मुक्तिनाथ विकास बैंक र रेमिट टु नेपालबीच सहकार्य

काठमाडौं । मुक्तिनाथ विकास बैंक र रेमिट टु नेपालबीच सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट मुक्तिनाथ विकास बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ्ग र रेमिट टु नेपालतर्फबाट नेपाल रेमिटका प्रबन्ध निर्देशक सन्तोष भेटवालले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता बमोजिम रेमिट टु नेपालमा आएको रकम मुक्तिनाथ रेमिटको करिब चार हजार एजेण्टबाट सजिलै भुक्तानी गर्न सकिनेछ । यस सुविधाबाट बैंकका सेवाग्राहीहरुलाई थप लाभ हुने अपेक्षा गरिएको छ । मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग लगायतका सेवाहरु पनि प्रदान गर्दै आईरहेको बैंकले जनाएको छ ।

लक्ष्मी लघुवित्तद्वारा २ महिने सिलाई कटाई तालिम प्रदान

काठमाडौं । लक्ष्मी बैंकको सहायक कम्पनीको रुपमा स्थापित लक्ष्मी लघुवित्त वित्तीय संस्थाले रुपन्देही जिल्लाको सुर्यपुरा, शाखामा आबद्ध ग्राहकहरुलाई २ महिने सिलाई कटाई तालिम प्रदान गरेको छ । उक्त तालिम पुस १० देखि माघ ८ गते सम्म सञ्चालन भएको थियो । तालिममा व्यवसाय उन्मुख २० जना ग्राहकहरुलाई सहभागी गराइएको थियो । टेलरीङ्ग व्यवसायमा आर्कषण गरी महिला ग्राहक सदस्यहरुलाई सफल उद्यमी बनाउने र जीविकोपार्जनलाई सहज बनाउन उक्त सीपको माध्यमबाट आयआर्जनको क्षेत्रमा टेवा पु¥याउने उद्देश्यले सिलाई कटाई तालिम आयोजना गरिएको थियो । तालिम समापन कार्यक्रममा उपस्थित गैडहवा गाँउपालिकाकी उपाध्यक्ष सुभावती यादवले “सबैले जागिर नै खानु पर्छ भन्ने छैन् आफ्नो सिप र क्षमता अनुरुपको कार्यबाट व्यावसायिक भई आत्मनिर्भर तिर लाग्न सकिने” कुरा बताएकी थिइन् । लक्ष्मी लघुवित्तले कर्जा, बचत बाहेक लघुवीमा, विप्रेषण र लक्ष्मी बैंकसँंगको सहकार्यमा शाखा रहित बैंकिङ्ग सुविधा सँगै महिलाहरुलाई उद्यमशीलताको माध्यमबाट महिला सशक्तीकरणमा टेवा पुर्याउने उद्देश्यले यस्ता किसिमका क्षमता अभिवृद्धि तथा सीप विकास सम्बन्धी तालिमहरु सञ्चालन गर्दै आएको छ ।

