हकप्रद सेयर घटाउने, सञ्चालकको भत्ता बढाउने, लाभांश पारित गर्न सानिमा जिआईसीले बोलायो सभा
काठमाडौं । लाभांश पारित गर्न सानिमा जिआईसी इन्स्योरेन्सले ७औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सञ्चालक समिति बैठकले चैत २१ गते काठमाडौंमा बिहान ११ बजे ७औँ वार्षिक साधारण सभा बोलाएको हो । कम्पनीको सभाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब रुपैयाँको ७.५ प्रतिशतका दरले १५ करोड रुपैयाँ बोनस सेयर र कर प्रयोजनार्थ ०.३९ प्रतिशतका दरले ७८ लाख ९४ हजार रुपैयाँ नगद गरी कुल ७.८९ प्रतिशत लाभांश पारित गर्नेछ । सभाले छैठौं वार्षिक साधारण सभाबाट पारित २५ प्रतिशत हकप्रद सेयर संशोधन गरी १७ प्रतिशत जारी गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरूको बैठक भत्ता संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीको सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण नियुक्ती र पारिश्रमिक निर्धारण प्रस्ताव पारित गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले चैत ८ गते बुकक्लोज गर्ने नर्णिय गरेको छ । त्यसैले चैत ७ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाइ लाभांश प्राप्त गर्न सक्नेछन् ।
१५.७९ प्रतिशत लाभांश पारित नेपाल इन्स्योरेन्सले डाक्यो ७६औँ वार्षिक साधारण सभा
काठमाडौं । लाभांश पारित गर्न नेपाल इन्स्योरेन्स कम्पनीले ७६औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सञ्चालक समिति बैठकले चैत १९ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा बिहान ११ बजे ७६औँ वार्षिक साधारण सभा बोलाएको हो । कम्पनीको सभाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार रुपैयाँको १५ प्रतिशतका दरले २४ करोड ६६ लाख ३६ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनार्थ ०.७९ प्रतिशतका दरले १ करोड २९ लाख ८० हजार रुपैयाँ नगद गरी कुल १५.७९ प्रतिशत लाभांश पारित गर्नेछ । कम्पनीको सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण गर्न लेखापरिक्षक कृपा श्रृष्ठ एण्ड एशोसिएटेट्सलाई पुनः नियुक्ती गर्ने प्रस्ताव पारित गर्नेछ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीबाट भएका खर्च अनुमोदन गर्नेछ । सभाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले चैत ७ गते बुकक्लोज गर्ने नर्णिय गरेको छ । त्यसैले चैत ६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाइ लाभांश प्राप्त गर्न सक्नेछन् ।
स्वास्थ्य बीमाको प्रिमियम बढाउने तयारी, प्रतिदिन ४० हजारको दाबी
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा विकास देवकोटाले स्वास्थ्य बीमामा सुधार ल्याउन बीमा ‘प्रिमियम’ बढाउने विषयमा बहस आवश्यक रहेको बताएका छन् । ‘नेपालमा स्वास्थ्य बीमा: वर्तमान चुनौती र अवसरहरू’ सम्बन्धी छलफलमा उनले स्वास्थ्य बीमा ऐन पूर्ण रूपमा कार्यान्वयन गरिनुपर्ने बताए । ‘प्रिमियम सङ्कलनबारे बहस हुनुपर्छ । औषधि, ओपिडी, शल्यक्रियाको प्याकेज बनाउँदा राम्रो हुन्छ । स्वास्थ्य बीमाबाट लाभान्वित हुने अवस्थाकै कारण अहिले यसबारे निकै चासो बढेको छ । सरकारले बीमा बोर्डलाई साढे सात अर्ब दिँदै आएकामा आउँदो वर्षका लागि थप वृद्धि हुनेगरी सिलिङ राखेको छ,’ सचिव डा देवकोटाले भने । उनले स्वास्थ्य बीमाबाट गरिब, दीर्घरोगी लाभान्वित भएको बताए । सेवा प्रदायक अस्पतालले भुक्तानीका लागि झुटो दाबी नगर्ने र बीमाका लागि सबैले प्रेरित गर्नुपर्ने डा देवकोटाको भनाइ छ । पूर्वस्वास्थ्य सचिव डा सुधा शर्माले स्वास्थ्य बीमा अपेक्षाअनुसार रफ्तारमा जान नसकेको भन्दै यसमा गम्भीर भएर सोच्नुपर्ने बताए । उनले भने, ‘संविधानले सुनिश्चित गरेको निःशुल्क स्वास्थ्य प्याकेजको सुविधा र स्वास्थ्य बीमाको सुविधा दोहोरिएको छ । स्थानीय स्वास्थ्य संस्थाले हेरेर रेफरल अस्पतालमा पठाउँदा स्वास्थ्य बीमाको बोझ घट्थ्यो । यसका साथै मेडिकल काउन्सिललाई बलियो बनाएर स्वास्थ्य संस्थाले झुटो दाबी गरेकाबारे नियमन गर्न सकोस् । गलत भएमा स्वास्थ्य संस्था नै खारेज गरिने भनेर ऐनमा लेखिनुप¥यो ।’ मुटुरोग विशेषज्ञ तथा स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा भगवान् कोइरालाले स्वास्थ्य बीमामा देखिएका समस्या सुधार्दै लिन सकिने ठाउँ रहेको प्रतिक्रिया दिए । उनले भने, ‘बीमामा संसारभर नै समस्या आउँछन्, सुधार गर्दै जानुपर्छ । यसले धेरै राम्रो गरेको छ, औषधि खाइराख्नुपर्ने र जटिल बिरामीलाई बचाएको छ ।’ डा कोइरालाले बीमित देशभर फैलिँदा स्वास्थ्य बीमा बोर्डको क्षमता वृद्धि गर्दै लानुपर्ने र प्रिमियम बढाएर स्वास्थ्य बीमा सुधारमा ध्यान दिनुपर्ने बताए । स्वास्थ्य बीमा बोर्डका पूर्वअध्यक्ष डा गुणराज लोहोनीले स्वास्थ्य बीमामा औपचारिक क्षेत्रको अनिवार्य सहभागिता हुनुपर्ने र बीमा बोर्डलाई बलियो बनाउनुपर्ने धारणा राखे । स्वास्थ्य बीमा बोर्डका निमित्त कार्यकारी निर्देशक डा सरोज शर्माले बीमा बोर्डमा जनशक्ति नै कम रहेकाले दाबी भुक्तानीमा समस्या भइरहने बताए । ‘स्थायी दरबन्दी छैन । २५ जना जनशक्तिले प्रतिदिन पाँच हजार दाबी हेर्छन् जबकी प्रतिदिन ४० हजार दाबी आउँछ । डिजिटलाइजेसन विधिमा जानुपर्छ । पैसा भएर पनि भुक्तानी गर्न सकेका छैनौँ । प्रिमियम बढाउन सकिदैन भने बीमा दिगो हुँदैन,ड उनले भने ।