नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लाभांश नदिने
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश नदिने भएको छ । पुस २६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने र सोही अनुसारको वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो ।
महिला लघुवित्तले लाभांश नदिने, सेयरधनीको हात खाली
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने भएको छ । योसंगै सेयरधनीको हात खाली हुने भएको छ । पुस २५ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफालाई सञ्चित गर्ने निर्णय गरेको हो । बैठकले सोही अनुसारको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि गरेको छ ।
लघुवित्त वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी माघ १ गतेदेखि लघुवित्त वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्नुपर्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले एक निर्देशन जारी गर्दै राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहुँचका आधारमा राष्ट्रिय परिचयपत्र वा सोको नम्बरको विवरण यकिन गरी अनिवार्य रूपमा र खाता खोल्ने व्यवस्था मिलाउनुपर्ने उल्लेख गरेको छ । लघुवित्त वित्तीय संस्थाले सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ऐन, २०६४ र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण नियमावली, २०७३ बमोजिम ग्राहकको पहिचान तथा सोको सम्पुष्टि गर्नु पर्नेछ । ग्राहक पहिचान तथा सम्पुष्टिसम्बन्धी नीति तथा कार्यविधि बनाई ग्राहकको पहिचान तथा सोको सम्पुष्टि हुने सुनिश्चितताका आधारमा विद्युतीय माध्यमबाट समेत खाता खोल्न वा व्यावसायिक सम्बन्ध स्थापित गर्न सकिने निर्देशनमा उल्लेख छ । त्यस्तो कार्यविधिले विद्युतीय माध्यमबाट प्राप्त गर्न सकिने आवश्यक कागजात तथा विवरणको सूची, सही कागजात तथा विवरण प्राप्त गर्न भरपर्दो विद्युतीय माध्यम र नियमित रूपमा सम्पुष्टि गरिने विधिसमेत तय गरको हुनुपर्ने व्यवस्था छ । विद्युतीय माध्यमबाट गरिने कारोबारमा हुनसक्ने जोखिम एवं दुरूपयोगबाट सुरक्षित रहन बैंक वा वित्तीय संस्थाले पर्याप्त उपाय अवलम्बन गर्नुपर्ने निर्देशनमा समेटिएको छ । यस्तै आगामी माघ १ सम्ममा संस्थाले सबै उच्चपदस्थ व्यक्तिको खातामा पनि राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गर्नुपर्नेछ ।