बीमा दाबी भुक्तानीः जीवनमा २२ दिन र निर्जीवनमा ५० दिनभित्रमा दिइसक्नुपर्ने

काठमाडौं । बीमा कम्पनीहरुले बिमितलाई गर्ने दाबी भुक्तानीको म्याद तोकिएको छ । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले दाबी भुक्तानी मार्गदर्शन २०७६ जारी गर्दै म्याद तोकेको हो । समितिले बनाएको मार्गदर्शनमा जीवन बीमा कम्पनीहरुले बीमा शुल्कको अन्तिम किस्ता तिरिसकेको मितिले १५ दिनभित्रमा दाबी भुक्तानी लिन चाहिने कागजात संलग्न गरी दाबी लिन आउन बिमितलाई सूचना जारी गर्नुपर्नेछ । यसरी सूचना जारी गरेपछि बिमितले आवश्यक कागजात पेश गरेको मितिले ७ दिनभित्रमा दाबी भुक्तानी दिनुपर्ने मार्गदर्शनमा उल्लेख छ । यसरी जीवन बीमाको दाबी बढीमा २२ दिनभित्रमा भुक्तानी गरिसक्ने व्यवस्था मिलाउनु पर्ने मार्गदर्शनमा उल्लेख छ । निर्जीवन बीमाको हकमा भने दाबी परेको बढीमा ५० दिनभित्रमा दाबी भुक्तानी गरिसक्नु पर्नेछ । निर्जीवन बीमामा बिमितबाट दाबी पर्ने वित्तिकै बीम कम्पनीहरुले आवश्यक देखेमा सर्भेयर खटाउन सक्नेछन् । यसरी खटाएको सर्भेयरले १५ दिनभित्रमा आवश्यक जाँचबुझ गरी कम्पनीको दायित्व निर्धारण गरी विस्तृत विवरणसहितको प्रतिवेदन बीमा कम्पनी समक्ष पेश गर्नुपर्ने हुन्छ । यसरी प्रतिवेदन प्राप्त भएको साधारणयता ३५ दिनभित्रमा दाबी भुक्तानी गरिसक्नु पर्ने मार्गदर्शनमा उल्लेख छ । दाबी भुक्तानी ढिला हुने गरेको र कम्पनीहरुले के कस्ता कागज र प्रमाणका आधारमा कसरी दाबी भुक्तानी गर्ने भन्ने स्पष्ट व्यवस्था नभएकोले समितिले यस्तो मार्गदर्शन जारी गरेको हो । दावी भुक्तानी प्रकृयालाई छिटो, छरितो तथा पारदर्शी बनाउने उद्देश्यले दाबी भुक्तानी मार्गदर्शन २०७६ जारी गरिएको समितिले जनाएको छ । बीमा क्षेत्रलाई थप पारदर्शी, जिम्मेवार र बिमितमैत्री बनाउन मार्गदर्शन जारी गरिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । ‘पछिल्लो समय बीमा समितिले बीमा क्षेत्रलाई अझ पारदर्शी बनाउन आवश्यक गृहकार्य गरिरहेको छ, अहिले जारी गरिएको मार्गदर्शनको कार्यान्वयनबाट दाबी भुक्तानी प्रक्रिया पारदर्शी, छिटो र बिमितमैत्री हुनुका साथै विमित र बिमकबीच हुने विवाद पनि कम हुनेछ,’ कार्यकारी निर्देशक पौडेलले विकासन्युजसँग भने । दाबी विभाग गठन गर्नुपर्ने मार्गदर्शनमा बीमाकम्पनीहरुले गठनात्मक संरचना अन्तर्गत एउटा दाबी विभागको गठन गर्नुपर्नेछ । उक्त दाबी विभागमा विभागीय प्रमुखसहित आवश्यक संख्यामा कर्मचारी नियुक्त गर्नु पर्ने व्यवस्था गरिएको छ भने दाबीको प्रकृतिअनुसार कागजपत्र संकलन गर्ने तथा आवश्यक प्रक्रिया अपनाउनु पर्ने व्यवस्था गरिएको छ । यस्तै, बीमा लेख बमोजिम बीमा दाबी गर्नुपर्ने भएमा बीमितले सम्पूर्ण विवरणहरु राखी अबिलम्ब सम्बन्धित बीमकलाई लिखित जानकारी दिनुपर्ने छ । बीमा कम्पनी दाबी दर्ता किताबमा दाबीका लागि प्राप्त भएका निवेदनहरुको अभिलेख राख्नुपर्ने छ । जीवन बीमा दाबी भुक्तानी जीवन बीमा गर्नेहरुले म्याद पूरा भएको बढीमा २२ दिनभित्रमा दाबी भुक्तानी पाइसक्ने व्यवस्था मार्गदर्शनमा गरिएको छ । कम्पनीहरुले बीमा शुल्कको अन्तिम किस्ता भुक्तान गरेको १५ दिनभित्र बिमितलाई दाबी भुक्तानी लिन आउने सूचना जारी गर्नुपर्नेछ । यो १५ दिनको म्यादभित्र बिमितले बीमा लेखसहित अन्य आवश्यक कागजात संलग्न गरी बीमा कम्पनीमा पेश गर्नुपर्नेछ । यसरी आवश्यक कागजातसहित दाबी परेको ७ दिनभित्रमा कम्पनीहरुले जीवन बीमाको दाबी भुक्तानी गरिसक्नुपर्ने मार्गदर्शनमा उल्लेख छ । यसो गर्दा म्याद पूरा भएको बढीमा २२ दिनभित्रमा विमितले दाबी भुक्तानी पाइसक्ने छन् । तर, जीवन बीमा लेखको अवधि समाप्त नभई बिमितको मृत्यु भएमा सबैभन्दा नजिकको हकवालले बीमा रकम पाउँन सक्नेछन् । बीमा रकम प्राप्त गर्न हकवालाले दाबी सम्बन्धी विवरण, बिमितको मृत्यु दर्ता प्रमाण पत्र, चिकित्सकले शव परीक्षण गरेको प्रतिवेदन जस्ता कागजात पेश गर्नु पर्नेछ । साथै, बिमितसँगको नाता तथा उमेरको प्रमाणपत्र र बीमा समितिले तोकेका अन्य विवरण बुझाउनु पर्छ । निर्जीवन बीमा दाबी भुक्तानी निर्जीवन बीमा दाबी भुक्तानीको लागि बढीमा ५० दिन लाग्नेछ । समितिले बनाएको मार्गदर्शनमा दाबी पर्ने वित्तिकै आवश्यक देखिएमा सर्भेयर खटाउने, सर्भेयरले बढीमा १५ दिनभित्रमा विस्तृत प्रतिवेदन बुझाइसक्नु पर्ने र सर्भेयरको प्रतिवेदन प्राप्त भएको ३५ दिनभित्रमा कम्पनीले दाबी भुक्तानी दिइसक्नु पर्ने मार्गदर्शनमा उल्लेख छ । निर्जीवन बीमाको दाबी भुक्तानीका लागि बिमितको निवेदन प्राप्त भएमा कम्पनीले तुरुन्त सर्भेयर खटाउन सक्नेछन् । उक्त सर्भेयर बीमा समितिबाट इजाजत प्राप्त गरेको हुनु पर्नेछ । बीमा कम्पनीले आवश्यक परेको खण्डमा समितिको स्विकृतिलिई विदेशी सर्भेयर नियुक्त गर्न पाउने छन् । सर्भेयरले १५ दिनभित्रमा विस्तृत प्रतिवेदन कम्पनीलाई दिनुपर्ने र सर्भेयरबाट विस्तृत विवरणसहितको प्रतिवेदन प्राप्त भएको साधारणतया ३५ दिनभित्रमा कम्पनीले दाबी भुक्तानी गरिसक्नु पर्ने मार्गदर्शनमा उल्लेख छ । बीमा समितिले दाबी भुक्तानी मार्ग दर्शनअनुसार जीवन बीमा कम्पनीले १० लाख रुपैयाँभन्दा माथिको समर्पण मूल्य वा ऋण भुक्तानी कारोबारको सम्बन्धमा सम्पत्ती शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणको लागि विशेष ध्यान दिनु पर्नेछ ।