सेयर बजारमा ७ अर्बको कारोबार

काठमाडौं । बुधबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १ अंकले बढेर २८३३ बिन्दुमा झरेको छ । आज ११२ कम्पनीको सेयर मूल्य बढ्दा १३८ कम्पनीको सेयर मूल्य घटेको छ । बुधबार ३२० कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६३ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार न्यादी गुप्रको भएको छ । साथै, हिमालयन रिइन्स्योरेन्सको २८ करोड, शिवम् सिमेन्टको २४ करोड, एनआरएन इन्फ्राइस्ट्रक्चरको २३ करोड र बलेफी हाइड्रोको २३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । वीन नेपाल लघुवित्त, माहुली लघुवित्त र ट्रेड टावर लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।  

कामना सेवा विकास बैंक र स्काइ वाकबीच टिकट शुल्कमा छुट सम्बन्धी सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक र काठमाडौं कमलादीस्थित स्काइ वाकबीच सेवा शुल्कमा विशेष छुट दिने सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार, बैंकका ग्राहक तथा कर्मचारीहरूले स्काइ वाकको टिकट रकममा २५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । यो सुविधा लिन ग्राहकहरूले बैंकसँगको सम्बन्ध प्रमाणित गर्ने कागजात देखाउनुपर्नेछ । बैंकले उक्त सहकार्यले आफ्ना सेवाग्राहीहरूलाई मनोरञ्जन तथा विश्रामसँग जोडिएको नयाँ अनुभव प्रदान गर्नुका साथै विशेष लाभ दिलाउने विश्वास व्यक्त गरेको छ । सम्झौतामा बैंकको तर्फबाट काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्मा र स्काइ वाकका विभागीय प्रमुख दुष्यन्त ठाकुरले हस्ताक्षर गरेका छन् ।

एनआईसी एशिया बैंकका ग्राहकलाई हिमालय दृष्य रिसोर्टमा छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरू अब धुलिखेलस्थित हिमालय दृष्य रिसोर्टमा छुट सुविधा प्राप्त गर्न सक्ने भएका छन् । यसबारे बैंक र रिसोर्टबीच छुट सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार, बैंकका ग्राहकहरूले हिमालय दृष्य रिसोर्टमा भोजन तथा पेय पदार्थ उपभोग गरी डिजिटल माध्यमबाट भुक्तानी गरेमा १० प्रतिशत छुट प्राप्त गर्नेछन् । यस सुविधाको लाभ लिन ग्राहकले एनआईसी एशिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक मोबाइल एपमार्फत भुक्तानी गर्नुपर्नेछ । बैंकले यो सहकार्यले ग्राहकहरूलाई विशेष सेवा दिनुका साथै मुलुकमा नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने विश्वास लिएको छ । डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धनमा समेत यो सम्झौताले योगदान पुर्‍याउने बैंकको भनाइ छ ।