कम्पनीभित्रै कमिसनको खेल, कर्मचारीले खोले पोल
काठमाडौं । सरकारको स्वामित्वप्राप्त राष्ट्रिय बीमा कम्पनीमा कार्यरत कर्मचारीले कम्पनीको पफर्मेन्सप्रति प्रश्न गरेका छन् । कम्पनीका हरेक वित्तीय सूचक अरू कम्पनीको तुलनामा कमजोर देखिएको बताउँदै उनीहरुले कम्पनीले सुधार गर्नुपर्ने विषय धेरै रहेको बताएका हुन् । विगत लामो समयदेखि कम्पनीले लेखापरीक्षण समेत गर्न नसकेको बताउँदै उनीहरुले असन्तुष्टि पोखेका हुन् । आइतबार कम्पनीको १२औं वार्षिकोत्सवको अवसरमा कर्मचारी संघका अध्यक्ष डम्बरदेव अधिकारीले कम्पनीको पफर्मेन्स घट्दै गएको बताए । उनले कम्पनीको पफर्मेन्ससँगै व्यवसाय घट्नुको कारण दलाली र कमिसन रहेको प्रष्ट पारेका छन् । कम्पनीभित्रै दलालीको बिगबिगी भयो भने संस्था टिक्न समस्या हुने धारणा राख्दै उनले कम्पनीमा काम गर्नेभन्दा पनि कमिसन खान विभाग खोज्ने प्रवृत्ति बढेकाले होसियार रहनुपर्ने बताए । त्यसबाहेक उनले संस्थाको व्यवसाय निरन्तर घट्दै जानुमा चिन्ता व्यक्त गर्दै यस विषयमा बहस र छलफल आवश्यक रहेको औंल्याएका छन् । लामो समयदेखि कर्मचारीहरूले लेखापरीक्षण, कम्पनीको खाद्य संस्थानबाट खरिद गरिएको जग्गा आफ्नो नाममा ल्याउने विषय र कम्पनीमा मौलाउँदै गएको विकृति, विसंगतिहरुको नियन्त्रण, भौतिक तथा मानव स्रोत–साधनको समुचित प्रयोग र व्यवस्थापनका विषयहरू उठान गर्दै कम्पनीले सुधार गर्नुपर्ने विषय धेरै रहेको उनको भनाइ छ । उनले कर्मचारी युनियनहरूसँग सञ्चालक समितिको रोहबरमा उच्च व्यवस्थापक तहसँग भएको कर्मचारी विनियमावलीको पूर्ण कार्यान्वयनको लागि भएको १० बुँदे सहमति कार्यान्वयन नभएको गुनासो राखे । अध्यक्ष अधिकारीले हालसम्म कर्मचारीले कुनै नयाँ सेवा सुविधा माग नगरेको र नपाएको उल्लेख गर्दै विनियमावलीमा भएको अधिकार छिट्टै सम्बोधन हुनुपर्ने बताए । ‘हामीले कुनै नयाँ सेवा सुविधा मागेका छैनौं र पाएका छैनौं, मात्रै विनियमावली भएको अधिकार मात्रै खोजेका हौं, त्यसको कार्यान्वयन गर्ने कर्तव्य कसको हो ? टर्च-लाइट लिएर खोज्दै हिँड्ने बेला भएको छ,’ उनले भने । अध्यक्ष अधिकारीले ओएनएम सर्भेबारे प्रश्न उठाए । उनले भने, ‘ओएनएम सर्भे गरियो रे, दरबन्दी १४७ नै छ । ८ वटा विभाग पनि छैनन्, यो ओएनएम सर्भेबाट संस्था अगाडि बढ्छ त ?’ अध्यक्ष अधिकारीले कर्मचारीले पाउने बोनसको बारेमा पनि सवाल उठाएका छन् । उनले कर्मचारीको हात सधैं रित्तै भइरहेको गुनासो गरे । उनले कम्पनीमा महिलामैत्री वातावरण बनाउन कम्पनीले के गरिरहेको छ भनेर सवाल उठाए । उनले कम्पनीका शाखा कार्यालयमा ऊर्जावान, नवीनतम् सोचसहितका कर्मचारी हुँदा पनि कम्पनी सुदृढीकरण गर्न नसक्नुमा त्यसको कारण खोज्नुपर्ने उल्लेख गरे । कर्मचारीलाई मनोवैज्ञानिक, व्यावसायिक र भौतिक रूपले सक्षम बनाउन कम्पनीले जोड दिनुपर्ने उल्लेख गर्दै उनले त्यसको लागि आन्तरिक तथा बाह्य तालिमको