स्प्रेडदर गणनाको रिजर्भेसनले बैंकरहरु नै अप्ठ्यारोमा, बैंकर र राष्ट्र बैंकबीच कुुरा बाझियो

काठमाडौं । स्प्रेडदर गणनामा राष्ट्र बैंकसँगको अडानले बैंकहरु आफैं अप्ठ्यारोमा परेका छन् । स्प्रेडदर गणनासम्बन्धी यही अन्याेलताका कारण बैंकहरुले चालु आर्थिक वर्ष सकिएको पहिलो त्रैमासको १५ दिन बितिसक्दा समेत वित्तीय विवरण प्रकाशन गर्न सकिरहेका छैनन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको लागि ल्याएको मौद्रिक नीतिमार्फत् बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपमा दिने ब्याज र कर्जामा लिने ब्याजको अन्तर गणना गर्ने विधि संशोधन गरेपछि बैंकरहरुले त्यसमा आफ्नो रिजर्भेसन राख्दै नेपाल राष्ट्र बैंकलाई मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत् त्यसलाई सच्याउन माग गर्दै आएका थिए । तर, राष्ट्र बैंकले त्रैमासिक समीक्षा आउनुअघि नै बैंकहरुले त्रैमासिक रिपोर्ट सार्वजनिक गर्नुपर्ने भएकोले सो रिपोर्टमा कुन विधिअनुसार स्प्रेडदर गणना गर्ने भन्ने अन्याेलता बैंकरहरुमा छ । ‘आफ्नो अडानलाई कायम राखेर पुरानो विधिअनुसार स्प्रेडदर निकाल्दा राष्ट्र बैंकलाई नटेरेको जस्तो हुने देखियो, राष्ट्र बैंकको निर्देशनअनुसार नयाँ विधिअनुसार गणना गरौं भने बैंकहरुले आफ्नो असहमति छाडेको जस्तो देखिन्छ, यो अवस्थामा कुन विकल्प रोज्ने भन्ने अन्याेल भयो’ एकजना बैंकरले भने – ‘धेरै बैंकहरुले जे गर्छन्, त्यहीलाई फलो गर्ने योजना छ, रिपोर्ट लगभग तयार भएर पनि प्रकाशन गर्न त्यसैले अहिले ढिला भइरहेको हो ।’ तर नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुंगानाले भने राष्ट्र बैंकको यो निर्देशन अर्को असारदेखि लागु हुने भन्दै अहिलेको अवस्थामा बैंकहरुले पूरानै विधिअनुसार स्प्रेडदर गणना गर्ने बताए । ‘तपाइँहरुले बुझ्नुपर्ने कुरा के हो भने राष्ट्र बैंकको यो निर्देशन लागु हुने अर्को असारदेखि हो, अहिले होइन, त्यसैले हामीले नयाँ विधि लागु गर्ने भन्ने हुँदैन, पुरानै विधिअनुसार स्प्रेडदर गणना गरेर प्रकाशन गर्छौं ।’ – विकासन्यूजसँग संक्षिप्त प्रतिक्रिया दिँदै ढुंगानाले भने । तर नेपाल राष्ट्र बैंकले भने बैंकहरुलाई नयाँ स्प्रेडदर गणना विधिअनुसार स्प्रेडदरलाई ४.४ प्रतिशतमा झार्ने समय असार मसान्तसम्म रहे पनि बैंकहरुले पहिलाे त्रैमासबाटै स्प्रेडदरको गणना नयाँ विधि अनुसार  गर्नुपर्ने स्पष्ट पारेको छ । नेपाल राष्ट्र बैंक नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले राष्ट्र बैंकले निर्देशन दिइसकेपछि बैंकहरुले त्यसलाई अनिवार्य रुपमा लागु गर्नुपर्ने भन्दै असार मसान्तसम्म त्यसलाई ४.४ प्रतिशतको सीमामा ल्याउने समयावधि मात्रै भएको बताए । ‘राष्ट्र बैंकले सर्कुलर गरिसकेपछि त्यो सर्कुलर तत्कालै लागु हुन्छ, स्प्रेडदर गणनामा पनि त्यही हो, बैंकहरुले अब राष्ट्र बैंकले लागु गरेको सुत्रअनुसार नै स्प्रेडदर गणना गर्नुपर्छ, माथिल्लो तहबाट अर्को निर्णय भयो भने अर्कै कुरा हो, हाम्रो तहबाट हामीले हेर्ने भनेको पछिल्लो नियम नै हो, बैंकहरुले राष्ट्र बैंकको निर्देशिकाहरुकै आधारमा अनुपातहरुको गणना गर्नुपछए’ – ढकालले विकासन्यूजसँग भने । सिटिजन्सले गर्यो ‘ब्रेक’ पहिलो त्रैमास सकिएर १५ दिन बितिसक्दा बैंक तथा वित्तीय संस्थाहरुमध्येकै एकमात्रै वित्तीय विवरण प्रकाशन गरेको सिटिजन्स बैंकले भने नयाँ गणना विधिअनुसार नै स्प्रेडदरको गणना गरेको छ । असार मसान्तमा पुरानो विधिअनुसार स्प्रेडदर निकाल्दा ३.८४ प्रतिशत रहेको बैंकको स्प्रेडदर नयाँ विधि अनुसार ४.१६ पुगेको छ । यो विधिबाट स्प्रेडदर गणना गरे पनि सो बैंकलाई अझैपनि ०.२४ प्रतिशतसम्म स्प्रेडदर बढाउने चुनौती छ । नयाँ विधिले सो बैंकलाई असर नगर्ने भएकै कारण सिटिजन्स बैंकलाई अरु बैंकहरुले ‘फलो’ गर्न सकिरहेका छैनन् । नेपाल राष्ट्र बैंकले भने आफ्नो मासिक रिपोर्टमा बैंक तथा वित्तीय संस्थाहरुको औसत स्प्रेडदर ५.१७ प्रतिशत रहेको देखाएको छ । यो दर अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ५.६० प्रतिशत रहेको थियो ।

