गभर्नरका यी ७ आकांक्षीः च्यानल मिलाउँदै, शक्ति केन्द्र धाउँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकमा गभर्नर डा. चिरञ्जीवी नेपालको कार्यकाल चैत ५ गतेदेखि सकिँदैछ । तर साढे चार महिना पछि रिक्त हुने गभर्नर नेपालकाे उत्तराधिकारीका लागि दौडधूप शुरु भएको भइसकेको छ । गभर्नर पदका आकांक्षीहरू अर्थमन्त्री र प्रधानमन्त्रीको निकट हुन च्यानल मिलाउँदै शक्ति केन्द्र धाउन थालेका छन् । गभर्नर बन्न राष्ट्र बैंकका दुबै डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र  शिवराज श्रेष्ठले स्वभाविक कसरत गरिरहेका छन् । हाल सिनियर डेपुटी रहेका शिवाकोटी तत्कालिन एमालेको र श्रेष्ठ नेपाली काँग्रेसको कोटामा डेपुटी गभर्नर नियुक्त भएका थिए । प्रधानमन्त्रीको नजिक रहेको मानिने शिवाकोटी आफू सिनियर भएकोले गभर्नरमा छनोट हुने विश्वासमा छन् । श्रेष्ठ पनि कम्यूनिष्ट सरकार नै भएकाे बेलामा डेपुटी गभर्नर बन्न सफल भएकाेले फेरि पनि गभर्नर बन्नेमा विश्वस्त छन् । शिवाकोटी २०४४ साल चैत ७ गते राष्ट्र बैंक प्रवेश गरेका हुन् भने श्रेष्ठ २०४६ साल माघ ८ गते राष्ट्र बैंक प्रवेश गरेका हुन् । गभर्नरको बलिया दावेदारकाे रूपमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीलाइ पनि लिइन्छ ।  अधिकारी अर्थमन्त्री डा. युवराज खतिवडा र प्रमको समेत रुचाइएका पात्र  हुन् । खतिवडा गभर्नर हुँदा अधिकारी डेपुटी गभर्नर थिए । खतिवडालाई सफल गभर्नर बनाउने बलियाे हात अधिकारी नै भएकाे बताइन्छ ।  डेपुटी गभर्नरबाट अवकास पाएपछि अधिकारीलाई ओली नेतृत्वकाे सरकारले लगानी बोर्डको सीईओमा नियुक्त गरेकाे थियाे । गभर्नरको दौडमा रहेका अर्का शसक्त दावेदार हुन राष्ट्र बैंकबाट जेठमा अवकास पाएका कार्यकारी निर्देशक भिष्मराज ढुंगाना र यस अघि अवकास प्राप्त भाष्करमणि ज्ञवाली रहेका छन् । २०४६ साल जेठ २५ गते राष्ट्र बैंक प्रवेश गरेका भिष्मराज ढुंगाना २०७६ जेठ २४ गते कार्यकारी निर्देशकबाट अवकास पाएका हुन् । ढुंगाना राष्ट्र बैंकको अवकासपछि धितोपत्र बोर्डका संचालक समिति विज्ञ सदस्यमा नियुक्त भएका छन् । धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्ने प्रयोजनले ढुंगानालार्ई बोर्डमा विज्ञ सदस्यको रुपमा नियुक्त गरेपनि उनका लागि सो पद भने दोस्रो रोजाइमा परेको छ । उनको पहिलो रोजाइ राष्ट्र बैंकको गभर्नर नै हो । राष्ट्रपति विद्यादेवी भण्डारीसँग निकट सम्बन्ध रहेकाेले ढुंगानालाई बलियाे दावेदार मानिन्छ । राष्ट्र बैंकको गभर्नर पदका लागि अर्को दावेदार रहेका छन् बासुदेव अधिकारी । राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकास पाएका उनी अहिले नेपाल बैंकको अध्यक्ष पदमा रहेका छन् । इमान्दार र छिटाे निर्णय लिन सक्ने क्षमता भएकाे र प्रगतिशिल साहित्यमा निरन्तर लागेकाेले उनलाई नेकपा र  अर्थमन्त्री डा. खतिवडा सहयाेग मिल्न सक्छ । त्यस्तै अर्को