सगरमाथा इन्स्योरेन्सले ८६ प्रतिशत बोनस दिने, एनएफआरएस लागू गर्नेमा निर्जीवनतर्फ पहिलाे

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई ८६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेकाे छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट हाल कायम भएको चुक्ता पुँजीको सो मात्राको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ५३ करोड ८२ लाख रुपैयाँ रहेको छ । ८६ प्रतिशत बोनस सेयरपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब  १२ लाख २२ हजार ९३४ रुपैयाँ हुनेछ । उक्त बोनस दिने प्रस्ताव वैशाख २६ गते बसेको कम्पनीको संचालक समितिको बैठकले गरेको हो । बाेनसमा लाग्ने कर भने सेयरधनीले बेहाेर्नु पर्नेछ । बैठकको प्रस्तावलाई बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । सभाले पारित गरेपछि मात्रै सेयरधनीलाई सो मात्राको लाभांश वितरण गरिने छ । एनएफआरएस लागू भएपछि निर्जीवनतर्फ सगरमाथा इन्याेरेन्स कम्पनीले पहिलाे पटक लेखापरिक्षण सम्पन्न गरी बीमा समितिमा प्रतिवेदन पेश गरेकाे छ । बीमा समितिबाट स्वीकृतपछि कम्पनीले साधारणसभा बाेलाउनेछ । बाेनस सेयर दिएर पुँजी १ अर्ब पुर्याउने कम्पनीकाे पूर्व याेजनाअनुसार कम्पनी अगाडि बढ्न सफल भएकाे छ । कम्पनीले अघिल्लाे वर्षकाे नाफा पनि संचित गरी राखेकाे थियाे । उच्चदरकाे लाभांश पाउने भएपछि कम्पनीकाे सेयर मूल्यमा केही वृद्धि देखिएकाे छ । विहीबार यस कम्पनीकाे सेयर प्रतिकित्ता १५३० रूपैयाँमा काराेबार भएकाे छ । निर्जीवन बीमा कम्पनी मध्ये हाल सगरमाथा इन्स्याेरेन्स कम्पनीकाे सेयर मूल्य सबैभन्दा बढी छ । विगत एक वर्षमा कम्पनीकाे सेयर मूल्य न्युनतम १२३१ रूपैयाँ भएकाे छ भने अधिकतम १५३० रूपैयाँ भएकाे छ ।

हिमालयन बैंकको नाफा २ अर्ब माथि, रिजर्भ ६७ करोडले बढ्याे

काठमाडौं । हिमालयन बैंक लिमिटेडको नाफा २ अर्ब नाघेको छ । चालु आर्थिक वर्षको ९ महिनामा बैंकको नाफा ९.६ प्रतिशतल बढेर सो आकारमा पुगेको हो । एक वर्षको अवधिमा १० अर्ब निक्षेप र ९ अर्ब कर्जा प्रवाह गरेको हिमालयनले उक्त अवधिमा खुद ब्याज आम्दानी ५५ करोड रुपैंयाले बढाएको देखिएको छ । ८ अर्ब ५२ करोड चुक्ता पुँजी भएको बैंकले एक वर्षको अवधिमा रिजर्भको आकार करिब ६७ करोड रुपैंयाले बढाएर ५ अर्ब १९ करोड पुर्याएको छ । उक्त अवधिमा बैंकको निष्क्रिय कर्जा अनुपात बढेको छ भने कस्ट अफ फण्ड पनि बढेको छ तर बेसरेटमा भने बैंकले ३२ बेसप्वाइनटको सुधार ल्याउँदा ९.१० प्रतिशत कायम भएको छ । बैंकले ब्याजको स्प्रेडदर ४.५० प्रतिशत कायम गरेको छ । असार मसान्तसम्म उक्त लक्ष्य भेट्टाउनुपर्नेमा हिमालयनले यो दर चैत मसान्तमै ४.५ प्रतिशतमा सीमित गर्न सफल भएको हो ।

सिन्धु विकास बैंकबाट युनाइटेड इन्स्योरेन्सको बीमा सेवा पाइने

काठमाडौँ । सिन्धु बिकास बैंक लिमिटेड र युनाइटेड इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सेवा सम्वन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशप्रसाद जोशी र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरेका छन् । सम्झौताबाट सिन्धु बिकास बैंकका सम्पूर्ण ग्राहकहरुले युनाइटेड इन्स्योरेन्सका बीमालेखहरु लिन, बीमा शुल्क भुक्तानी गर्न तथा बीमा दाबी भुक्तानी सहितका सम्पूर्ण सुविधाहरु सिन्धु बिकास बैंकका शाखाहरु मार्फत प्राप्त गर्न सक्नेछन् ।