जनसेवी लघुवित्तले कमायो एक करोड, ३०७ प्रतिशतले नाफा वृद्धि

काठमाडौं । पर्वतको कुश्मामा केन्द्रीय कार्यालय रहेको जनसेवी लघुवित्तले आव ०७६/०७७ को प्रथम त्रैमासिकमा १ करोड १८ हजार नाफा हासिल गरेको छ । गत आवको प्रथम त्रैमासिकमा रु.३२ लाख ६३ हजार नाफा आर्जन गरेको वित्तीय संस्थाले गत आवको सोही अवधिको तुलनामा ३०७ प्रतिशतले नाफामा वृद्धि गरेको प्रमुख कार्यकारी अधिकृत कमलबहादुर खत्रीले बताए । यो आवको प्रथम त्रैमासमा लगानी तर्फ रु.६९ करोड ८२ लाख तथा १८ हजार सदस्यलाई वित्तीय संस्थामा आबद्ध गराई रु.२१ करोड ३० लाख बचत रकम संकलन गर्न सफल भएको बताइएको छ । हाल २५ वटा शाखा कार्यालयहरु मार्फत कार्यक्रम विस्तार गर्दै आईरहेको यस वित्तीय संस्था कालिका लघुवित्तसंगको मर्जर प्रकृयामा लगभग अन्तिम अवस्थामा रहेको प्रमुख कार्यकारी अधिकृत खत्रीले बताए । आव ०७४/०७५ मा रु.९ करोड ८० लाख चुक्ता पुँजी रहेकोमा आव ०७५/०७६ मा सर्वसाधारणमा शेयर जारी गरी रु.४ करोड ४३ लाख ३० हजार शेयर रकममा वृद्धि गरी हाल कुल चूक्ता पुँजी रु.१४ करोड ४३ लाख ३० हजार पुर्याएको जनाएको छ । वित्तीय संस्थाले स्थापनाको छोटो अवधिमा नै १८ हजार भन्दा बढी सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै वित्तीय सक्षमतामा आफुलाई सफल र सक्षम संस्थाको रुपमा स्थापित गराउन सफल भएको छ ।