दावेदारको रुपमा हाल राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठ रहेका छन् । श्रेष्ठले नेपाल बैंकमा ३० वर्ष सेवा पुरा गरेपछि आरबीबीको सीईओ बनेका हुन् । २०४३ सालमा आरबीबी प्रवेश गरेका श्रेष्ठ महाप्रबन्धकको जिम्मेवारीबाट अवकाश पाएका सफल बैंकर हुन् । राष्ट्र बैंकको गभर्नर छनोटमा अर्थमन्त्रीको विशेष भुमिका हुने भएपनि प्रधानमन्त्रीको इच्छ्याएको व्यक्ति नै गभर्नर बन्ने परम्परा छ । यस अघि डा. नेपाल छनोट प्रक्रियामा पनि यस्तै भएको थियो । तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले डा. रामशरण महतले ल्याएका तीन नामलाई लत्याएर चिरञ्जीबि नेपालको नाम थपेर ल्याउन भनेका थिए, पछि मन्त्रिपरिषद्ले नेपाललाई नै गभर्नरको रुपमा नियुक्त गरेको थियो । अहिले नेपाल कम्युनिष्ट पार्टीको सरकार छ । अर्थमन्त्री डा.युवराज खतिवडा र प्रधानमन्त्री केपी ओली दुबै एउटै छाताभित्र रहेपनि गभर्नर बन्नको लागि प्रमसँगको पहुँच बलियो हुन्छ ।

विश्व बैंकका कार्यकारी निर्देशकहरुले भने-‘उच्च आर्थिक वृद्धि हासिल गर्ने नेपाल सरकारको लक्ष्यमा सघाउँछौ’

काठमाडौँ । आर्थिक स्थायित्व कायम गर्दै उच्च आर्थिक वृद्धिदर हासिल गर्ने नेपाल सरकारको लक्ष्य प्राप्तिमा हरसम्भव सहायता उपलब्ध गराउने प्रतिबद्धता विश्व बैंकले व्यक्त गरेको छ । विश्वका आधाभन्दा बढी राष्ट्रको प्रतिनिधित्व गर्ने उक्त बैंकका १२ जना कार्यकारी निर्देशकहरूको समूहले बिहीबार अर्थमन्त्री डा. युवराज खतिवडालाई भेटेर नेपालको सामाजिक–आर्थिक विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको हो । “शीघ्र समष्टिगत आर्थिक स्थायित्व कायम गर्दै उच्च आर्थिक वृद्धिदर हासिल गर्ने सोचसहित अघि बढेको वर्तमान सरकारको लक्ष्य प्राप्तिमा सक्दो सहयोग गर्ने दृढता बैंकको उच्च प्रतिनिधिमण्डलले व्यक्त गरेको छ”, मन्त्री खतिवडाले बताए । सङ्घीयता कार्यान्वयनमा भएको उत्साप्रद प्रगति, वित्तीय सङ्घीयता बुझेको अर्थ मन्त्रालयको नेतृत्वको सराहना गर्दै प्रतिनिधिमण्डलले जनताका अपेक्षा, सेवा प्रवाहमा क्षमता अभिवृद्धिबारे अर्थमन्त्रीसँग चासो प्रकट गरेको थियो । विश्व बैंकको सहयोगबाट नेपालजस्ता देशमा परेको प्रभाव, उसले उपलब्ध गराउँदै आएको सहुलियतपूर्ण ऋणको प्रभाव, द्वन्द्व र विपद्बाट आर्थिक रुपमा धक्का झेलेका राष्ट्रको अबको अवस्था, राजनीतिक सङ्क्रमण, राज्य प्रणाली तथा सङ्घीयता कार्यान्वयनको स्थितिबारे जानकारी लिन नेपाल भ्रमणमा रहेको उक्त प्रतिनिधिमण्डलले नेपाललाई सहायताको उच्च प्राथमिकतामा राखेको अवगत गराएको थियो । प्रतिनिधिमण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्न नपाए पनि अर्थमन्त्रीमार्फत बैंकको सहयोग निरन्तर रहने सन्देश प्रधानमन्त्रीसमक्ष प्रवाह गर्न आफूलाई अनुरोध गरेको मन्त्री खतिवडाले बताए ।

भदौ महिनासम्म ९ वाणिज्य बैंक घाटामा, त्रैमासिक रिपाेर्ट कस्ताे आउला ?

