२५ प्रतिशत बोनस पछि नेपाल लाइफ इन्स्योरेन्सको मूल्य समायोजन, प्रतिकित्ता कति ?
काठमाडौं । बिहीबार नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको २५ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको हो । मूल्य समायोजन पछि संस्थाको सेयर मूल्य प्रतिकित्ता १०१६.८० रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता १३५०.९० रुपैयाँ तोकिएको छ । मूल्य समायोजन भएपछिको बिहीबारको बजारमा संस्थाको सेयर मूल्य प्रतिकित्ता २१ रुपैयाँले घटेको छ । सो दिन करिब १२ बजेतिर कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९९५ रुपैयाँमा झरेको छ ।
गोर्खाज फाइनान्सको नाफा ६ करोड ३५ लाख
काठमाडौं । गोर्खाज फाइनान्सले चैच मसान्तसम्म ६ करोड ३५ लाख रुपैंया नाफा कमाएको छ । फाइनान्सले साउनदेखि चैतसम्मको उक्त अवधिमा सो आकारको नाफा कमाएको हो । गोर्खाजको उक्त नाफामा गैरसञ्चालन खर्च र प्रोभिजनको राइजब्याकको मुख्य भूमिका छ । कुल ५ अर्ब ८२ करोड रुपैंया निक्षेप र ५ अर्ब १५ करोड रुपैंया कर्जा प्रवाह गरेको फाइनान्सले अघिल्लो वर्षको सञ्चालन घाटाको अवस्थामा करिब ९५ प्रतिशत सुधार ल्याएको छ । फाइनान्सको ८६ करोड रुपैंया चुक्ता पुँजी भएको फाइनान्सको उक्त निक्षेप र कर्जाको आधारमा सीसीडी अनुपात ७४.७२ प्रतिशत छ । फाइनान्सको कस्ट अफ फण्ड ९.७० रहँदा आधार ब्याजदर १२.८० प्रतिशत कायम भएको छ । यसको स्प्रेडदर ४.८७ प्रतिशत छ ।
३६ प्रतिशत वृद्धि हुँदा कुमारीको नाफा १०० करोड नाघ्यो, सूचकहरुमा सामान्य सुधार
काठमाडौं । कुमारी बैंकको ९ महिनाको नाफा १०० करोड नाघेको छ । बैंकले चालु आर्थिक वर्षको नाफा १ अर्ब ३२ लाख रुपैंया पुर्याएको हो । यो नाफा अघिल्लो वर्षको सोही समयको तुलनामा करिब ३६ प्रतिशत बढी हो । नाफामा वृद्धिसँगै बैंकको अन्य वित्तीय परिसूचकहरुमा पनि सन्तुलित सुधार आएको छ । रिजर्भको आकार ३७ करोडले बढेर २ अर्ब १६ करोड पुगेको हो । त्यस्तै, बैंकको अवितरित नाफाको आकार १ अर्ब ५२ करोडबाट बढेर २ अर्ब १३ करोड पुर्याएको छ यसमध्ये चालु आर्थिक वर्षमै करिब ८५ करोडको बोनस शेयर वितरण हुनेछ । बैंकले कस्ट अफ फण्डलाई अघिल्लो वर्षभन्दा ३८ बेसप्वाइन्टले कमी ल्याई ८.२९ प्रतिशतमा झार्दा आधार ब्याजदर ११.०२ प्रतिशतमा झरेको छ यो अघिल्लो वर्ष भन्दा ६० बेसप्वाइन्ट कम हो । कस्ट अफ फण्डमा आएको कमीले बैंकको स्प्रेडदर ३.२० बाट बढेर ३.६१ प्रतिशत पुगेको छ । बैंकले चैत मसान्तसम्म ६८ अर्ब ८२ करोड निक्षेप संकलन गरी ६९ अर्ब ६० करोड रुपैंया कर्जा प्रवाह गर्दा सीसीडी रेसियो ७८.५९ प्रतिशत रहेको देखिएको छ । पुँजी पर्याप्तता अनुपात १२.७३ प्रतिशतको कसिलो अवस्थामा रहेको बैंकको ८५ करोडको बोनस वितरणपछि यो दर खुकुलो हुनेछ भने सीसीडी अनुपातमा पनि केही सुधार आउनेछ । तर निक्षेप संकलन भन्दा कर्जा विस्तार बढी हुने अवस्था सुधार्ने चुनौती भने बैंकलाई छ । बैंकको निष्क्रिय कर्जा अनुपात भने अघिल्लो वर्षको तुलनामा बढेर १.२४ प्रतिशतबाट १.४१ प्रतिशत पुगेको छ ।