लगानी कोषका अध्यक्ष रामचन्द्र भट्टराईद्धारा पदबहाली
काठमाडौं । नागरिक लगानी कोषका अध्यक्ष डा.रामचन्द्र भट्टराईले शुक्रबार पदबहाली गरेका छन् । कोष संचालक डा.रामशरण खरेलले डा भट्टराईलाई पद तथा गोपनियताको शपथ गराएका थिए । डा.भट्टराईलाई २१ असोजको मन्त्रिपरिषदको बैठकले कोष अध्यक्षमा नियुक्त गरेको थियो । ‘इन्भाइरोमेन्ट इकोनोमिक्स’ मा विद्याबारिधी गरेका भट्टराईले हाल त्रिभुवन विश्वविद्यालय अन्तर्गत पाटन बहुमुखी क्याम्पसमा सुक्ष्म र बृहत अर्थशास्त्रको अध्यापन गराउदै आएका छन् । खोटाङ लामिडाडाँमा जन्मेका भट्टराईसंग राष्ट्रिय बाणिज्य बैकको संचालक, राष्ट्रिय योजना आयोगमा सल्लाहकार, अर्थमन्त्रालयमा वरिष्ठ आर्थिक सल्लाहकारको रुपमा लामो समय काम गरिसकेको अनुभव छ । साथै, उनीसंग नेपाल राष्ट्र बैक, न्याय सेवा तथा कृषि क्षेत्रमा काम गरेको पनि अनुभव रहेको छ ।
सानिमा लाईफ इन्स्योरेन्सले एकैदिन खोल्यो तीन नयाँ शाखा
काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडले एकैदिन तीन नयाँ शाखा सञ्चालनमा ल्याएको छ । इन्स्योरेन्सले बिहीबार चावहिलकोे चुच्चेपाटी, कोटेश्वरको तिनकुने र काठमाडौंको सुन्धारामा शाखा उद्घाटन गरी सञ्चालनमा ल्याएको हो । कम्पनीका संचालक घनश्याम थापा, जीवा लामिछाने र सदभावना दुत कलाकार स्वस्तिमा खड्काले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका हुन् । कम्पनीले आफ्नो व्यवसायिक लक्ष्य प्राप्तीका लागि देशभरी शाखा सञ्जाल विस्तार गर्ने उद्देश्यले उक्त स्थानमा थप कार्यालय विस्तार गरेको हो ।
७ तल्ले अत्याधुनिक भवन बनाउँदै बीमा समिति, ८० करोड लागत
काठमाडौं । नियामक निकायमध्ये सबै भन्दा अत्याधुनिक भवन बीमा समितिले बनाउने भएको छ । समितिले ८० करोडको लागतमा ७ तले अत्याधुनिक भवन निर्माण गर्न लागेको हो । सो भवन बिभिन्न नियामक निकायहरु बस्दै आएको हालसम्मकै अत्याधुनिक हुनेछ । कुपण्डोलस्थिल समितिको वर्तमान भवनको पछाडी समितिको नयाँ भवन निर्माण हुनेछ । त्रिभुवन विश्वविद्यालयको इञ्जिनियरिङ संस्थानको कन्सल्टेन्सी सर्भिसेजले बीमा समितिको नयाँ भवनको डिजाइन तयार पारेको हो । एक तल्ला अण्डर ग्राउण्ड पार्किङ, भुई तल्लामा क्याण्टिनका साथै तालिम हल, पहिलो तल्लामा अन्तराष्ट्रियस्तरको सम्मेलन स्थल र दोश्रो देखि छैठौं तल्लासम्म समितिको कार्यालय रहनेछ । सातौ तल्लामा भने बीमा क्षेत्रमा काम गर्ने स्वदेशी तथा विदेशी कन्सल्टेन्सीहरुका लागि छुट्याइनेछ । बीमा समितिका निमिक्त कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार ललितपुर महानगरपालिकामा नक्सा पासका लागि पठाईको छ । नक्सा पास भए लगत्तै विद्युतिय ठेक्का( ई बिडिङ) गरिनेछ । ३ रोपनी क्षेत्रफलमा बन्ने भवन आगामी साढे ३ बर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य तय भएको छ । समितिको नयाँ भवन ४६८६.३२ वर्गमिटर क्षेत्रफलको हुनेछ । समितिले केहि बर्ष अघि नेपाल बैंकसँग ४८ करोड रुपैंयाँमा ९ रोपानी जमिन खरिद गरेको थियो । सोही जमिनको ३ रोपनीमा नयाँ भवन बन्नेछ । नयाँ भवन निर्माण भएपछि नियामक निकायहरुमध्ये समिति सबै भन्दा अत्याधुनिक भवनमा सर्नेछ ।