काठमाडौं । भदाै महिनासम्म ९ ओटा बैंक घाटामा रहेको पाइएकाे छ । नेपाल राष्ट्र बैंककाे तथ्यांक अनुसार हाल सञ्चालनमा रहेका २८ ओटा वाणिज्य बैंकहरुमध्ये साे संख्याका बैंकहरु घाटामा रहँदा बाँकी १९ बैंकहरु मात्रै नाफामा रहेकाे देखिएकाे हाे । नाफामा रहेका बैंकहरुको पनि साे अवधिकाे नाफा निकै कम देखिएको छ । दुई महिनाको यो अवधिमा राष्ट्रिय वाणिज्य बैंकले  १ अर्ब १ करोड नाफा कमाएर साे अवधिमा सबैभन्दा धेरै नाफा कमाउने बैंकको सूचीमा परेको छ । त्यस्तै, नबिल बैंकको ७५ करोड १७ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकको ७२ करोड ५ लाख, प्रभु बैंकले ६८ करोड २२ लाख रुपैंया नाफा गरेर क्रमशः दोस्रो, तेस्रो र चौथो स्थान कायम गरेका छन् । सो अवधिमा एनआईसी एशिया बैंकले एक करोड २८ लाखमात्रै नाफा कमाएको छ । त्यसबाहेक स्ट्यान्डर्ड चार्टर्ड, हिमालयन, नेपाल एसबीआई, एभरेष्ट, बैंक अफ काठमाण्डू, माछापुच्छ्रे, सिद्धार्थ, कृषि विकास, ग्लोबल आईएमई, सिटिजन्स, सनराइज, एनएमबि, मेगा र सानिमा बैंकले सो अवधिमा नाफामा रहेको विवरण पेश गरेका छन् । घाटामा जाने बैंकहरुमा भने नेपाल बैंक, नेपाल बंगलादेश बैंक, एनसीसी बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, प्राइम कमर्शियल बैंक, जनता बैंक, सिभिल बैंक र सेञ्चुरी बैंक छन् । यो अवधिमा कुमारी बैंकको सबैभन्दा धेरै ७९ करोड ६ लाख रुपैंयाँ तथा नेपाल बैंकको ७६ करोड ८३ लाख रुपैंयाँ घाटा देखिएको छ । विवरणहरु सही छन् त ? राष्ट्र बैंकको मासिक तथ्यांकमार्फत् सार्वजनिक हुने यी विवरणहरुलाई पूर्ण रुपमा सही मान्न नसकिए पनि यी तथ्यांकहरु पूर्ण रुपमा गलत भने होइनन् । नेपाल राष्ट्र बैंकले प्रत्येक बैंक तथा वित्तीय संस्थाहरुलाई विभिन्न बैंकिङ सूचनाहरुको नियमित रिपोर्टिङ गर्नुपर्ने व्यवस्था गरेको छ । यसमध्ये केही दैनिक, केही साप्ताहिक र केही मासिक विवरणहरु छन् । त्यसका लागि बैंकले त्यस्तो रिपोर्टिङ गर्ने छुट्टै अधिकारीको व्यवस्था गर्नुपर्ने प्रावधान समेत छ । उनीहरूले इन्टरनेटमा आधारित सूचना प्रविधिमार्फत् गर्ने आधिकारिक रिपोर्टिङलाई नै राष्ट्र बैंकले आफ्नो प्रकाशनको रुपमा प्रकाशित गर्ने गर्छ । नेपाल राष्ट्र बैंक नियमन विभागअन्तर्गतको नीति अनुसन्धान विश्लेषण महाशाखाका अनुसार बैंकहरुले पठाएको रिपोर्टिङलाई जस्ताको त्यस्तै प्रकाशन गर्ने मात्रै हो, त्यो पनि कम्युटराइज्ड सफ्टवेयरमार्फत् आउँछ, त्यसैले यसमा हाम्रो खासै केही भूमिका हुन्न, कुनै तथ्यांक अस्वाभाविक लाग्यो भने हामीले के भएको हो भनेर सोध्न चाहिँ सक्छौं ।’ किन देखिन्छ यस्तो फरक ? बैंकहरुले त्रैमासको अन्त्यलाई लोन सेटलमेन्टको मुख्य समय बनाउँछन् । असोजको मध्यदेखि मात्रै बैंकहरूले आफ्ना ऋणीहरुसँग ऋणको ब्याज तथा सावाँ भुक्तानीका लागि ताकेता गर्न थाल्छन् । त्यसैले बैंकहरूले गर्ने धेरैजसो ब्याज आम्दानीहरू त्रैमासको अन्त्यतिर मात्रै हुने गर्छ । तर बैंकहरुको सञ्चालन खर्च, कर्मचारी खर्च तथा कतिपय अवस्थामा ब्याज खर्चहरू समेत नियमित रुपमा भुक्तानी गर्नुपर्ने भएकोले बैंकहरू कुनै महिनामा नाफा र कुनै महिनामा घाटामा देखिन गएका हुन् । यद्यपि आम्दानी पनि खर्चजस्तै नियमित रुपमा हुनुलाई राम्रो मान्न सकिने राष्ट्र बैंकले जनाएको छ । उनले भने – ‘तर भदौ महिनाको नाफालाई हेरेर असोज महिनाको नाफाको पूर्वानुमान भने नगर्दा नै राम्रो हुन्छ ।’