नेपाल फाइनान्सको सीईओमा उद्धवराज थपलिया नियुक्त, १५ बर्षको बैकिङ्ग अनुभव
काठमाडौं । नेपाल फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा उद्धवराज थपलिया नियुक्त भएका छन् । थपलियाले कात्र्तिक ७ गते बुधवारबाटै कार्यभार पनि सम्हालि सकेका छन् । पांचखाल नगरपालिका काभ्रे स्थायी घर भएका थपलिया लामो समय किष्ट बैंक र प्रभु बैंकमा शाखा प्रबन्धक भइ कार्य गरेका थिए । उनको विभिन्न बैंक तथा वित्तीय संस्थामा समेत गरी करिब १५ बर्षको बैकिङ्ग अनुभव रहेको छ । बेष्ट फाइनान्स (तत्कालिन जनरल फाइनान्स) लाई जापान लगायतका एनआरएनहरुको समुहले खरिद गरी समस्याग्रस्त अवस्थाबाट साधारण अवस्थामा फर्काउने योजना नेपाल राष्ट्र बैंकमा पेश गरे पछि थपलिया जनरल फाइनान्समा वरिष्ठ व्यवस्थापकको रुपमा प्रवेश गरेका थिए । जनरल फाइनान्सको नाम परिवर्तन गरी वेष्ट फाइनान्सको नामबाट कारोवार गर्न, नेपाल राष्ट्र बैंकबाट समस्याग्रस्त अवस्थाबाट साधारण अवस्थामा कम्पनिलाई फर्काउन र बेष्ट फाइनान्सले सिनर्जी फाइनान्सलाई प्राप्ति गरी बेष्ट फाइनान्सको नामबाट कारोवार गर्न आवश्यक पर्ने कार्य गर्न उन्ले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । थपलियाले वेष्ट फाइनान्स कम्पनीले गत साउनमा सिनर्जी फाइनान्सलाई प्राप्ति गर्नु अघिसम्म करिब ६ महिना वेष्ट फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत भइ कार्य समेत गरेका थिए । नेपालको पहिलो फाइनान्स कम्पनी नेपाल फाइनान्स अहिले समस्याग्रस्त अवस्थामा छ । नेपाल राष्ट्र बैंकले तत्कालिन संचालक समितिलाई भंग गरी समस्याग्रस्त संस्था व्यवस्थापन महाशाखाका निर्देशकको संयोजक्त्वमा संचालक समिति गठन गरी संस्थालाई नियन्त्रणमा लिएको थियो । तत्कालिन योजना आयोगका सदस्य प्रा. डा. हिरेन्द्रमान प्रधानको समुहले उक्त फाइनान्सको अधिकांश शेयर खरिद गरी थप पूंजी पनि जम्मा गरे पछि नेपाल राष्ट्र बैंकले प्रा. डा. हिरेन्द्रमान प्रधानको अध्यक्षतामा नयां संचालक समिति गठन गरी फाइनान्स कम्पनी व्यवस्थापन गर्ने जिम्मा लगाइ नेपाल राष्ट्र बैंक संचालक समितिबाट बाहिरीसकेको छ । समस्याग्रत हुँदा करिब ४ प्रतिशतले ऋणात्मक रहेको पुँजीकोष नयां लगानीकर्ताले थप पुँजी राखेपछि अहिले करिब २५ प्रतिशत पुगिसकेको छ । साथै, नेपाल राष्ट्र बैंकले तोकेका मापदण्ड पूरा गरी नेपाल फाइनान्सले साधारण अवस्थामा फर्की नियमित कारोवार गर्न नेपाल राष्ट्र बैंकमा कार्य योजना बुझाइसकेको छ ।
अब सिभिल बैंकबाटै यूनियन लाईफको इन्स्योरेन्स सेवा पाइने
काठमाडौं । सिभिल बैंक लिमिटेडले जीवन बीमा सेवालाई विस्तार गर्ने उद्देश्यले यूनियन नेपाल लाईफ इन्स्योरेन्ससंग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र यूनियन नेपाल लाईफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले हस्ताक्षर गरेका छन् । अब यूनियन नेपाल लाईफ इन्स्योरेन्सका जीवन बीमा सेवा सिभिल बैंकका जुनसुकै शाखाबाट पाइने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।
नेशनल लाईफको हकप्रद सेयर लिलामीमा, कात्तिक २८ गते अन्तिम दिन
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बिक्री नभएको हकप्रद सेयर लिलामी हुने भएको छ । कम्पनीको २ लाख ७८ हजार ११९ कित्ता हकप्रद सेयर लिलामी हुन लागेको हो । हकप्रद सेयर लिलामीका लागि बोलपत्र पेश कात्तिक १५ देखि सुरु भई २८ गतेसम्म तोकिएको निष्कासन तथा बिक्री प्रवन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ । बोलपत्रदाताले न्युनतम १०० कित्ता हकप्रदका लागि प्रस्ताव पेश गर्नुपर्ने छ ।