स्काईलाईन ईन्फ्राले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा हिमालय सेक्युरिटिज बैंकर

काठमाडौं । स्काईलाईन ईन्फ्रा लिमिटेडले साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा हिमालय सेक्युरिटिज बैंकर लिमिटेडलाई नियुक्त गरेको छ । यससम्बन्धी सम्झौता स्काईलाईन ईन्फ्रा र हिमालय सेक्युरिटिज बैंकरबीच सम्पन्न भएको हो । सम्झौताले कम्पनीलाई नयाँ व्यवसायिक यात्रा सुरु गर्न तथा विस्तारमा सहयोग गर्ने अपेक्षा गरिएको छ । सम्झौतामा स्काईलाईन ईन्फ्राको तर्फबाट अध्यक्ष प्रतीक अग्रवालसहित सञ्चालक, संस्थापक तथा प्रमुख वित्त अधिकृतको सहभागिता थियो भने हिमालय सेक्युरिटिज बैंकरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभाष बहादुर श्रेष्ठ र नायब महाप्रबन्धक शंकर राजबाहकले हस्ताक्षर गरेका छन् ।  

सेयर बजारमा ८ अर्बको कारोबार, २४ कम्पनीको मूल्य बढ्यो

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३८ अंकले घटेर २७८१ बिन्दुमा झरेको छ ।  आज २४ कम्पनीको सेयर मूल्य बढ्दा २२७ कम्पनीको सेयर मूल्य घटेको छ । बिहीबार ३२२ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ९ कारोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्सको भएको छ । नेपाल रिइन्स्योरेन्सको ६५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, हिमालयन रिइन्स्योरेन्सको ६० करोड, हिमालयन डिस्टीलरीको ३५ करोड, शिवम् सिमेन्टको २२ करोड र युनाइटेड मोदीको १९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा सबै सेक्टरका सूचक घटेका छन् । विकास बैंक सबैभन्दा धेरै २.३८ प्रतिशतले घटेको छ । बैंकिङ ०.८७, फाइनान्स १.९७, होटल तथा पर्यटन १.६०, हाइड्रोपावर १.४४, लगानी १.५८, जीवन बीमा १.६५, उत्पादन तथा प्रशोधन १.७०, माइक्रोफाइनान्स १.४०, अन्य १.७० र व्यापार १.२६ प्रतिशतले घटेको छ । निर्जीवन बीमा जम्मा ०.०१ प्रतिशतले बढेको छ । आज विकास हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।  

आईसिएफसी फाइनान्सले ५० करोड बराबरको ऋणपत्र निष्कासन गर्ने

काठमाडौं । आईसिएफसी फाइनान्स लिमिटेडले ५० करोड रुपैयाँ बराबरको ऋणपत्र '८ प्रतिशत आईसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर–२०८९' निष्कासन गर्ने भएको छ । ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा कम्पनीले कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो । यस सम्बन्धमा बिहीबार कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा दुई पक्षबीच सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा आईसिएफसी फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल पन्त र कुमारी क्यापिटल लिमिटेडका सीईओ पुष्प शर्माले हस्ताक्षर गरेका छन् । कम्पनीका अनुसार नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय लगायतका सम्बन्धित नियामक निकायको स्वीकृति प्राप्त भएपछि मात्र ऋणपत्र निष्कासन गरिनेछ । हाल आईसिएफसी फाइनान्सले २१ शाखा कार्यालय र १८ वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।