बन्द होइन, डुब्न लागेको बीमालाई उठाउन खोजेको हो : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रम थप प्रभावकारी बनाउँदै लगिएको बताएका छन् । आजदेखि तानसेनको टुँडिखेलमा सञ्चालन भएको दोस्रो तानसेन महोत्सवलाई उद्घाटन गर्दै उनले स्वास्थ्य बीमाका लागि स्रोत सुनिश्चित गरी व्यवस्थित र प्रभावकारी बनाउने कार्यमा सरकार लागेको बताए । मन्त्री पौडेलले भने, ‘केही व्यक्तिहरूले मलाई भन्ने गर्नुभएको छ, तपाईँले त बीमा बन्द गर्न लाग्नुभयो रे, यो बीमा चल्दैन भन्नुभयो रे, मैले भनेको यसरी चल्दैन, मैले डुब्न लागेको बीमालाई उठाउन खोजेको, अव्यवस्थित बीमालाई व्यवस्थित बनाउन खोजेको, अपूर्ण बीमालाई पूर्णतातिर लिएर जान खोजेको हो, कार्यान्वयन हुने गरी हुनसक्ने गरी हामीले दृष्टिकोणहरू ल्याएका छौँ, के के गर्यौँ भने बीमा सुरक्षित गर्न सकिन्छ, के के गरे बिमामा नियमित आम्दानी गर्न सकिन्छ ? भन्ने कुराको परिकल्पना गरेका छौँ ।’  आफू आम सर्वसाधारणले प्राप्त गरेका सुविधालाई कटाउने पक्षमा नभइ त्यसलाई सुरक्षित कसरी गराउनतर्फ लागेको उनले स्पष्ट पारे ।  मन्त्री पौडेलले भने, ‘वर्तमान सरकार स्वास्थ्य क्षेत्रको विकास र सुधारलाई प्राथमिकतामा राखेर व्यवस्थित बनाउने योजनामा छ । बिरामीको उपचार सर्व सुलभ गर्ने र उपचार गर्न नसक्नेलाई निःशुल्क बनाउने तथा स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउने छौँ ।’ उपचार कसरी गर्ने भन्ने बारेमा केही उपलब्धिहरू भए पनि त्यसले पूर्णता प्राप्त गर्न नसकेको उनले बताए । मन्त्री पौडेलले बिरामी बढाउने नभइ बिरामी हुन नदिने उपाय कसरी खोज्न सकिन्छ त्यसअन्तर्गत काम गर्न जरुरी रहेको उल्लेख गरे । 

सांग्रिला डेभलपमेन्ट बैंक र सेन्ट लरेन्स कलेजबीच दुई वर्षका लागि सहकार्य

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र सेन्ट लरेन्स कलेज, चाबहिलबीच आपसी सहकार्यसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । यस सम्झौताअनुसार सांग्रिला डेभलपमेन्ट बैंकले सेन्ट लरेन्स कलेजका विद्यार्थीहरूलाई इन्टर्नसिप, स्थलगत अवलोकन भ्रमण लगायतका अवसरहरूमा प्राथमिकता दिनेछ । त्यसैगरी, बैंकले आयोजना गर्ने विभिन्न कार्यक्रमहरूमा सेन्ट लरेन्स कलेजका विद्यार्थी तथा प्रतिनिधिहरूको सक्रिय सहभागिता रहनेछ । यस सहकार्यअन्तर्गत कलेजले आयोजना गर्ने ‘जब फेयर’ तथा अन्य व्यावसायिक कार्यक्रमहरूमा सांग्रिला डेभलपमेन्ट बैंकको पनि सहभागिता रहनेछ । दुई वर्षका लागि लागू गरिएको यस सहकार्यले बैंकिङ क्षेत्र र शैक्षिक संस्थाबीचको सम्बन्ध अझ सुदृढ बनाउने विश्वास गरिएको छ ।  

जाँदाजाँदै गभर्नर अधिकारीले भने : मेरै कार्यकालमा राष्ट्र बैंकमाथि हस्तक्षेप भयो

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो पाँच वर्षे कार्यकाल समेट्ने क्रममा राष्ट्र बैंकमाथि हस्तक्षेप भएको बताएका छन् । शुक्रबार कार्यकालका मुख्य उपलब्धिहरू सार्वजनिक गर्दै उनले दोस्रो वर्षमै बैंकको स्वायत्ततामाथि प्रहार भएको र यसले केन्द्रीय बैंकको स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएको बताए । गभर्नर अधिकारीले भने, 'नेपाल राष्ट्र बैंक सञ्चालनको विश्वव्यापी मान्यता अनुरूप यसको स्वायत्तता रक्षा गर्न सर्वोच्च अदालत, न्यायप्रणाली, अर्थशास्त्री, सञ्चारकर्मी तथा प्रतिष्ठित व्यक्तिहरूको भूमिका अविस्मरणीय रह्यो।' गभर्नर अधिकारीले कार्यभार सम्हाल्दा कोभिड–१९ महामारीका कारण विश्व अर्थतन्त्र संकुचित भइसकेको अवस्थामा नेपालले पनि गम्भीर आर्थिक चुनौती सामना गरेको बताए । उनले कोभिडपछिको पुनरुत्थानमै रुस–युक्रेन युद्धका कारण मूल्यवृद्धि उच्च बनेको तर राष्ट्र बैंकले अपनाएको नीति समग्र आर्थिक स्थायित्व कायम राख्न सफल भएको दाबी गरे । उनका अनुसार मुलुकको बाह्य क्षेत्र सुदृढ रहेको छ, वित्तीय क्षेत्रको पुँजी पर्याप्तता तथा तरलता नियामकीय आवश्यकताभन्दा माथि छ, र कोभिडपछिको मूल्यवृद्धि क्रमशः नियन्त्रण हुँदै गएको छ । गभर्नर अधिकारीले कार्यकालभर कानूनी तथा नीतिगत सुधारलाई प्राथमिकता दिएको उल्लेख गरे । राष्ट्र बैंक ऐन, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, बैंकिङ कसुर तथा सजाय ऐन, विदेशी विनिमय ऐन लगायतका कानूनी संशोधन प्रस्ताव अर्थ मन्त्रालयमा पठाइएको बताए । साथै, वित्तीय ग्राहक संरक्षण, लिजिङ, धितोपत्रीकरण, र एसेट म्यानेजमेन्टसम्बन्धी नयाँ कानूनी व्यवस्थाहरूको मस्यौदा समेत तयार भएको जानकारी दिए । उनले मौद्रिक नीतिलाई प्रभावकारी बनाउन तरलता व्यवस्थापनमा सुधार ल्याएको र व्याजदर करिडोरलाई व्यवस्थित बनाउने उद्देश्यले स्थायी निक्षेप सुविधा कार्यान्वयनमा ल्याइएको बताए । गभर्नर अधिकारीको कार्यकाल २०७६ चैत २४ गते सुरु भएको थियो । अब उनले पाँच वर्षे कार्यकाल पूरा गरी पदबाट बिदा लिंदै छन् ।