व्यवस्था, प्रोत्साहन हुने कार्यक्रमको व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन् । कम्पनी प्रदेशमा जाँदै गर्दा कर्मचारीको पूर्व व्यवस्थापन, भौतिक संरचनाको व्यवस्थापन, सवारीसाधनको व्यवस्थापन, कर्मचारीहरूलाई मनोवैज्ञानिक रूपले सक्षम नबनाई होर्डिङ बोर्ड राखेर प्रदेश कार्यालय खोल्न सकिने वातावरण नभएको औंल्याए । राष्ट्रिय बीमा कम्पनी नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष दीपकराज पाण्डेले लेखापरीक्षण कुनै पनि कम्पनीको नियमित कार्य भएको बताए । नियमित कार्य नहुँदा कम्पनीको विश्वसनियतामा मात्र कमी नआई वैधानिकता र पारदर्शितामा समेत प्रश्न उठ्ने उनको भनाइ छ । उनले सरकारी स्वामित्वको वित्तीय कारोबार गर्ने कम्पनी प्रत्येक वर्ष अनअडिटेड संस्थाको रूपमा सरकारी प्रतिवेदनमा रहनु लज्जाको विषय बनिरहेको बताए । अध्यक्ष पाण्डेले भने, ‘सरकारी स्वामित्वको वित्तीय कारोबार गर्ने कम्पनी प्रत्येक वर्ष अनअडिटेड संस्थाको रुपमा सरकारी प्रतिवेदनमा रहनु लज्जाको विषय बनिरहेको छ, जसले गर्दा लगानी जोखिममा मात्र नपरी आर्थिक सुशासनको समेत धज्जी उडेको छ ।’ बीमा जस्तो संवेदनशील क्षेत्रको संस्था पनि लेखापरीक्षणबिनै चलिरहेको विषय लजास्पद भएको बताउँदै यही आर्थिक वर्षभित्रै यो कार्यले पूर्णता प्राप्त गरी सरकारद्वारा बजेटमार्फत रोकावट लगाइएका विषय फुकाउन सकोस् भन्ने अपेक्षा उनको छ । लामो समयदेखि कम्पनीको नाममा जग्गा नामसारी गर्ने भनेर कम्पनी अघि बढे पनि त्यसले पूर्णता पाएको छैन । यो विषय पनि छिट्टै पूरा भई कम्पनीको भवन निर्माण कार्य अगाडि बढाउनुपर्ने माग कर्मचारीहरूले राखेका छन् । सरकारी स्वामित्वको बीमा कम्पनीको रुपमा रहेर पनि नयाँ सरकारी सम्पत्तिको बीमा व्यवसाय कम्पनीले प्राप्त गर्न नसकेको तथा विगतमा गर्दै आइरहेको नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनलगायत केही सरकारी बीमा बाहिरिरहेको समस्या कम्पनीमा छ । कम्पनीका कर्मचारीले सरकारी सम्पत्तिको बीमा सरकारी कम्पनीमा नै गर्नुपर्ने पूर्ण प्रावधान लागू गराउन नियामक निकायमार्फत नेपाल सरकार समक्ष अनुरोध गरेका छन् । बर्सेनि कम्पनीको व्यवसाय घट्दै गइरहेको स्थितिमा कम्पनीले व्यवसाय अभिवृद्धिमा जोड दिई बीमा व्यवसाय बढाउने तर्फ गम्भीर रूपमा लाग्नुपर्ने अध्यक्ष पाण्डेले सुझाव दिएका छन् । त्यस्तै, उनले कुनै पनि गतिशील संस्थाको मुख्य मेरुदण्ड भनेको कर्मचारी वर्ग भएको बताउँदै कर्मचारीलाई खुसी नपारी कर्मचारीबाट काम लिन खोज्नु मूर्खतासिवाय अरु केही पनि हुन नसक्ने अभिव्यक्ति दिएका छन् । उनले कम्पनीमा कार्यरत कर्मचारीको आर्थिक सेवासुविधा, वृत्ति विकासका अवसरहरू समेत ओझेलमा पर्दै गएको विषय अत्यन्तै दुःखद विषय बताउँदै यसतर्फ सोच्न सुझाव दिए । उनले भने, ‘बर्सेनि आठ–दश जनाको दरले दक्ष र अनुभवी कर्मचारीहरूको टर्नओभर बढ्दै गइरहेको स्थिति छ । तसर्थ यस्तो स्थितिलाई रोक्न व्यवस्थापन र सञ्चालक समितिलाई यस तर्फ गम्भीर, गम्भीर रुपमा ध्यानाकर्षण गर्न चाहन्छौं ।’ युनियन र व्यवस्थापन एक-अर्काका परिपूरक भएको उल्लेख गर्दै अध्यक्ष पाण्डेले कर्मचारी युनियनहरू व्यवस्थापनसँग हातमा हात मिलाएर अगाडि बढ्न चाहेको बताए । तर व्यवस्थापन र सञ्चालक समितिले जे भन्छ त्यसैमा होमा हो मिलाउँदै जाने पक्षमा भने कर्मचारी नभएको उल्लेख गरे । कम्पनीका अध्यक्ष दिनेश उपाध्यायले कम्पनीले नमिलेको कुराहरू विस्तारै मिलाएर अघि बढाइरहेको बताएका छन् । दुई सरकारी बीमा कम्पनी राष्ट्रिय जीवन बीमा कम्पनी र राष्ट्रिय बीमा कम्पनीलाई एक नम्बर स्थानमा ल्याउने गरी काम गरिरहेको र एकदिन आउने विश्वास व्यक्त गरे । कम्पनीमा रहेको विभिन्न समस्याहरूको विषयमा बोर्ड, समिति दुईटै बीमा कम्पनीका सीईओहरूसँग निरन्तर छलफलमा रहेको र अबको दुई÷तीन महिनामा निचोडमा पुग्ने बताए । अध्यक्ष उपाध्यायले भने, ‘कहाँ–कहाँ नमिलेको हो त ? जबसम्म नेपाल सरकारले नमिलेका कुराहरू केही कुराहरू छन् भने त्यसलाई राइट अफ गर्न सक्दैन, तबसम्म केही मिल्नेवाला छैन। यो राइट अफको धारणामा हामी जानुपर्छ ।’ नमिलेको कुरा मिलाउन बोर्डका सदस्यले बीमा प्राधिकरण, अर्थ मन्त्रालय, प्रधानमन्त्री कार्यालयमै जानुपर्ने अवस्था आए त्यहाँ गएर समाधान गर्नेतर्फ लाग्ने उनको भनाइ थियो । अध्यक्ष उपाध्यायले आफू कम्पनीमा अध्यक्ष भएर आएपछि लामो समय नभएको एजीएम गर्न सफल भएको बताए । उनका अनुसार कम्पनीले विगत १२/१५ वर्षदेखि एजीएम गर्न सकेको थिएन । आफ्नो कार्यकालपछि ९ वर्षको एजीएम सम्पन्न गरेको र अब बाँकी ६ वर्षको एजीएम पनि गर्ने तयारीमा कम्पनी लागेको उल्लेख गरे । त्यस्तै, उनले लेखापरीक्षण सम्पन्न गर्नको लागि कम्पनी दत्तचित्त भएर लागेको बताए । ‘लेखा परीक्षण सम्बन्धीको सम्पूर्ण कामहरू सम्पन्न गरेर सेयरधनीले पाउने जुन लाभांश हो, त्यो सम्बन्धित व्यक्ति, सम्बन्धित मन्त्रालयहरू, सम्बन्धित कसलाई दिनुपर्ने हो, त्यो चाहिँ पु¥याउँछु भन्ने धारणा साथ हामी लागि परेका छौं,’ उनले भने । कम्पनीले छिट्टै नै कार्यविधि सञ्चालन गर्ने तयारी रहेको बताउँदै उनले अबको एक महिनाभित्र कार्यविधि पारित हुने विश्वास व्यक्त गरे । उनले भने, ‘सायद अब एक महिनाभित्र पारित हुन्छ, हामीले लगभग कार्यविधिको धेरै काम सम्पन्न गरेका छौं ।’
२८७५ बिन्दुमा पुग्यो नेप्से, १४० कम्पनीको मूल्य बढ्यो
काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६ अंकले बढेर २८७५ बिन्दुमा पुगेको छ । आज १४० कम्पनीको मूल्य बढ्दा ११० कम्पनीको मूल्य घटेको हो । सोमबार ३२५ कम्पनीको २ कम्पनीको १० अर्ब ८२ करोड रुपेयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । हिमालयनको ५५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, शिवभ् सिमेन्टको ४३ करोड, हिमालयन डिस्टीलरीको ३७ करोड, न्यादी गुप्रको ३१ करोड र नेपाल रिइन्स्योरेन्सको ३१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा बैंकिङ १.