा कार्यरत बरिश्मा साउद आचार्य सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स (सलिको)को नायब कार्यकारी अधिकृत हुन् । यसअघि उनी साविक लुम्बिनी जनरल इन्स्योरेन्सको डीसीईओ थिइन् । साविकको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीमा आउनु अघि उनी शिखर इन्स्योरेन्समा कार्यरत थिइन् । शिखरमा उनले नायव महाप्रबन्धक (डीजीएम) भएर काम गरेकी थिइन् । सविता मास्केः शिखर इन्स्योरेन्सको नायब कार्यकारी अधिकृत (डीसीईओ)को भुमिकामा रहेकी सविता मास्केसँग बीमा क्षेत्रको २ दशक भन्दा बढी अनुभव छ । मोटर, अग्रिबीमा लगायत विभागको लामो समयदेखि नेतृत्व गरेकी मास्केले हाल अण्ड्ररराईटिङ्ग विभाग प्रमुख छिन् । उनी एसीआईआई चार्टर्ड समेत हुन् । सिरिशा मरुजोल्लाः सिरिशा मरुजल्ला द ओरिएन्टल इस्योरेन्स नेपालकी नायव प्रमुख कार्यकारी अधिकृत हुन् । उनी यसअघि ओरियन्टल इण्डियाको शाखाको शाखा प्रमुख थिइन् । बीमा क्षेत्रमा २ दशकको अनुभव हासिल गरेकी मरुजोल्लाले निर्जीवन बीमा क्षेत्रमा विभिन्न विभागमा काम गरिसकेकी छिन् । रेना रिजालः सानिमा जनरल इन्स्योरेन्सको नायव महाप्रबन्धक (डीजीएम) रहेकी रेना रिजाल बीमा क्षेत्र प्रवेश गर्नुअघि बैंकिङ क्षेत्रमा काम गरिरहेकी थिइन् । बैंकिङ क्षेत्रबाट करियर सुरु गरेकी उनले १४ वर्ष कुमारी बैंकमा काम गरेपछि बीमा क्षेत्रमा प्रवेश गरेकी हुन् । साविक सानिमा जनरल इन्स्योरेन्समा डीजीएम भएर आएकी उनी जीआईसी इन्स्योरेन्ससँग मर्जपछि पनि सोही पदमा कार्यरत छिन् । उनले मार्केटिङमा एमबीए गरेकी छिन् । कविता जोशीः सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सहायक महाप्रबन्धक (एजीएम) पदमा कार्यरत कविता जोशीसँग बीमा क्षेत्रको २८ वर्ष बढीको अनुभव छ । साविक प्रिमियर इन्स्योरेन्सबाट बीमा क्षेत्रको करियर सुरु गरेकी जोशीसँग पुनर्बीमाको अनुभव समेत छ । सिद्धार्थ र प्रिमियर मर्जपछि उनी पुनर्बीमा विभाग प्रमुख रहेर काम गरिरहेकी छिन् । उदिता जोशीः आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सहायक महाप्रबन्धक हुन् उदिता जोशी । उनीसँग बीमा क्षेत्रको २ दशक बढीको अनुभव छ । सन २००४ मा साविकको यूनाईटेड इन्स्योरेन्सबाट बीमा क्षेत्र प्रवेश गरेकी जोशीले सो कम्पनीमा ४ वर्ष काम गरेपछि साविकको प्रुडेन्सियल इन्स्योरेन्समा प्रवेश गरेकी थिइन् । चिफ म्यानेजर भएर लामो समय काम गरेकी जोशी सन् २०२० मा भने सहायक महाप्रबन्धकमा बढुवा भएकी हुन् । उनले काठमाडौँ विश्वविद्यालयबाट एमबीएम गरेकी छिन् । सुलना श्रेष्ठ: सुलना श्रेष्ठ नेपाल इन्स्योरेन्सको प्रबन्धक (म्यानेजर) हुन् । अधिवक्ता समेत रहेकी श्रेष्ठले काठमाडौं स्कुल अफ ल बाट एलएलबी गरेकी छिन् । त्यसैले कम्पनीले उनलाई कम्पनी सचिवको जिम्मेवारी समेत दिएको छ । साविक लक्ष्मी बैंकबाट करियर सुरु गरेकी श्रेष्ठले २ वर्ष ७ महिनपछि भने बीमा क्षेत्रमा प्रवेश गरेकी थिइन् । सन् २०१९ मा काननु प्रबन्धक बनेर नेपाल इन्स्योरेन्समा प्रवेश गरेकी श्रेष्ठ सन् २०२३ देखि कम्पनी सचिवको जिम्मेवारी सम्हाल्दै आएकी छिन् । डा.सृजना पन्थ र रजनी पौडेलः डा. पन्थ र पौडेल राष्ट्रिय बीमा कम्पनीको प्रमुख व्यवस्थापक हुन् । दुवै जनाले तत्कालीन राष्ट्रिय बीमा संस्थानबाट करियर सुरु गरेका हुन् । साथै दुवै जनाले सन् २०१० मा सहायक प्रबन्धकका रूपमा एकैदिन काम सुरु गरेका हुन् । डा. पन्थले बीमा विषयमा विद्यावारीधि गरेकी छिन् भने पौडेलले फाइनान्समा स्नातकोत्तर गरेकी छिन् । सुनिता पोखरेलः सुनिता पोखरेल नेपाल लाइफकी वरिष्ठ प्रबन्धक हुन् । उनी सन् २००८ देखि नेपाल लाइफमा आवद्ध छिन् । एमबीएस गरेकी उनीसँग कम्पनीको विभिन्न विभागमा काम गरेको अनुभव छ । सुस्मिता राणाः नेशनल लाइफकी सुस्मिता राणा सहायक प्रमुख प्रबन्धक पदमा काम गरिरहेकी छिन् । उनी कम्पनीको गुनासो सुन्ने अधिकारी समेत हु्न् । उजीला मानन्धरः उजीरा मानन्धर एशियन लाइफको प्रबन्धक हुन् । उनी विगत १५ वर्षदेखि जीवन बीमा क्षेत्रमा काम गर्दै आएकी छिन् । त्रिभुवन विश्वविद्यालयबाट स्नातक गरेकी मानन्धरसँग देश तथा विदेशमा आयोजित जीवन बीमा सम्बन्धी विभिन्न तालिमको अनुभव समेत छ । सुमना न्यौपानेः जीवन बीमा क्षेत्रमा करिब २ दशक अनुभव बटुलेकी सुमना न्यौपाने हाल सन नेपाल लाइफको वरिष्ठ प्रबन्धक हुन् । उनी कम्पनीको माइक्रो इन्स्योरेन्स विभाग प्रमुखको भुमिकामा छिन् । उनी सन २०२१ देखि सन नेपालमा आवद्ध भएकी हुन् । त्यसअघि उनी तत्कालीन सूर्य लाइफ इन्स्योरेन्समा थिइन् । उनले सन् २००८ देखि सन् २०२१ सम्म सूर्य लाइफमा काम गरेकी हुन् । मन्जु थापाः मन्जु थापा नेपाल पुनर्बीमा कम्पनीको प्रमुख पबन्धक हुन् । उनी विगत २ वर्षदेखि कम्पनीको प्रमुख प्रबन्धक रहेकी उनले संयुक्त राष्ट्र विकास कार्यक्रमबाट आफ्नो करियर सुरु गरेकी हुन् । थापासँग बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणमा समेत काम गरेको अनुभव छ । उनी प्राधिकरणमा सहायक निर्देशक थिइन् । सन् २०१९ देखि सामाजिक सूरक्षा कोषमा वरिष्ठ सहायक निर्देशक भएर काम गरेकी थापा सन् २०२२ मा नेपाल पुनर्बीमा कम्पनीम प्रवेश गरेकी हुन् । लक्ष्मी पौडेलः लक्ष्मी पौडेल नेपाल पुनर्बीमा कम्पनीको वरिष्ठ प्रबन्धक हुन् । उनी सन् २०२२ देखि यस कम्पनीमा कार्यरत छिन् । यस्तै राष्ट्रिय जीवन बीमा कम्पनीको सह व्यवस्थापकमा ६ जना महिला रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार शान्ता पोखरेल, आशा कुमारी बस्नेत, शारदा पाण्डे लोहनी, शुलक्षणा पण्डित, दीपा अधिकारी र बिन्दु शर्मा कम्पनीको सह व्यवस्थापक पदमा कार्यरत छन् । रिता पाठक: जीवन बीमा क्षेत्रमा करिब २ दशकाे अनुभव बटुलेकी पाठक हाल सिटिजन लाइफ इन्स्याेरेन्समा वरिष्ठ प्रबन्धक छिन् । यस अघि उनले एक दसक भन्दा बढी मेट लाइफमा काम गरिन् । माइक्रो इन्सुरेन्स, वैदेशिक रोजगार बीमा, ग्रुप म्यादी बीमा विभागको हेड भएर काम गरेको अनुभव भएकी पाठक कर्पोरेट हेडको भूमिका निभाउदै आएकी छिन्। बीमाको अतिरिक्त उनकाे सहकारी क्षेत्रमा पनि लामो अनुभव रहेको छ । उनको सो बिषयहरुमा राष्ट्रिय तथा अन्तरास्ट्रिय रुपमा विभिन्न तालिम लिएको अनुभव समेत रहेको छ । उनी लेखन रचनामा पनि उतिकै सक्रिय रहेकी छिन् । हालसम्म उनका दर्जनौ लेख समेत प्रकाशित भैसकेका छन् । हालसम्म हजारौ व्यक्तिहरुलाई बीमा सम्बन्धि प्रशिक्षण दिएकी पाठकले व्यवस्थापन बिषयमा स्नातकोत्तर तहको शिक्षा हासिल गरेकी छन् । विद्या श्रेष्ठ: विद्या श्रेष्ठ हिमालयन रिइन्स्योरेन्सको वरिष्ठ प्रबन्धक हुन् । उनी विगत २ वष ४ महिनादेखि हिमालय रिमा आवद्ध छिन् । उनीसँग बीमा क्षेत्रमा २३ वर्ष काम गरेको अनुभव छ । श्रेष्ठले सन् २००१ मा लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपाल (एलआईसी) बाट आफ्नो करिअर सुरु गरेकी हुन् । २१ वर्ष साे कम्पनीमा काम गर्दा उनले अण्डरराइटिङ विभाग र बजार विभागको प्रमुखको जिम्बेवारी समेत सम्हाललेकी थिइन् । उनले एमबीए गरेकी छिन् । एलआईसी नेपालमा प्रबन्धक समेत बनेकी श्रेष्ठले आफ्नो २१ वर्ष काम गरेको संस्थाबाट बाहिरिएर उनी २०२२ मा हिमालयन रिमा गएकी हुन् । उनी हिमालयनमा वरिष्ठ प्रवन्धक हुन् भने जीवन बीमा विभागको प्रमुख पनि हुन् । कविता शर्माः कविता शर्मा स्टार माइक्रो इन्स्योरेन्सको महाप्रबन्धक हुन् । विगत एक वर्षअघि कम्पनीमा आवद्ध हुनुअघि उनी विद्युत उत्पादन कम्पनीमा काम गर्थिन् । त्यसअघि उनले मेगा बैंकको रिलेसनसिप म्यानेजरको रुपमा काम गरेकी थिइन् । प्रबिना नेपाल: नेपाल माइक्रो इन्स्योरेन्सको जनरल म्यानेजर हुन् प्रविना नेपाल । उनी कम्पनीको तेस्रो नम्बरमा छिन् । सुनिता कोइराला: सुनिता कोइराला गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको प्रमुख प्रबन्धक हुन् । उनी स्वास्थ्य क्षेत्रबाट बीमा क्षेत्रमा आएकी हुन् । उनले दुई वटा विषयमा स्नातकोत्तर गरेकी छिन् ।