सन नेपाल लाइफले पायो आईएसओ/आईईसी २७००१:२०२२ को प्रमाणपत्र, बीमा क्षेत्रमै पहिलो
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले आईएसओ/आईईसी २७००१:२०२२ को प्रमाणपत्र पाएकाे छ । कम्पनीले युकेएएस (युनाईटेड किङडम एक्रीडिएसन सर्भिस) बाट मान्यताप्राप्त एमटीभो लिमिटेड, यूकेबाट उक्त प्रमाणपत्र पाएकाे हाे । कम्पनीले आईएसओ/आईईसी २७००१:२०२२ को प्रमाणपत्रले कम्पनीकाे सूचना सुरक्षण व्यवस्थापन प्रणाली (इन्फरमेसन सेक्युरिटी मेनेजमेन्ट सिस्टम) अन्तर्राष्ट्रिय मापदण्डबमोजिम रहेकाे पुष्टि गरेकाे जनाएकाे छ । कम्पनीले नेपालको बीमा ब्यवसायमा यसरी अन्तर्राष्ट्रिय मापदण्डबमोजिम आईएसओ/आईईसी २७००१:२०२२ को प्रमाणपत्र प्राप्त गर्ने पहिलाे र एकमात्र जीवन बीमा कम्पनी रहेकाे दाबी गरेकाे छ । कम्पनीले आईएसओ/आईईसी २७००१:२०२२ को मान्यता प्राप्त गरेसँगै समयसमयमा हुने परीक्षणहरूबाट कम्पनीको सूचना सुरक्षण प्रणालीमा नियमित अनुगमन हुने जनाएकाे छ । साथै कम्पनीले निरन्तर रूपमा यसको पालना र अभ्यासबाट कम्पनीको सूचना सुरक्षा प्रणाली निरन्तर मजबुत हुँदै जाने विश्वास पनि लिएको छ ।
बाढीको चोटमा बीमकको मलहम, बीमितलाई एडभान्स भुक्तानी
काठमाडाैं । बाढी-पहिरोका कारण बीमा कम्पनीहरूलाई करिब ९ अर्ब रुपैयाँ आर्थिक दायित्व पर्ने भएको छ । बाढी-पहिरोका कारण बीमा कम्पनीमा ८ अर्ब ९८ करोड ३० लाख रुपैयाँ बढीको दाबी पेस भएको नेपाल बीमा प्राधिकरणले जनाएको छ । असोजको दोस्रो साता अविरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण अरबौं रुपैयाँको क्षति भएको थियो । त्यसमध्ये उक्त रकम बराबरको दाबी बीमा कम्पनीहरूमा पेस भएको प्राधिकरणले उल्लेख गरेको छ । प्राधिकरणका अनुसार ३ हजार २४४ वटा दाबी कम्पनीमा परेको छ । जसमध्ये ९७ वटा दाबीको १७ करोड २८ लाख रुपैयाँ कम्पनीहरूले बीमितलाई भुक्तानी पनि दिइसकेको जनाएका छन् । जसमध्ये शिखर इन्स्योरेन्स्ले १७ करोड २४ लाख, हिमालयन एभरेष्टले २३ हजार , नेको इन्स्योरेन्सले ६६ हजार, सानिमा जिआईसी इन्स्योरेन्सले २ लाख १६ हजार र प्रभु इन्स्योरेन्सले ११ हजार गरी कुल १७ करोड २८ लाख रुपैयाँ दाबी भुक्तानी भएको प्राधिकरणले जनाएको छ । कुन कम्पनीमा कति दाबी पेस ? सबैभन्दा धेरै दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा परेको छ । सिद्धार्थ प्रिमियरमा १ अर्ब ९५ करोड २९ लाख रुपैयाँको ४६१ वटा दाबी पेस भएको छ । यसैगरी, दी ओरिएन्टल इन्स्योरेन्समा १ अर्ब ४५ करोड ६८ लाख रुपैयाँको दाबी पेस हुँदा हिमालयन एभरेष्टमा १ अर्ब ८ करोड ८६ लाख, नेको इन्स्योरेन्समा ९६ करोड ८५ लाख, शिखरमा ९३ करोड ३६ लाख र सगरमाथा इन्स्योरेन्समा ६६ करोड १३ लाख रुपैयाँ दाबी पेस भएको छ । ५२ वटा जिल्लाबाट दाबी परेको प्राधिकरणले जनाएको छ । जसमध्ये सबैभन्दा धेरै काठमाडौं