महालक्ष्मी विकास बैक साफा अवार्डबाट पुरस्कृत
काठमाडौं । महालक्ष्मी विकास बैंक साफा अवार्डबाट पुरस्कृत भएको छ । छाता संगठन साउथ एसिएन फेडेरेशन अफ एकाउन्ट्स (साफा) ले दक्षिण एसियाली राष्ट्रका वित्तीय सेवा क्षेत्रका संस्थाहरुकोे वार्षिक प्रतिवेदनको मुल्यांकन गरी प्रदान गरिने सो अवार्डबाट उक्त संस्थालाई सम्मान गरेको हो । एक समारोहका बीच बङगलादेशका वाणिज्य मन्त्री टिपु मुन्सि एमपिले बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेलाई उक्त सर्टिफिकेट हस्तान्तरण गरेका थिए । बैंकले इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्ट्स अफ नेपालबाट २०१८ को उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड जित्न सफल भएसँगै सार्क राष्ट्रका बैंक तथा वित्तीय संस्थाहरु मध्येबाट उत्कृष्ट बन्दै वित्तीय सेवा क्षेत्रका बैकका तर्फबाट मेरिट सर्टिफिकेट हासिल गर्न सफल भएको हो ।
निलम्बित डेपुटी गभर्नर श्रेष्ठको छानबिन प्रतिवेदन भोलि, पदबाट मुक्त हुन सक्ने सम्भावना बढी
काठमाडौं । नेपाल राष्ट्र बैंकका निलम्बित डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि छानबिन गर्न गठन भएको समितिको म्याद भोली अर्थात मंसिर १७ गते सकिँदैछ । समितिले १ महिनालगाएर उनका विरुद्धमा परेका उजुरी र उनले डेपुटीको पदभार सम्हाल्दा गरेका कार्य सम्पादन फाइलको अध्ययन तथा अनुसन्धान गरेर तयार पारेको प्रतिवेदन भोलि बुझाउने तयारी गरेको छ । छानबिन समितिले भोलि राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जिबि नेपाललाई उक्त प्रतिवेदन बुझाउने छ । राष्ट्र बैंक सञ्चालक समितिले एक महिनाको म्याद तोकेर कात्तिक १८ गते सञ्चालक श्रीराम पौडेलको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति बनाएको थियो । समितिले अनुसन्धान कार्य शुरु गरेको केही दिनमा नै प्रधानमन्त्री कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पति शुद्धिकरण अनुसन्धान विभागले उनी विरुद्ध परेका उजुरीको चाङ समितिलाई प्राप्त भएको थियो । डेपुटी गभर्नर श्रेष्ठमाथि अनियमितताको आरोपमा समितिले छानबिन गरेको थियो । यसको प्रतिवेदन तयार भएको छ । यस विषयमा अहिले केही बोल्न नमिल्ने बताइएको छ । एनसेललाई लाभांश लैजाने प्रक्रियामा सर्वोच्चमा परेको मुद्दामा सघाएको र रकम फुकुवा गर्न सर्वोच्चको फैसला आइनपुग्दै विवादित व्यापारी अजयराज सुमार्गीलाई साथ दिएको, बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा लुकाउन सघाएको, सम्पत्ति शुद्धीकरण गर्न सघाएकोलगायतका एक दर्जनभन्दा बढी आरोपमाथि छानबिन भइरहेको छ । यसका साथै उनलाई आन्तरिक खरिद प्रक्रिया र विदेश भ्रमणमा पदको दुरुपयोग गरेको आरोप पनि लाग्न सक्ने देखिएको छ । राष्ट्रसंघको सहयोगमा पाँच वर्षअघि लिइएको सफ्टवेयर प्रणाली लागू गर्न असहयोग गरेको आरोप पनि उनीमाथि छ । उनी विरुद्ध करिब एक दर्जन गम्भीर प्रकृतिको उजुरी परेका छन् । श्रेष्ठले गरेका कामकारवाहीमा उनकोमात्र हात नहुने र फाइल तलबाटै टिप्पणी उठेर आउने र गभर्नरसम्म पुग्ने तथा कतिपय फाइल त सञ्चालक समितिसम्म पुग्ने भएकोले यसमा उनीसँगै अन्य कर्मचारी समेत तालिने सम्भावना देखिएको हो । समितिले तयार पारेको प्रतिवेदनले श्रेष्ठलाई दोषी ठहराएमा भोलिबाटै पदमुक्त समेत हुन सक्ने छन् ।
सरकारलाई खर्च जुटाउन आज ३ अर्ब १३ करोडको ट्रेजरी बिल निकाल्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबार ३ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । सरकारलाई तत्कालै ऋण चाहिएको खण्डमा राष्ट्र बैंकले यस्तो ऋणपत्र जारी गर्ने गर्छ । ३ अर्ब १३ करोड रुपैयाँ बराबरको ९१ दिने अवधिको लागि ट्रेजरी बिल विक्री गर्न लागेको राष्ट्र बैंकले जनाएको छ । ट्रेजरी बिल अनलाइन बोल–कबोलका आधारमा मंसिर १६ दिउँसो २ बजे बिक्री खुला गरिने छ । बिलको निष्कासन मंसिर १७ मंगलवार हुनेछ । बिल आगामी फागुन २० मा परिपक्व हुनेछ । ट्रेजरी बिल छोटो अवधिको सरकारी ऋणपत्र हो । यो सधैं एक वर्षभन्दा कम अवधिको हुन्छ । राष्ट्र बैंकले आवश्यकताअनुसारको समयमा ट्रेजरी बिल जारी गर्न सक्छ । ट्रेजरी बिल २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ अवधिको हुन्छ ।