एनआईसी एशिया र युनियन पे इन्टरनेशनलको सहकार्यमा भर्चुअल कार्डबाट भुक्तानी शुरु

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले युनियन पे इन्टरनेशनलको सहकार्यमा ‘एनआइसी एशिया युनियन पे भर्चुअल कार्ड’को प्रयोगबाट भुक्तानी गर्ने प्रणालीको शुरुवात गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र युनियन पे इन्टरनेशनका अध्यक्ष चाई जियानबोको प्रमुख आतिथ्यतामा नेपालमा आधिकारिक रुपमा कार्य शुरु गरिएको हो । उक्त कार्यक्रममा युनियन पे इन्टरनेशनल र एनआईसी एशिया बैंकका उच्च पदाधिकारीहरुको सहभागिता रहेको थियो । सो सेवालाई बैंकले आफ्नो मोबाइल बैंकिङ्ग सेवासंग एकिकृत गरी छिट्टै ग्राहक सामु लैजाने योजना बनाएको छ । साथै, यस सुरुवातले नेपालको डिजिटल भुक्तानी प्रणालीमा सुदृढिकरण हुने विश्वास बैंकले लिएको छ । नेपाल सरकारबाट घोषित पर्यटन वर्ष २०२० को पूर्वसन्ध्यामा भएको यस सम्झौताले नेपालमा आगन्तुक पर्यटकहरुलाई उक्त भुक्तानी प्रणालीको प्रयोगबाट वस्तु तथा सेवा खरिदको भुक्तानीमा सहज हुने विश्वास लिइएको छ । युनियन पे इन्टरनेशनलले विश्वभरका १७५ भन्दा बढी मुलुकहरुमा भुक्तानी सेवा बिस्तार गर्नुका साथै ८ अर्ब भन्दा बढी कार्ड जारी गरेकोे जनाइएको छ ।

‘साधना लघुवित्त’ले कमायो ७३ लाख नाफा, अघिल्लो वर्षको तुलनामा ५१३ प्रतिशतले बृद्धी

काठमाडौँ । गोरखा जिल्लाको गोरखा नगरपालिकामा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ७६ लाख ६३ हजार खुद नाफा आर्जन गरेको छ । लघुवित्तकोे अघिल्लो वर्षको यही अवधिमा १४ लाख ९३ हजार मात्रै नाफा रहेको थियो । अघिल्लो बर्षको तुलनामा चालु आवमा ५१३ प्रतिशतले नाफा बृद्धी भएको मंगलबार सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ । समीक्षा अवधिमा अन्य लघुवित्त नपुगेको क्षेत्रमा शाखा संजाल आक्रमक रुपमा बिस्तार गरेको लघुवित्तले गत असार ३० गतेबाट आर्थिक समृद्धी लघुवित्तलाई प्राप्ति गरी एकिकृत कारोबार संचालन गरेको छ । ब्यबसाय बिस्तारमा उत्कृष्ट प्रगती प्राप्त गरेकै कारण खुद ब्याज आम्दानी रु २ करोड ४६ लाख २ हजार पुर्याएको छ भने अघिल्लो बर्षको यही अवधिमा ६६ लाख ३१ हजारमा सीमित रहेको थियो । यसैगरी समीक्षा अवधिमा ३२ करोड ५९ लाख बचत संकलन गरी १ अर्ब ४ करोड १६ सापटी लिएर १ अर्ब ३६ करोड १९ लाख कर्जा परिचालन गरेको छ । अघिल्लो बर्षको यही अवधिमा ८ करोड ५६लाख बचत संकलन गरी ४४ करोड ७२ लाख सापटी लिई ५० करोड ७४ लाख कर्जा परिचालन गरेको थियो । यसैगरी वित्तीय संस्थाको अघिल्लो आर्थिक बर्षमा २३ लाख ९० हजारमात्र रहेको रिर्जब ३ करोड ४१ लाख पुगेको छ । अघिल्लो आवको यही अवधिमा कूल ४ करोड ९० लाख चुक्ता पूँजी रहेकोमा यस आवमा चुक्ता पूँजी १४ करोड ६० लाख भएको छ । त्यस्तै समीक्षा अवधिमा कस्ट अफ फण्ड ९.६२ प्रतिशत रहेको छ भने तरलता अनुपात १३.२१ प्रतिशत, प्रति शेयर आम्दानी २०.९८ (बार्षिक) रहेको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंक र चाईनाको युनियन पे बीच सहमति

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट बैंक लि.का प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र युनियन पे अन्तर्राष्ट्रिय कम्पनी लि.का अध्यक्ष चाय जियाङबो बीच सहमति भएको छ । एनआईबिएल युनियन पे कार्ड तथा प्रोडक्टहरु नेपाली बजारमा निकट भविष्यमा प्रारम्भ गर्ने सहमति भएको हो । नेपाल इन्भेष्टमण्ट बैंकले आफ्ना चाईना भ्रमणमा जाने ग्राहकहरु र चाईनाबाट नेपाल भ्रमणमा आउने पर्यटकहरुलाई लक्षित गरी युनियन पे डेविट, क्रेडिट, प्रिपेड ट्राभल कार्ड उपलब्ध गराउँदैछ भने क्युआर कोड मार्फत पनि भुक्तानी गर्न सकिने सुविधा प्रारम्भ गर्न लागिएको जानकारी गराएको छ । नेपाल इन्भेष्टमेण्ट युनियन पे कार्डमार्फत सजिलै एटिएम मेसिनबाट नगद निकाल्न सकिनेछ भने सेवा प्रयोग, सामान खरिद, होटेल, रेष्टुरेण्टको रकम भुक्तानी गर्दा यो कार्डबाट आर्थिक कारोबार गर्न सकिनेछ । यस अवसरमा नेपाल इन्भेष्टमेण्ट बैंक लि.का प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले नेपाल सरकारद्धारा आयोजित नेपाल भ्रमण वर्ष २०२० लाई पनि लक्षित गरी एनआईबिएल युनियन पे अन्तर्राष्ट्रिय कम्पनी लि.ले सहकार्य प्रारम्भ गर्न लागेको जानकारी गराए ।