हिमालयन क्यापिटलको शुभारम्भ: म्युचुअल फण्ड ल्याइने, पोर्टफोलियो व्यवस्थापन गर्न ८ योजना

काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडले शुक्रबारदेखि औपचारिक रुपमा कारोबार सुरु गरेको छ । हिमालयन बैंकको सहायक कम्पनीको रुपमा खुलेको हिमालयन क्यापिटलको हिमालयन बैंकको केन्द्रीय कार्यालयमा भएको एक कार्यक्रमबीच औपचारिक शुभारम्भ भएको हो । प्रारम्भिक रुपमा २० करोडको चुक्तापुँजी कायम गरेर सञ्चालनमा आएको क्यापिटलको उद्घाटन हिमालयन बैंकका अध्यक्ष मनोजबहादूर श्रेष्ठले शुक्रबार गरेका हुन् । हिमालयन बैंकका संस्थापक अध्यक्ष तथा प्रमुख सल्लाहकार हिमालयन शम्शेर जबरा, नेपाल धितोपत्र बोर्डका पदाधिकारीका अतिरिक्त हिमालयन बैंक सञ्चालक समितिका सदस्यहरु समेतको उपस्थितिमा क्यापिटलको उद्घाटन गरिएको हो । हिमालयन बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा क्यापिटलले मर्चेन्ट बैंकिङका अतिरिक्त शेयर रजिष्ट्रार, धितोपत्र निष्कासन, धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन तथा संस्थागत परामर्शको काम समेत गर्ने अनुमति पाएको छ । उद्घाटनका क्रममा अध्यक्ष श्रेष्ठले हिमालयन बैंकको २७ वर्षदेखिको विश्वासिलो र भरपर्दो सेवालाई कायम गर्दै मर्चेन्ट बैंकिङ व्यवसायमार्फत् आफ्नो सेवालाई थप विस्तारित र परिष्कृत बनाउन मर्चेन्ट बैंकिङ सेवा सुरु गरेको जानकारी दिए । उनले बैंकले सो सेवामार्फत् हिमालयन बैंकको विश्वासलाई थप बढाउँदै लाने प्रतिवद्धता समेत व्यक्त गरे । हिमालयन क्यापिटलको सञ्चालक समितिमा हिमालयन बैंकका महाप्रबन्धक सुशील जोशीलाई अध्यक्षको जिम्मेवारी दिइएको छ भने सञ्चालकहरुमा सुनिल गोर्खाली, सतीश राज जोशीलाई जिम्मेवारी दिइएको छ । प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी भने परमेश्वर पन्तलाई दिइएको छ । क्यापिटलको केन्द्रीय कार्यालय हिमालयन बैंकको ठमेल शाखा समेतर रहेको कर्मचारी सञ्चय कोषको भवनमा रहनेगरी तोकिएको छ । हिमालयन म्युचुअल फण्ड ल्याइने क्यापिटलले निकट भविष्यमै ‘हिमालयन म्युचुअल फण्ड’ नामक सामूहिक लगानी कोष सञ्चालनमा ल्याउने घोषणा समेत गरेको छ । सम्बन्धित निकायको स्वीकृति पश्चात् सो फण्ड सञ्चालनमा ल्याउने प्रमुख कार्यकारी अधिकृत पन्तले जानकारी दिए । क्यापिटलले लगानी व्यवस्थापन योजना अन्तर्गत सर्वोत्तम पोर्टफोलियो योजना, दीर्घकालीन शुभलाभ योजना, सन्तुलित प्रतिफल योजना, समृद्ध नारी प्रतिफल योजना, जेष्ठ नागरिक प्रतिफल योजना, सुनिश्चित प्रतिफल योजना, मेरो पोर्टफोलियो योजना, स्वविवेक पिएमएस जस्ता योजनाहरुसमेत सार्वजनिक गरेको छ । यी योजनाहरुमार्फत् क्यापिटलले ३ रुपैंयादेखि लाखदेखि ५० लाख रुपैंयासम्मको लगानी व्यवस्थापन गर्ने योजना योजना समेत बनाएको छ ।