एनआइसी एशिया लघुवित्तले साढे ३ हजारलाई दियो वित्तीय साक्षरता

काठमाडौं । एनआइसी एशिया लघुवित्तले वित्तीय साक्षरता कार्यक्रमलाई निरन्तरता दिएको छ । लघुवित्तले जेठ १७ गते देखि ३१ गतेसम्म देशभरी सात वटै प्रदेशका विभिन्न शाखामा कार्यक्रम आयोजना गरी वित्तीय साक्षरता प्रदान गरेको हो ।  कार्यक्रम बाट कोशी प्रदेशका ८ शाखामा ४६५ जना, मधेश प्रदेशका ८ शाखामा ४६० जना, बागमती प्रदेशका ७ शाखामा ४३० जना, गण्डकी प्रदेशका ७ शाखामा ३९० जना, लुम्बिनी प्रदेशका ९ शाखामा ६९५ जना, कर्णाली प्रदेशका ८ शाखामा ४०० जना, र सुदुर पश्चिम प्रदेशका ८ शाखामा ६०५ जना गरी कूल ३ हजार ४४५ जना सदस्यहरु लाभान्वित भएका छन् । संस्थाले ग्रामिण परिवेशका विपन्न वर्गका सदस्यहरुलाई वित्तीय पहुँचमा असहजता अन्त्य गर्नका लागि यस्ता कार्यक्रम आयोजना गर्दै आएको छ ।  कार्यक्रममा संस्थाका विभिन्न तहका कर्मचारी एवम् स्थानिय लब्धप्रतिष्ठित व्यक्तिहरुले वित्तीय ज्ञान प्रदान गरेका थिए । संस्थाले आफ्ना सदस्यहरुलाई बेला-बेलामा पशुपालन, लघु उद्यम, आधुनिक कृषि लगायतका विषयमा तालिमको पनि प्रबन्ध गर्दै आएको छ ।

सेयर बजारमा ११ अर्बको कारोबार, ३ कम्पनीको मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.४७ अंकले बढेर २६५५ बिन्दुमा पुगेको छ ।  आज ९० कम्पनीको सेयर मूल्य बढ्दा १५७ कम्पनीको सेयर मूल्य घटेको छ ।  आइतबार ३०८ कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ४४ करोड रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार सानिमा माइ हाइड्रोपावरको भएको छ । सानिमाको ८९ करोड रुपैयाँ बढीको कारोबार भएको छ । साथै, न्यादी गुप्रको ८७ करोड, बुटवल पावर कम्पनीको ६४ करोड, राधी विद्युत कम्पनीको ५० करोड र माउन्टेन इनर्जीको ५० करोड रुपैयाँ बढीको कारोबार भएको छ । आज ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ग्रिन डेभलपमेन्ट बैंक, पियोर इनर्जी र छ्याङदी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।  

नागरिक लगानी कोष र रुरुक्षेत्र गाउँपालिकाबीच सम्झौता, स्वास्थ्य स्वयंमसेविकाको पेन्सन योजना सञ्चालन गर्ने

काठमाडौं । नागरिक लगानी कोष र लुम्बिनी प्रदेश, गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिकाबीच महिला सामुदायिक स्वास्थ्य स्वयंमसेविकाको नागरिक पेन्सन योजना सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले हस्ताक्षर गरेका छन् ।  सम्झौतामा हस्ताक्षरपछि कोषका कार्यकारी निर्देशक कार्कीले पेन्सन योजनामा सहभागीको रकम सुरक्षित रहने र अवकाशपछि पेन्सन सुविधा पाउने जानकारी दिए । उनले स्वआर्जनमा रहेका र अन्य क्षेत्रका स्थानीय बासीलाई सहभागिताको लागि आग्रह गरे । त्यसैगरी गाउँपालिकाका अध्यक्ष ज्ञवालीले स्थानीय बासीले सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरे ।  सम्झौता अनुसार पालिकाका महिला सामुदायिक स्वास्थ्य स्वयंमसेविका कल्याणकारी कोष व्यवस्थापन अन्तर्गत रुरुक्षेत्र गाउँपालिकाद्वारा सञ्चालित स्वयंमसेविकाको कल्याणकारी कोषबाट प्रति स्वास्थ्य स्वयमसेविकाको मासिक आठ सय ३० रुपैयाँ जम्मा गर्ने व्यवस्था गरिएको छ ।  पालिकाबाट सञ्चालित स्वयंमसेविका कल्याणकारी कोष व्यवस्थापन अन्तर्गत व्यक्तिगत खाताको रकम वा अन्य कुनै ऋण वा सहुलियत सम्बन्धित व्यक्ति वा हकवालालाई उपलब्ध गराउँदा पालिकाको सिफारिसको आधारमा मात्र उपलब्ध गराउन सकिने व्यवस्था मिलाइएको छ । यस योजनामा सहभागी स्वयमसेविकाहरूलाई पेन्सन योजना सञ्चालन कार्यविधि, २०७६ अनुसार स्वयमसेविका र पालिकाको तर्फबाट जम्मा भएको रकमका आधारमा जम्मा भएको रकम एकमुष्ठ वा ६० वर्ष पुगेपछि पेन्सन उपलब्ध गराउनु पर्ने व्यवस्था सम्झौतामा उल्लेख छ ।  सहभागीहरूलाई नागरिक पेन्सन योजनामा सहभागी भएको पाँच वर्ष पूरा भएपछि जम्मा भएको रकमको ८० प्रतिशतसम्मको रकम पालिकाको सिफारिसका आधारमा सापटी प्रदान गर्न सकिने व्यवस्था कोषले मिलाएको छ ।