हिमालयन लाइफ इन्स्योरेन्सले सम्पन्न गर्यो सम्पत्ति शुद्धीकरण निवारण कार्यक्रम
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार हिल्टन होटलमा आयोजित कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक तथा सम्पत्ति शुद्धीकरण निवारण महाशाखा प्रमुख शाम्बराज लामिछाने र शाखा प्रमुख पदम सोडारीले जीवन बीमा कम्पनीहरूले सम्पत्ति शुद्धीकरण निवारणका क्षेत्रमा निर्वाह गर्नुपर्ने विविध जिम्मेवारीबारे जानकारी गराएका थिए । कार्यक्रममा निर्देशक लामिछानेले बीमा प्राधिकरणले हालै जारी गरेको ‘सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी निर्देशिका, २०८२’ लाई कडाइका साथ कार्यान्वयन गर्न आग्रह गरे । उनले हिमालयन लाइफले यसअघि सम्पत्ति शुद्धीकरण निवारणका क्षेत्रमा गरेका कामहरू प्रशंसनीय रहेको उल्लेख गर्दै अझ प्रभावकारी कार्य गर्न सुझाव पनि दिए । सो अवसरमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष शुलभ अग्रवालले कम्पनीले सम्पत्ति शुद्धीकरण निवारणलाई प्राथमिकतामा राखेर नीति–नियमअनुसार काम गरिरहेको बताए । साथै सञ्चालक समिति सदस्य प्रमिला केसी र प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले पनि यस विषयमा कम्पनी गम्भीर र प्रतिबद्ध रहेको प्रष्ट पारे । कार्यक्रममा कम्पनीका सञ्चालक समिति पदाधिकारी, सेयरधनी तथा उच्च व्यवस्थापकीय पदाधिकारीहरूको उपस्थिति थियो ।
२७ हजार ६२२ जना सेयरधनीले पाए एशियन लाइफको हकप्रद सेयर
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर बाँडफाँड गरिएको छ । असार २५ गतेदेखि साउन २० गतेसम्म बिक्री खुला गरेको हकप्रद सेयर भदौ ८ गतेका दिन बाँडफाँड गरिएको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँको ४२ प्रतिशत अर्थात् १० कित्ता सेयर बराबर नयाँ ४.२ कित्ता सेयर अनुपातमा हकप्रद सेयर जारी गरेको हो । कम्पनीले १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद सेयर जारी गरेको थियो । रितपूर्वक आवेदन दिएका २७ हजार ६२२ जना सेयरधनीलाई १ करोड ३९ लाख २० हजार ८०० कित्ता हकप्रद सेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ । कम्पनीको ३ लाख ५८ हजार ५१२ कित्ता सेयर बिक्री हुन नसकेको कम्पनीले जनाएको छ । साथै हक भन्दा बढी माग गरी आवेदन दिएका सेयरधनीहरुको हकमा बाँडफाँडमा नपरेका हकप्रद सेयर बापतको रकम भदौ ११ गतेदेखि आईपीएस मार्फत सम्बन्धित आवेदकको बैंक खातामा रकमान्तर गरिने कम्पनीले जनाएको छ ।
अब लघुवित्त संस्थाहरूले २५ प्रतिशतसम्म लाभांश बाँड्न पाउने, यस्ता छन् नयाँ शर्तहरु
काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुले २५ प्रतिशतसम्म लाभांश वितरण गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाको लाभांशमा गरिएको कडाइलाई खुकुलो गर्दै २५ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने व्यवस्था गरेको हो । यसअघि लघुवित्त संस्थाहरुले १५ प्रतिशतसम्म मात्रै लाभांश वितरण गर्न पाउने व्यवस्था थियो । चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमा लाभांशमा पुनरावलोकन गर्ने घोषणा गरेको छ । सोही बमोजिम आज आइतबार सर्कुलर जारी गर्दै खराब कर्जा र पुँजी कोष अनुपातको आधारमा २५ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार ५ प्रतिशत भन्दा कम निष्कृय कर्जा अनुपात भएका लघुवित्तको लाभांश वितरपछि पुँजी कोष अनुपात १२ प्रतिशतभन्दा माथि भएमा २५ प्रतिशत, १० प्रतिशतदेखि १२ प्रतिशत पुँजी कोषसम्म भएमा २० प्रतिशत, ८ प्रतिशतदेखि १० प्रतिशतसम्म पुँजी कोष अनुपात भएमा १५ प्रतिशत लाभांश वितरण गर्न पाउने छन् । यस्तै, ५ प्रतिशतदेखि १० प्रतिशतसम्म खराब कर्जा भएको लघुवित्तको लाभांश वितरण पछिको पुँजी कोष अनुपात १२ प्रतिशतभन्दा बढी भएमा २० प्रतिशत, १० प्रतिशतदेखि १२ प्रतिशतसम्म १५ प्रतिशत र ८ प्रतिशतदेखि १० प्रतिशत हुने लघुवित्तको हकमा १० प्रतिशत लाभँंश वितरण गर्न पाउने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार १० प्रतिशतदेखि १५ प्रतिशतसम्म खराब कर्जा भएको लघुवित्तको लाभांश वितरण पछिको पुँजीकोष अनुपात १२ प्रतिशतभन्दा बढी भएमा १५ प्रतिशत, पुँजीकोष अनुपात १० प्रतिशतदेखि १२ प्रतिशतसम्म हुने लघुवित्तलाई १० प्रतिशत र ८ प्रतिशतदेखि १० प्रतिशत हुने लघुवित्तको हकमा ५ प्रतिशत लाभँंश वितरण गर्न पाउने छन् । लघुवित्त वित्तीय संस्थाले नगद लाभांश वितरणको प्रस्ताव गर्नुपरेमा न्यूनतम ९ प्रतिशत पुँजीकोष अनुपात कायम गर्नुपर्नेछ । साथै १५ प्रतिशत भन्दा बढी निष्कृय कर्जा अनुपात भएका लघुवित्त वित्तीय संस्थाहरुले लाभांश वितरण गर्न सक्ने छैनन् ।