बीमा कम्पनीमा २० अर्ब ७० करोडभन्दा बढीको बीमा दाबी, सबैभन्दा धेरै ओरिएन्टलमा
काठमाडौं । जेनजी आन्दोलको क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा भएको क्षतिबाट २० अर्ब ७० करोड रुपैयाँभन्दा बढी दाबी परेको छ । प्राधिकरणले सार्वजनिक गरेको भाद्र ३१ गतेसम्मको प्रारम्भिक तथ्यांकअनुसार १४ निर्जीवन बीमक र ४ लघु निर्जीवन बीमा कम्पनीमा २० अर्ब ७० करोड ३८ लाख १४ हजार रुपैयाँको दाबी परेको छ । प्राधिकरणका अनुसार १८ वटा बीमा कम्पनीमा १ हजार ८८४ वटा दाबी परेको छ । तथ्यांकअनुसार सबैभन्दा धेरै दाबी दाबी ओरिएन्टल इन्स्योरेन्समा परेको छ । भाद्र ३१ गतेसम्म ओरिएन्टल इन्स्योरेन्समा ५ अर्ब १४ करोड ७९ लाख रुपैयाँको ४० वटा दाबी परेको छ । दोस्रो धेरै दाबी पर्ने कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी रहेको छ । उक्त कम्पनीमा ४ अर्ब ९३ करोड २२ लाख रुपैयाँ बराबरको २५८ वटा दाबी परेको छ । त्यस्तै तेस्रोमा शिखर इन्स्योरेन्स रहेको छ । शिखरमा २ अर्ब ३९ करोड ४ लाख रुपैयाँ बीमा दाबी परेको छ । उक्त कम्पनीमा ३६६ वटा दाबी परेको प्राधिकरणले जनाएको छ। प्राधिकरणको तथ्यांकअनुसार आइजीआई प्रुडेन्सियल इन्स्योरेन्समा १ अर्ब ५९ करोड ६ लाख रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा १ अर्ब ४७ करोड ५५ लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्समा १ अर्ब १५ करोड ६२ लाख रुपैयाँ, नेको इन्स्योरेन्समा १ अर्ब ९ करोड ५३ लाख रुपैयाँ बराबरको दाबी परेको छ । त्यस्तै, सानिमा जीआईसी इन्स्योरेन्समा ७८ करोड ९३ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीमा ४९ करोड ५१ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्समा ४८ करोड ७४ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्समा ४६ करोड ९४ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्समा ३८ करोड ५८ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्समा १९ करोड १८ लाख रुपैयाँ र नेसनल इन्स्योरेन्समा ६ करोड ८२ लाख रुपैयाँबराबरको बीमा दाबी परेको छ । लघु निर्जीवन बीमा कम्पनीहरूमध्ये सबैभन्दा धेरै प्रोटेक्टिभ माइक्रोमा १ करोड १३ लाख रुपैयाँ दाबी परेको छ । त्यस्तै, स्टार माइक्रोमा ६७ लाख ७ हजार रुपैयाँ, नेपाल माइक्रोमा ५६ लाख ३६ हजार रुपैयाँ र ट्रस्ट माइक्रोमा ४२ लाख रुपैयाँबराबरको बीमा दाबी परेको प्राधिकरणको तथ्यांक छ ।
अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
काठमाडौं । अधिक तरलता कायमै रहेपछि नेपाल राष्ट्र बैंकले बिहीबार ९० अर्ब निक्षेप खिच्दैछ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप ७२ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ । निक्षेप चुलिँदा आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ र ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८२ असोज १२ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ । खासगरी केन्द्रिय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधि अनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकता अनुसार कुनैपनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ । यही व्यवस्था टेकेर केन्द्रिय बैंकले पटकपटक निक्षेप संकलन उकरण प्रयोग गर्दै आएको छ ।
अरुण भ्याली हाइड्रोपावरको लाभांश घोषणा
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले गत असार मसान्तसम्म कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । लाभांश वितरणको प्रस्ताव असोज १ गते बसेको सञ्चालक समितिको बैठकले पारित गरेको हो । कम्पनीका अनुसार सो लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिनेछ ।