जनताका समस्याका आधारमा मौद्रिक नीति बनाउने गभर्नरको घोषणा, गुनासो सुन्न कैलाली पुगे

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले अर्थतन्त्रमा देखिएका समस्याहरू आगामी मौद्रिक नीतिमार्फत सुधारको प्रयास गरिने बताएका छन् । नेपाल राष्ट्र बैंक धनगढी शाखाले आयोजना गरेको नेपाल उद्योग वाणिज्य महासङ्घ कैलाली, बैंक तथा वित्तीय संस्था, विभिन्न सङ्घ संस्था, कृषि कर्जा लिएका ऋणी तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिसँगको छलफलमा उनले कोभिड लगायतका अन्य विभिन्न घटनाले अर्थतन्त्रमा केही समस्या पैदा गरेकाले समस्याको पहिचान गरेर समस्या समाधान गरिने बताए ।  गभर्नर पौडेलले आफू गभर्नर भएर आएपछि जनताका समस्याका आधारमा नीति बनाउने उद्देश्य लिएको बताए । जस अन्तर्गत मध्यपहाडी लोकमार्ग हुँदै जेठ २३ गतेदेखि सरोकारवालाको गुनासो सुन्दै धनगढी आइपुगेको उनले अवगत गराए ।  उनले भने, ‘सरोकारवालाका गुनासाका आधारमा आगामी मौद्रिक नीति बनाउनेछु ।’ गभर्नर पौडेलले आर्थिक गति चलायमान बनाउन र समस्या समाधान गर्न बैंक तथा वित्तीय संस्था, व्यवसायी बीचको सम्बन्ध सुधारमा जोड दिए । 

९ वर्षे ऋणपत्र जारी गरेर पौने ४ अर्ब रुपैयाँ ऋण उठाउँदै सरकार

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले पौने ४ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ९ वर्ष अवधिका लागि ३८५ करोड रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको हो ।  कार्यालयले सूचना जारी गर्दै ९ वर्ष अवधि रहेको विकास ऋणपत्र बोलकबोलमार्फत बिक्री गर्ने जनाएको छ । नेपाल सरकार अर्थ मन्त्रालय अन्तर्गत रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सरकारको ९ वर्षे विकास ऋणपत्र-२०९१ बोलकबोल मार्फत जेठ २८ गते बिक्री गर्नेछ ।  खरिद गर्न इच्छुक खरिदकर्ताले बोलकबोल पेस गर्न सक्नेछन् । उक्त ऋणपत्रको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी तथा नेपाली नागरिकहरूले भाग लिन सक्नेछन् ।  यस ऋणपत्रका विशेषता र बोलकबोल प्रक्रिया सम्बन्धी विस्तृत जानकारीका लागि यस कार्यालयको वेबसाइटको आन्तरिक ऋण सम्बन्धी सूचनामा हेर्न सकिनेछ । विकास ऋणपत्र दुई वर्षभन्दा माथि अर्थात् मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो । सरकारको आवश्यकतानुसार देशको आर्थिक विकासको लागि आवश्यक मध्यम तथा दीर्घकालीन अवधिको स्रोत जुटाउनु ऋणपत्रको उद्देश्य हो ।  

आजसम्म सेयरधनी बने हिमालयन लाइफको ८ प्रतिशत लाभांश पाउने

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको ८ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ कम्पनीले जेठ २८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आज जेठ २७ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् । लाभांश पारित गर्न कम्पनीले १८ औँ वार्षिक साधारण सभा असार १० गते काठमाडौंमा बिहान साढे १० बजे बोलाएको कम्पनीको सभाले कम्पनीले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार ३०६ रुपैयाँको ८ प्रतिशतको दरले हुन आउने ७३ करोड १४ लाख ५८ हजार ९८४ रुपैयाँ नगद लाभांश पारित गर्नेछ । सभाले प्रबन्ध पत्र तथा नियमावलीमा गरिएको थप तथा संशोधन र सो को अभिलेख गराउने सम्बन्धमा नियामकबाट कुनै फेरबदलको लागि निर्देशन प्राप्त भए सोही बमोजिम गर्न सम्पूर्ण अख्तियारी संचालक समितिलाई अख्तियारी दिने र कम्पनी ऐनको दफा १०५ को (१) (ग) बमोजिम गत वर्ष भएको खर्च अनुमोदन गर्नेछ । साथै, सञ्चालक समितिको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ का लागि बाह्य लेखापरीक्षक एससि लाल एसोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्नेछ ।