ग्लोबल आइएमईद्वारा बागलुङमा वित्तीय साक्षरता कार्यक्रम र विद्यालयलाई डिजिटल बोर्ड प्रदान

काठमाडौं । ग्लोबल आइएमई क्यापिटलले बागलुङ जिल्लाको बलेवास्थित त्रिभुवन माध्यमिक विद्यालयमा असोज ३१ गते धितोपत्र बजार, पूँजी बजार तथा लगानी सम्बन्धी विषयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा ग्लोबल आइएमई क्यापिटलका कम्पनी सचिव छविलाल शर्मा पौडेलले पूँजी बजारका विभिन्न पक्षहरूबारे जानकारीमूलक प्रस्तुति दिए । सोही अवसरमा क्यापिटलले आफ्ना संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयको शिक्षण–सिकाइ प्रक्रियालाई प्रविधिमैत्री बनाउन सहयोगस्वरूप डिजिटल बोर्ड हस्तान्तरण गरेको हो । कार्यक्रमका प्रमुख अतिथि तथा ग्लोबल आइएमई क्यापिटलका सञ्चालक एवं नेपाल सरकारका पूर्व सहसचिव शालिग्राम शर्मा पौडेलले यस्तो साक्षरता कार्यक्रमले विद्यार्थी र स्थानीय बासिन्दामा पूँजी बजारप्रति आधारभूत ज्ञान र लगानी चेतना बढाउने विश्वास व्यक्त गरे । उनले विद्यालयमा प्रदान गरिएको डिजिटल बोर्डले कक्षाकोठा शिक्षणलाई आधुनिक र आकर्षक बनाउने उल्लेख गरे । बागलुङ नगरपालिका–१३ का वडाध्यक्ष नारायण शर्मा पौडेलले यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई सेयर बजारबारे प्रारम्भिक ज्ञान दिनुको साथै प्राथमिक बजारमा लगानी गर्न उत्प्रेरित गर्ने बताए । उनले विद्यालयमा प्रविधिमैत्री शिक्षण सामाग्री उपलब्ध गराएकोमा ग्लोबल आइएमई क्यापिटलप्रति आभार व्यक्त गरे । कार्यक्रमका अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. रामबहादुर केसीले विद्यालय, शिक्षक, विद्यार्थी र समुदायबीचको सहकार्यमा क्यापिटलले गरेको सहयोगलाई सराहना गर्दै धन्यवाद ज्ञापन गरे । विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद पौडेलले क्यापिटलको यो योगदानले शिक्षण–सिकाइलाई आधुनिक र गुणस्तरीय बनाउन टेवा पुर्‍याउने बताए । कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, स्थानीय प्रतिनिधि, व्यवसायी तथा ग्लोबल आइएमई बैंक लिमिटेडका कर्मचारीहरूको उल्लेखनीय सहभागिता थियो । ग्लोबल आइएमई क्यापिटलले यस्ता वित्तीय साक्षरता कार्यक्रमहरू ग्रामीण क्षेत्रमा समेत विस्तार गर्दै पूँजी बजारप्रतिको पहुँच र लगानी चेतना अभिवृद्धि गर्न निरन्तर प्रयासरत रहेको जनाएको छ ।

आत्मनिर्भर लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट, १६३ कम्पनीको मूल्य बढ्यो

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६ अंकले बढेर २५०३ बिन्दुमा पुगेको छ ।  आज १६३ कम्पनीको मूल्य बढ्दा ७८ कम्पनीको मूल्य घटेको छ । ८ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आइतबार ३२३ कम्पनीको ६१ लाख कित्ता सेयर किनबेच हुँदा २ अर्ब ७९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्सको भएको छ । नेपाल रियन्स्योरेन्सको २८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, हिमालयन डिस्टीलरीको २५ करोड, युनियन हाइड्रोपावरको १६ करोड र सीइडीबी होल्डीङसको ९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज आत्मनिर्भर लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । आइतबार विकास बैंक समूह ०.२१, म्युचुअल फण्ड ०.१३ र निर्जीवन बिमा समूह ०.३४ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।      बैंकिङ ०.८७, वित्त ०.५१, होटल तथा पर्यटन ०.७२, जलविद्युत् ०.७०, लगानी ०.७५, जीवन बिमा ०.३३, उत्पादन तथा प्रशोधन ०.९०, लघुवित्त ०.४७, व्यापार ०.९० र अन्य समूह १.१६ प्रतिशतले बढेको छ ।  

