सांग्रिला डेभलपमेन्ट बैंकले गर्यो प्रहरी वृत्त दरबारमार्गलाई सहयोग
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले प्रहरी वृत्त दरबारमार्गलाई दुई थान कम्प्युटर र एउटा स्क्यानर तथा फोटोकपीसहितको प्रिन्टर (थ्री इन वान) मेसिन सहयोग गरेको छ । केही दिनअघि आन्दोलनका क्रममा भएको आगजनीमा वृत्तको कार्य सञ्चालन प्रभावित भएपछि संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सहयोग गरिएको हो । उक्त सहयोग सामग्री बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशीले मङ्गलबार वृत्तका इन्चार्ज प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठलाई हस्तान्तरण गरे । इन्चार्ज श्रेष्ठले यस्ता सहयोगहरूले कार्यालय सञ्चालनमा सहजता भए पनि आगजनीले ठूलो क्षति पुर्याएकाले अझ बढी सहयोग आवश्यक रहेको बताए । आम नागरिकको विश्वास र भरोसाका आधारमा सांग्रिला डेभलपमेन्ट बैंकले हाल १०९ शाखा कार्यालय र ३० एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीलाई पालना गर्दै आएको बैंकले आगामी दिनमा सेवालाई अझ विस्तार गर्ने प्रतिबद्धता जनाएको छ ।
नेपाल इन्स्योरेन्सको फुटसल प्रतियोगिता स्थगित
काठमाडौं । नेपाल इन्स्योरेन्सले आफ्नो ७८औँ वार्षिकोत्सवको अवसरमा आयोजना गर्न लागिएको फुटसल प्रतियोगिता स्थगित गर्ने घोषणा गरेको छ । कम्पनीले आश्विन ३ र ४ गते आयोजना गर्ने भनिएको प्रतियोगिता हाल देशमा सिर्जित परिस्थितिका कारण अनिश्चितकालका लागि रोकिएको जनाएको छ । साथै, प्रतियोगिता पुनः आयोजना गर्ने सम्बन्धमा पछि जानकारी गराइने नेपाल इन्स्योरेन्सले स्पष्ट पारेको छ ।
सुकिला नोट सटहीमा छैन खासै सर्वसाधरणको चासो
काठमाडौं । दशैँका लागि नेपाल राष्ट्र बैंकले सुकिला नोट सटही शुरु गरेपनि नोट सटहीमा सर्वसाधरणको चासो कम छ । राजनीतिक संक्रमणको अवस्थाका कारण पनि नोट सटहीमा चहलपहल कम देखिएको हो । विगतको दशैँहरुमा नयाँ नोट सटहीको लागि सर्वसाधरणको भीड लाग्ने गर्दथ्यो । नेपाल राष्ट्र बैंकले आईतवारदेखि सुकिला नोट वितरण गर्न शुरु गरेको छ । असोज १० गतेसम्म सुकिला नोट वितरण गर्ने राष्ट्र बैकले जनाएको छ । राष्ट्र बैंकले प्रति प्याकेट १८ हजार पाँच सय रुपियाँको सुकिला नोट वितरण गर्ने व्यवस्था मिलाएको छ । थापाथलीस्थित नेपाल राष्ट्र बैंक, राष्ट्र बैंकका प्रदेश कार्यालयहरुबाट सुकिला नोट वितरण भइरहेको छ । राष्ट्र बैकले अन्य बैंक तथा वित्तीय संस्थाहरुबाट समेत सुकिला नोट वितरण गर्ने व्यवस्था मिलाएको छ । सर्वसाधारणले आफ्नो खाता रहेको बैंक वा पायक पर्ने नजिकको बैंक तथा वित्तीय संस्था वा नेपाल राष्ट्र बैंकमा गएर नोट सटही गर्नसक्ने राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ । यसअघि राष्ट्र बैंकले दशैका लागी भनेर नयाँ नोट छाप्ने गरेको थियो तर गत वर्षदेखि भने खर्च व्यवस्थापनको लागी भन्दै नयाँ नोटलाई बन्द गरेको हो । यस पटक पाँच रुपैयाँ दरको नोट भने नयाँ वितरण हुने राष्ट्र बैकले जनाएको छ । राष्ट्र बैकले झुत्रा, जलेका तथा दाबी नोटहरु भने दशैँ पछाडी मात्रै वितरण गरिने जानकारी दिएको छ ।