एशियन लाइफको पहिलो त्रैमासः आम्दानी ५ करोडले घट्यो तर नाफा भयो दोब्बर बढी
काठमाडौ । एशियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउनदेखि असोज मसान्तसम्म) मा १ अर्ब ४५ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा ८८ करोड ८६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको खुद नाफा ९ करोड ४० लाख रुपैयाँ भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ४ करोड २ लाख रुपैयाँ रहेको थियो । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा कम्पनीले १९ करोड ८६ लाख रुपैयाँ आम्दानी गर्दा १० करोड ४६ लाख रुपैयाँ खर्च गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको आम्दानी २५ करोड ५ लाख रुपैयाँ रहेको थियो भने खर्च २१ करोड २ लाख रुपैयाँ रहेको थियो । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खर्चमा उल्लेख्य कटौति गरेर नाफा बृद्धि गरेको हो । गत आर्थिक वर्षको तीन महिनाको तुलनामा आम्दानी करिब ५ करोड रुपैयाँ कम भएपनि नाफा भने ५ करोड रुपैयाँभन्दा बढीले बृद्धि गरेको छ । आगामी रणनीति विश्वब्यापी रुपमा फैलिएको कोरोना महामारीको कारण आर्थिक गतिविधि विगतको तुलनामा न्यून छन् । कोरोना महामारीको असर विश्व अर्थतन्त्रमा समेत परेको छ । सो असर लामो समयसम्म रहने सम्भावना पनि देखिएका छन् । यस्तो परिस्थितिमा अर्थतन्त्रमा आउने विश्वव्यापी मन्दीले नेपालमा समेत प्रभाव पार्छ । सोही मन्दीको प्रभावबाट बीमा क्षेत्रमा पर्ने असरलाई न्युनिकरण गर्नु आजको मुख्य चुनौति रहेको कम्पनी व्यवस्थापनको विश्लेषण छ । कम्पनीका अनुसार गुणस्तरीय बीमा व्यवसाय अभिवृद्धीका लागि दक्ष जनशक्तिको अभाव छ । बढ्दो महंगी, तरलता संकुचन, सुरक्षित र आकर्षक दीर्घकालिन लगानीका अवसरहरुको कमी छ । यसरी नै जीवन बीमाको बारेमा जनचेतनाको समेत कमी छ भने जीवन बीमा कम्पनीहरुमा हुने अस्वस्थ प्रतिस्पर्धा आजका प्रमुख समस्या र चुनौति रहेको कम्पनी व्यवस्थापनको विश्लेषण छ ।
चन्द्रागिरी हिल्सको आईपीओ मंसिर १७ गतेदेखि खुल्ला, क-कसले आवेदन दिन पाउँछन् ?
काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले आगामी मंसिर १७ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानियलाई उक्त दिनदेखि आईपीओ बिक्री खुला गर्न लागेको हो । कम्पनीले प्रतिसेयर एक सय रुपैयाँको ३ लाख ६ हजार ८१९ कित्ता सेयर आयोजना प्रभावित स्थानीयलाई निष्काशन गर्न लागेको हो । आयोजना प्रभावित क्षेत्र काठमाडौं जिल्ला अन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नं. ३,४, ६ र ७ साविक थानकोट गा.वि.स.का सम्पूर्ण वडा र साविक महादेवस्थान गा.वि.स.को वडा नं. ३, ४, ५, ६, ७ र ८ मात्र एवं मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नं. ९ र १० साविक चित्लाङ्ग गा.वि.स.का सम्पूर्ण वडाहरु र इन्द्रसरोबर गाउँपालिका वडा नं. ५ साविक फाखेल गा.वि.स.का सम्पूर्ण वडाका नागरिकले मात्र आवेदन दिन सक्नेछन् । यससँगै इच्छुक आवेदकले १० कित्तादेखि अधिकतम ३०६० कित्तासम्म आवेदन दिन सक्नेछन् । उनीहरुले मंसिर १७ गतेदेखि छिटोमा आगामी पुस १ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त मितिसम्म सेयर बिक्री नभएमा संस्थाले ढिलोमा पुस १६ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरेकाे छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । कम्पनीले सर्वसाधारण र स्थानियलाई गरी कुल १८ लाख ४० हजार ९१० कित्ता सेयर अर्थात १८ करोड ४० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्नेछ । पहिलो चरणमा निष्काशन गरी बिक्री वितरण पश्चात कम्पनीले दोश्रो चरणमा सर्वसाधरणलाई निष्काशन गर्ने छ । दोश्रो चरणको लागि कम्पनीले १५ लाख ३४ हजार ९१ कित्ता सुरक्षित गरेको छ । उक्त आईपीओ जारी पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड रुपैयाँ पुग्नेछ ।
रिलायबल नेपाल लाइफ इन्स्याेरेन्सद्वारा मृत्यु दाबी भुक्तानी
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका वीमित इस्तखर मिया थकुराइनको परिवारलाई बीमा दाबी वापतको ४० लाख रुपैयाँ रकम हस्तान्तरण गरेको हो । कम्पनीले मंसिर ८ गते एक कार्यक्रमका बीच जीवन बीमा गरेको उक्त मृतक वीमितको परिवारलाई सो बराबरको दावी भुक्तानी गरेको हो । उक्त कार्यक्रममा कम्पनीका ताहाचालका कलस्टर प्रमुख नविन श्रेष्ठले वीमितहरुलाई समयमा नै दाबी भुक्तानी गर्नु कम्पनीको दायित्व भएको हुँदा दावी भुक्तानी यथाशिघ्र गर्नै कम्पनीको नीति अनुरुप दावी भुक्तानी प्रदान गरेको बताएका छन् ।