जिल्लाबाट दाबी परेको छ । काठमाडौंबाट मात्रै ३ अर्ब ९३ करोड ९९ लाख रुपैयाँको दाबी पेस हुँदा ललितपुरबाट २ अर्ब २७ करोड २१ लाख, चितवनबाट ६४ करोड ५८ लाख, मकवानपुरबाट ५१ करोड ७२ लाख र भक्तपुरबाट ४२ करोड ४२ लाख रुपैयाँ बीमा दाबी पेस भएको छ । छिटो भुक्तानी दिने तयारी बाढी-पहिरोले ठूलो धनजनको क्षति भएपछि नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूलाई दाबी भुक्तानी छिटो गर्न निर्देशन नै दिएको थियो । प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूलाई बोलाएर दाबी भुक्तानी सकभर छिटो गर्न आग्रह गरेका थिए । प्राधिकरणको निर्देशन बमोजिम आफूहरू दाबी भुक्तानीका लागि तयार भएको बीमा कम्पनीहरूको भनाइ छ । नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले दाबी भुक्तानीका लागि बीमा कम्पनीहरू तयार रहेको बताए । सगरमाथा लुम्बिनी इन्स्योरेन्सका सीईओ समेत रहेका क्षेत्रीले बाढी-पहिरोपछि दाबी पेस हुन थालेको र लगत्तै सबै सर्भेयरहरूलाई सर्भेका लागि खटाएको जानकारी दिए । सर्भे रिपोर्ट आउनासाथ दाबी भुक्तानी धमाधम दिने उनले बताए । ‘अहिलेसम्म कम्पनीहरूले १७ करोड दाबी भुक्तानी गरिसकेको अवस्था छ । सर्भे रिपोर्ट आएसँगै दाबी भुक्तानी धमाधम दिन्छाैं, ’उनले भने । उनले सर्भे रिपोर्ट ढिला आउने भएको अवस्थामा कम्पनीहरूले एडभान्स भुक्तानी पनि दिएको बताए । प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बीमाले विपदको घाउमा मलहम लगाउने गरेको बताए । नेपालमा बारम्बार आउने गरेका बाढी-पहिरो तथा भूकम्पले मानिसहरूको सम्पत्तिमा पुर्याएको क्षतिलाई उल्लेख गर्दै उनले यस्तो क्षतिको भरपाइ बीमा कम्पनीहरूले गर्ने बताए । यसले गर्दा पनि सबैले आफ्नो सम्पत्तिको बीमा गरेर बस्नु पर्ने धारणा व्यक्त गरे । प्राधिकरणका प्रवक्तासमेत रहेका सुवेदीले भने, ‘विपद भनेको कुन बेला आउँछ थाहा हुँदैन । प्राकृतिक विपदले निम्त्याउने आर्थिक क्षतिबाट बच्न बीमा गर्नुपर्दछ ।’
ज्योति विकास बैंकका ग्राहकलाई कुटी रिसोर्टमा २० प्रतिशतसम्मको छुट
काठमाडौं । ज्योति विकास बैंकका ग्राहकलाई कुटी रिसोर्टमा २० प्रतिशतसम्मको छुट हुने भएको छ । बैंकले पोखराको लेकसाइडमा अवस्थित कुटी रिसोर्टमा ग्राहकहरूलाई विभिन्न सेवा तथा सुविधामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौताअन्तर्गत, बैंकका ग्राहकहरूले उक्त रिसोर्टमा खानामा २० प्रतिशत, पेय पदार्थमा १० प्रतिशत, र रुम चार्जमा १५ प्रतिशत सम्मको आकर्षक छुटको फाइदा लिन सक्नेछन् । सम्झौतापत्रमा हस्ताक्षर भएसँगै, नेपालको प्रमुख पर्यटकीय स्थल फेवातालको नजिक रहेको उक्त रिसोर्टमा ग्राहकहरूले एक वर्षको अवधिसम्म सो छुटको लाभ उठाउन पाउने बैंकले जनाएको छ । कुटी रिसोर्ट सम्पूर्ण आधुनिक सुविधासहितको प्रख्यात थ्री-स्टार स्तरको रिसोर्ट हो ।