समृद्धि फाइनान्सको सीईओमा घिमिरे नियुक्त
सन्ताेष घिमिरे । काठमाडौं । समृद्धि फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सन्तोषकुमार घिमिरे नियुक्त भएका छन् । फाइनान्सको बुधबार बसेको सञ्चालक समितिको बैठकले आगामी वैशाख १ गतेदेखि लागू हुनेगरी घिमिरेलाई ४ वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । टीकानिधि लोहनी संस्थाबाट बाहिरिएसँगै घिमिरे सीईओ बनेका हुन् । लोहनीले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका थिए। फाइनान्सले फागुन २९ गतेदेखि लागू हुनेगरी उनको राजीनामा स्वीकृत गरेको हो । फाइनान्सका नायब महाप्रबन्धक विनोदराज पौडेलले एक महिनाका लागि कामु सीईओको जिम्मेवारी पाएका छन् । उनले चैत महिनाभरि सीईओको जिम्मेवारी सम्हाल्ने फाइनान्सले जनाएको छ ।
प्राधिकरणको केन्द्रीय कार्यालय भवनमा इजलास सञ्चालन गरिँदै
काठमाडौं । नेपाल बिमा प्राधिकरणले आगामी २०८२ साल वैशाख १ गतेदेखि ललितपुरको कुपण्डोलस्थित प्राधिकरणको केन्द्रीय कार्यालय भवनमा बिमा दाबी सम्बन्धी उजूरीहरूको सुनुवाइ गर्ने प्रयोजनका लागि इजलास सञ्चालन गर्ने भएको छ । प्राधिकरण सञ्चालक समितिको यही २०८१ साल फागुन २७ गते बसेको बैठकले प्राधिकरणमा दायर भएका बिमा दाबी सम्बन्धी उजुरीहरूको सुनुवाइ गर्ने प्रयोजनको निम्ति प्राधिकरणको भवनमा इजलास सञ्चालनका लागि भौतिक व्यवस्था तथा अन्य आवश्यक तयारी गर्न व्यवस्थापनलाई निर्देशन दिने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ । यसैगरी, प्राधिकरण सञ्चालक समितिको बैठकले प्राधिकरणमा दायर भएका बिमा दाबी उजुरीको हकमा साप्ताहिक तथा अन्य पेसी सूची र निर्णयहरू प्राधिकरणकोमा प्रकाशन गर्नसमेत व्यवस्थापनलाई निर्देशन दिने निर्णय गरेको छ ।
बिहीबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ २४ पैसा र बिक्रीदर १३९ रूपैयाँ ८४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५१ रूपैयाँ ९४ पैसा र बिक्रीदर १५२ रूपैयाँ ५९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८० रूपैयाँ ४१ पैसा र बिक्रीदर १८१ रूपैयाँ १९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५७ रूपैयाँ ८५ पैसा र बिक्रीदर १५८ रूपैयाँ ५३ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ५९ पैसा र बिक्रीदर ८७ रूपैयाँ ९७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रूपैयाँ ६२ पैसा र बिक्रीदर ९७ रूपैयाँ ०३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रूपैयाँ ४४ पैसा र बिक्रीदर १०४ रूपैयाँ ८९ पैसा निर्धारण गरिएको छ । यस्तै, जापानी येन १० को खरिददर नौ रूपैयाँ ३७ पैसा र बिक्रीदर नौ रूपैयाँ ४१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ २३ पैसा र बिक्रीदर १९ रूपैयाँ ३१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ १३ पैसा र बिक्रीदर ३७ रूपैयाँ २९ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ २० पैसा र बिक्रीदर ३८ रूपैयाँ ३७ पैसा कायम भएको छ । केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ११ पैसा र बिक्रीदर चार रूपैयाँ १३ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ९१ पैसा र बिक्रीदर ३८ रूपैयाँ ०८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ४३ पैसा र बिक्रीदर ३१ रूपैयाँ ५६ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ५९ पैसा र बिक्रीदर नौ रूपैयाँ ६३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ ८२ पैसा र बिक्रीदर १३ रूपैयाँ ८८ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ ३७ पैसा र बिक्रीदर २० रूपैयाँ ४६ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ९२ पैसा र बिक्रीदर १८ रूपैयाँ, कुवेती दिनार एकको खरिददर ४५१ रूपैयाँ ८० पैसा र बिक्रीदर ४५३ रूपैयाँ ५० पैसा, बहराइन दिनार एकको खरिददर ३६९ रूपैयाँ ३६ पैसा र बिक्रीदर ३७० रूपैयाँ ९५ पैसा, ओमनी रियाल एकको खरिददर ३६१ रूपैयाँ ६७ पैसा र बिक्रीदर ३६३ रूपैयाँ २३ पैसा रहेको छ । भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।