सिटिजन लाइफ इन्स्योरेन्स नवौँ वर्षमा प्रवेश, ५० भन्दा बढी सामाजिक गतिविधि सम्पन्न

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी आठौँ वर्ष पुरा भएर नवौँ वर्षमा प्रवेश गरेको छ । जीवन बीमा सेवालाई हरेक नेपालीको पहुँचमा पुर्याउने उद्देश्यले स्थापना भएको सिटिजन लाइफ नवौँ वर्षमा प्रवेश गरेको हो ।  इन्स्योरेन्सले वार्षिकोत्सव देशभरका शाखा कार्यालयहरूमा विभिन्न सामाजिक उत्तरदायित्व गतिविधिहरूका साथ मनाउँदैछ छ । सिटिजन लाइफले यस वर्ष पनि वार्षिकोत्सवको अवसरमा स्थानीय समुदायसँग नजिकिएर सकारात्मक प्रभाव पार्ने कार्यक्रमहरू सञ्चालन गरेको छ । वार्षिकोत्सवको मुख्य विषयवस्तुका रूपमा कम्पनीले यस वर्ष 'विविधता र समावेशीकरण दिवस' मनाएको छ । यसअन्तर्गत सबै शाखा कार्यालयका कर्मचारीहरूले आफ्ना सांस्कृतिक पहिचान झल्काउने भेषभूषा र परम्परालाई प्रस्तुत गर्दै कार्यस्थलमा एकता, सद्भाव र परस्पर सम्मानको सन्देश प्रवाह गरेका छन् । यसले सिटिजन परिवारभित्रको सांस्कृतिक समृद्धि र सहअस्तित्वलाई अझ सुदृढ बनाएको कम्पनीले जनाएको छ । समाजप्रतिको उत्तरदायित्वलाई व्यवहारमा उतार्दै कम्पनीले यस वर्ष देशभर १६ स्थानमा रक्तदान कार्यक्रम, ६ स्थानमा बीमा सचेतना र्याली र घर–घरमा बीमा जानकारी अभियान, ३ स्थानमा सरसफाइ तथा डस्टबिन हस्तान्तरण कार्यक्रम, ११ स्थानमा अनाथ बालबालिकालाई शैक्षिक सामग्री वितरण, १ स्थानमा निःशुल्क स्वास्थ्य शिविर, १० स्थानमा विपन्न बालबालिकालाई न्यानो कपडा वितरण, र ७ स्थानमा ३५० बिरुवा रोपण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृतले भने, 'हाम्रो आठौं वार्षिकोत्सव केवल उत्सव होइन, समाजसँगको सम्बन्ध पुनः पुष्टि गर्ने अवसर हो । हामी विश्वास, विविधता र सामाजिक उत्तरदायित्वका माध्यमबाट बीमा सेवा विस्तार गर्दै सुरक्षित जीवन र समृद्ध भविष्यको लक्ष्यतर्फ दृढतापूर्वक अघि बढिरहेका छौँ ।' विगत आठ वर्षको यात्रामा सिटिजन लाइफले ग्राहकको विश्वास, साझेदारहरूको साथ र कर्मचारीहरूको समर्पणलाई आफ्नो सबलता मानेर बीमा सेवाको पहुँच विस्तार, डिजिटल सुधार र सामाजिक दायित्वका कार्यक्रमहरूलाई निरन्तर अघि बढाउँदै आएको छ। कम्पनीले आगामी दिनहरूमा पनि बीमा सचेतना, स्वास्थ्य, शिक्षा, वातावरण र समावेशी विकासका क्षेत्रमा निरन्तर योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। सिटिजन लाइफले ग्राहक, व्यवसायिक साझेदार, सञ्चारकर्मी, सेयरधनी, सञ्चालक समिति, सद्भावना दूत, नियमनकारी निकाय र कर्मचारीहरू प्रति हार्दिक कृतज्ञता प्रकट गरेको छ । कम्पनीले आगामी दिनहरूमा सेवालाई समयानुकूल परिमार्जन गर्दै थप उत्कृष्ट बनाउन, प्रचलित कानुन तथा नियमनको पालना गर्दै संस्थागत सुशासनका साथ व्यवसायिक उपलब्धि हासिल गर्ने प्रतिबद्धता जनाएको छ । यस अवसरमा कम्पनीले दिपावली, नेपाल संवत् र छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपालीहरूका सुस्वास्थ्य, दीर्घायु र समृद्ध जीवनको शुभकामना पनि व्यक्त गरेको छ ।