६६, जलविद्युत् ०.२५, लगानी ०.११, जीवन बिमा ०.५०, लघुवित्त ०.५०, म्युचुअल फन्ड ०.०८ र व्यापार २.८९ प्रतिशतले बढेको छ । विकास बैंक ०.०६, वित्त ०.८२, होटल तथा पर्यटन ०.३४, उत्पादन तथा प्रशोधन ०.१२, निर्जीवन बिमा ०.५१ र अन्य समूह ०.४५ प्रतिशतले घटेको छ । थ्रिस्टार हाइड्रोपावरको सेयर मूल्य आज सबैभन्दा धेरै ६.८९ प्रतिशतले बढेको छ । ट्रेड टावरको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।
झापाका ठूला सहकारीमा पैसा थुप्रियो, साना सहकारीमा बचत फिर्ता गर्न जोखिम
बनियानी । झापाका ठूला सहकारीमा पर्याप्त तरलता रहेको पाइएको छ । जिल्लाका ठूला सहकारी संस्थाहरुले जारी गरेको २०८२ को असारसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार तरलता पर्याप्त रहेको पाइएको हो । सहकारी संस्थामा कम्तीमा १५ प्रतिशत तरलता हुनुपर्ने भएपनि ३६ प्रतिशतसम्म तरलता भएको झापा जिल्ला सहकारी सङ्घका सचिव भवानीप्रसाद दङ्गाल (भानु)ले बताए । 'अहिले ठूला सहकारीमा पैसा थुप्रिएको छ भनेज्ञ साना सहकारीले भनेका बेलामा बचत फिर्ता गर्न सक्ने अवस्था देखिँदैन', उनले भने, 'सहकारी संस्थाले लगानी वृद्धिका लागि उपयुक्त योजना ल्याउने पर्ने अवस्था छ ।' नेपालकै ठूलो सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था बिर्तामोडको २०८२ असार मसान्तको अपरिस्कृत वित्तीय विवरण अनुसार ३६ दशमलव २१ प्रतिशतअर्थात् पाँच अर्ब १२ करोड ६१ लाख ६० हजार २०२ रुपैयाँ तरलता रहेको छ । नेपाल बहुउद्देश्यीय सहकारी संस्थामा २४ दशमलव ९५ प्रतिशत अर्थात् दुई अर्ब ८४ करोठ ६६ लाख ९९ हजार २३३ रुपैयाँ, कर्णाली बचत तथा ऋण सहकारी संस्थामा १९ दशमलव ५२ अर्थात् ६८ करोड २५ लाख तीन हजार आठ १३ रुपैयाँ, हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थामा १९ दशमलव ०५ प्रतिशत अर्थात् ३२ करोड ८४ लाख ५३ हजार ५६० रुपैयाँ र सिम्रिक बचत तथा ऋण सहकारी संस्थामा १७ दशमलव ३२ प्रतिशत तरलता रहेको संस्थाको २०८२ असार मसान्तको अपरिस्कृत वित्तीय विवरणमा उल्लेख छ । सहकारी संस्थाले बिनाधितो लगानी गर्दा अहिले लगानी जोखिममा पर्दै गएकाले थप चुनौती देखिएको सचिव दङ्गाल बताउँछन् । पछिल्लो समय झापाको सहकारी क्षेत्रमा उल्लेख्य सुधार आएको उनको भनाइ छ । झापामा हाल ७५३ वटा सहकारी संस्था छन् । ती सहकारी संस्थामा वार्षिक करिब तीन खर्ब रुपैयाँको वित्तीय कारोबार हुने गर्दछ । कोशी प्रदेशमा एक अर्ब रुपैयाँभन्दा बढीको वासताल भएको १४ वटा सहकारी छन् त्यसमध्ये ११ वटा झापामा रहेका छन् भने दुई वटा मोरङ र एक वटा सुनसरीमा रहेको सचिव दङ्गालले बताए । कोशी प्रदेशमा २८ वटा सहकारी कारबाहीमा परेका छन् भने झापामा सात वटा कारबाहीमा परेको सचिव दङ्गालले बताए । रासस