डिप्रोक्सले नाडेप लघुवित्तलाई एक्वायर गर्ने, भयो एमओयूमा हस्ताक्षर
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले नाडेप लघुवित्त वित्तीय संस्थालाई प्राप्ती(एक्विजिशन) गर्ने भएको छ । उक्त प्रकृयाको लागी दुई संस्थाबीच पुस १५ गते नै प्रारम्भिक समझदारी (एमओयू) पत्रमा हस्ताक्षर भएको हो । उक्त समझदारी पत्रमा डिप्रोक्स लघुवित्तका अध्यक्ष दीपक खनाल र नाडेपका अध्यक्ष पिताम्बरप्रसाद आचार्यले हस्ताक्षर गरेका हुन् । यससँगै नाडेप लघुवित्तको आज(पुस १६ गते) देखि नै दाेश्राे बजारमा सेयर कारोबार रोक्का भएको छ । चितवन जिल्लाको भरतपूरमा केन्द्रीय कार्यालय रहेको डिप्रोक्स लघुवित्तले देशका ७१ जिल्लामा १२३ शाखा कार्यालयहरुमार्फत करिब २ लाख २२ हजार भन्दा बढी विपन्न सदस्यलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । संस्थाको चुक्ता पुँजी १ अर्ब ५४ लाख रुपैयाँ रहेको छ । त्यस्तै, धादिङ्ग जिल्लाको गजूरीमा केन्द्रीय कार्यालय रहेको नाडेप लघुवित्तले देशका ४६ जिल्लामा ७८ शाखा कार्यालयहरुमार्फत ८० हजार भन्दा बढी सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । संस्थाको चुक्ता पुँजी ४० करोड ४८ लाख रुपैयाँ रहेको छ । प्राप्ति पश्चात लघुवित्त वित्तीय संस्थाको क्षेत्रमा एउटा सवल, सक्षम र नेतृत्वदायी लघुवित्त वित्तीय संथाको रुपमा स्थापित भई अग्रणी लघुवित्त वित्तीय संस्था बन्ने छ । र, ग्राहक सदस्यहरुले पनि स्तरीय सेवा पाउने तथा सेयरधनीलाई समेत राम्रो प्रतिफल दिन सक्षम हुने संस्थाको विश्वास रहेको छ ।
नेको इन्स्योरेन्सको अध्यक्षमा रोहित कुमार भट्टराई सर्वसम्मत चयन
काठमाडौं । नेको इन्स्योरेन्सको अध्यक्षमा रोहित कुमार भट्टराई चयन भएका छन् । कम्पनी सञ्चालक समितिको बैठकले रिक्त अध्यक्ष पदमा सञ्चालकहरु मध्येबाट भट्टराईलाई सर्वसम्मत चयन गरेको हो । कम्पनी सञ्चालक समितिको ४०१औं बैठक पुस १५ गते बसेको थियो । यसअघि कम्पनीकाे अध्यक्ष पदकाे जिम्मेवारी रमेश कुमार निरौलाले सम्हालेका थिए । कम्पनीका संस्थापक सेयरधनी निरौलाले एसभीआर पब्लिकको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गरेका थिए । उनलाई एसभीआरले फिर्ता बोलाएपछि कम्पनीकाे अध्यक्ष पद रिक्त रहेकाे थियाे ।
एनएमबी बैंकसहित एकैदिन ८ वटा कम्पनीको सेयर मूल्य समायाेजन
काठमाडौं । नेप्सेमा बिहीबार विभिन्न ८ वटा कम्पनीको सेयर मूल्य समायोजन भएको छ । बोनस सेयर पश्चात ३ वाणिज्य बैंक सहित ८ कम्पनीको एकैदिन सेयर मूल्य समायोजन भएको हो । एनएमबी बैंकको पनि १३ प्रतिशत बोनस पछि मूल्य समायोजन भएको छ । मूल्य समायोजन पश्चात बैंकको सेयर कारोबार प्रतिकित्ता ३७८ रुपैयाँ खुल्ने छ । यसअघि बैंकको पछिल्लो कारोबार प्रतिकित्ता ४२७ रुपैयाँमा भएको थियो । सेञ्चुरी कमर्शियल बैंकको ५.२५ प्रतिशत बोनस पछि सेयर मूल्य समायोजन भएको छ । प्रतिकित्ता २०९ रुपैयाँ रहेको बैंकको सेयर मूल्य समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता १९९ रुपैयाँ कायम भएको छ । नेपाल बैंकको पनि १२ प्रतिशत बोनस सेयरपछि मूल्य समायोजन भएको छ । समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता ३३१ रुपैयाँ रहेको छ । जबकी बैंकको पछिल्लो कारोबार प्रतिकित्ता ३७१ रुपैयाँमा भएको थियो । त्यस्तै, कामना सेवा विकास बैंकको पनि बिहीबार सेयर मूल्य समायोजन भएको छ । समायोजन पश्चात विकास बैंकको सेयर मूल्य प्रतिकित्ता २१६ रुपैयाँ कायम भएको छ । साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको पनि १३ प्रतिशत बोनस पछि सेयर मूल्य समायोजन भएको छ । यससँगै बैंकको सेयर मूल्य प्रतिकित्ता २३५ रुपैयाँ रहेको छ । १८ प्रतिशत बोनस पछि साधना लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । यससँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता १०३८ रुपैयाँ कायम भएको छ । साना किसान लघुवित्तको २५ प्रतिशत बोनस पछि मूल्य समायोजन भएको छ । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता एक हजार ४१५ रुपैयाँ रहेको छ । बरुण हाइड्रोपावर कम्पनीको ५ प्रतिशत बोनस सेयर पछि मूल्य समायोजन भएको छ । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता १७१ रुपैयाँ कायम भएको छ । यसअघि कम्पनीको पछिल्लो कारोबार प्रतिकित्ता १८० रुपैयाँमा भएको थियो ।