वर्षमा एक पटक केवाइसी भर्नुपर्ने

काठमाडौं । वर्षमा एक पटक केवाइसी भर्नुपर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्बन्धित व्यक्तिले वर्षमा एकपटक एक ठाउँमा केवाईसी विवरण भर्नुपर्ने बताए ।  साथै उक्त केवाइसी विवरणलाई राष्ट्रिय परिचय पत्रमा अद्यावधिक गरिने व्यवस्था मिलाइने उनको भनाइ छ । केवाईसी विवरण आवश्यक पर्ने निकायले विद्युतीय माध्यमबाट प्राप्त गर्न सकिने व्यवस्था मिलाइने उनले बताए ।  

स्वास्थ्य बीमा कार्यक्रमको लागि १० अर्ब  विनियोजन

काठमाडाै‌ं। सरकारले आगामी आव २०८२/८३ मा बजेटमार्फत १० अर्ब रुपैयाँ विनियोजन गरेको छ । बिहीबार आगामी आव २०८२/८३ को बजेट प्रस्तुत गर्दै सो रकम विनियोजन गरेका हुन् ।  सरकारले आगामी आव मा बजेटमार्फत स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गरिने यससम्बन्धी कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वय र दायरा विस्तार गरिने जनाएकाे छ। त्यस्तै बीमीतको सुविधा थैली क्रमश वृद्धि गर्दै लैजाने, सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमलाई स्वास्थ्य बीमामा एकिकृत गरिने, बीमितहरुलाई फरक फरक पोलिसी सुविधा उपलब्ध गराइने भएकाे छ । बीमा  सुविधाको दुरुपयोग हुन नदिन दोहोरपना हटाइने  भएकाे छ । चुवावट नियन्त्रण र संस्थागत शुुसासन कायम गरिने, जेष्ठ नागरिक, अपंगता भएका व्यक्ति दलित, अतिविपन्न तथा अल्पसंख्याक समुदायको बीमा सुविधा निरन्तरता  दिने पाैडेलले बताएका छन् ।

नेपालको प्रतिव्यक्ति आय १ हजार ५१७ अमेरिकी डलर

काठमाडौं । नेपालको प्रतिव्यक्ति आय १ हजार ५१७ अमेरिकी डलर पुगेको छ । अर्थमन्त्री विष्णु पौडेलले बिहीबार आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण प्रतिनिधिसभा बैठकमा पेस गर्दै प्रतिव्यक्ति कुल राष्ट्रिय आय बढेर १ हजार ५१७ अमेरिकी डलर पुगेको जनाएको छ ।  चालु आर्थिक वर्ष मुलुकको आर्थिक वृद्धि ४.६१ प्रतिशत रहने अनुमान रहेको मन्त्री पौडेलले बताए । उनका अनुसार प्रदेशगत रूपमा मधेस प्रदेश, कोसी प्रदेश र सुदूरपश्चिम प्रदेश बाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसत ४.६१ प्रतिशत भन्दा माथि रहेको छ ।  चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब रुपैयाँ पुग्ने अनुमान रहेको उनको भनाइ छ । यस अवधिमा कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २५.१६ प्रतिशत, उद्योग क्षेत्रको योगदान १२.८३ प्रतिशत र सेवा क्षेत्रको योगदान ६२.०१ प्रतिशत रहने अनुमान छ । उनका अनुसार सबै स्थानीय तहमा बैंकको शाखा पुगेको छ । बैंक तथा वित्तीय संस्थाका प्रति शाखाबाट औसत २ हजार ५२७ जनसङ्ख्यामा बैंकिङ सेवा उपलब्ध रहेको उनले बताए । २०८१ फागुनमसान्तमा बैंक तथा वित्तीय संस्थाको निक्षेप ९.५ प्रतिशत र बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७.७ प्रतिशतले बढेको छ ।