च्याटबाटै शिखर इन्स्योरेन्सको बीमा खरिद, नविकरण र दावी गर्न सकिने
काठमाडौं । च्याटबोटबाटै शिखर इन्स्योरेन्सको बीमा खरिद, नविकरण र दाबी गर्न सकिने भएको छ । कम्पनीले गत मंसिर १७ गतेदेखि सुरु गरेको च्याटबोटको प्रयोग मार्फत शिखर इन्स्योरेन्सको बीमा खरिद, नविकरण र दाबी गर्न सकिने भएको हो । कम्पनीको च्याटबोटबाट इन्स्योरेन्स गर्नका लागि अफिससम्म पुग्ने समय नभएकाहरुले जहाँबाट पनि इन्स्योरेन्स गराउन सक्नेछन् । च्याटबोट मार्फत शिखर इन्स्योरेन्समा उपलब्ध सबै पोलिसिहरुको सेवा लिन सकिने कम्पनीले जनाएको छ । यसको लागि फेस वुक मेसेन्जरमा लग इन गर्नुपर्ने हुन्छ भने भाइवरमा कम्पनीको क्युआर कोड स्क्यान गर्नुपर्छ । इन्टरनेटको पहुँच भएका ग्रहाकहरुका लागि यो सुविधा अत्यन्तै सहयोगि र प्रभावकारी छ । यसैगरी आफूले लिन चाहेको बीमा सेवाका बारेमा च्याटबट मार्फत जानकारी मात्र गराएमा शिखर इन्स्योरेन्सको सम्बन्धित निकायले तुरुन्तै ग्राहकसँग कुरा गर्नेछन् । यस पश्चात ग्राहकले आफ्ना कुरा सरल तथा सहजै राख्न सक्नेछन् । च्याटबोटका कारण ग्रहाकहरुको समयको बचत हुनुको साथै महामारीका बेला स्वास्थ्य सुरक्षामा आइपर्ने चुनौतिसँग पनि जुध्न पर्दैन । च्याटबोट मार्फत शिखर इन्स्योरेन्सको कुनैपनि सेवा तत्कालै लिन पाइने कम्पनीले जनाएको छ । सम्पूर्ण बीमा क्षेत्रमा नै पहिलो पटक भाइबर र फेसबुक मेसेन्जरमा च्याटबोट सुरु गर्ने पहिलो कम्पनी हो शिखर इन्स्योरेन्स ।
दुई लघुवित्तको पौने १२ लाख बढी बोनस सेयर सूचीकृत
काठमाडौं । नेप्सेमा सूचीकृत २ लघुवित्तको ११ लाख ८१ हजार ९७६ कित्ता बोनस सेयर सूचीकृत भएको छ । बुधबार एकैदिन आशा लघुवित्त वित्तीय संस्था र वोमी लघुवित्त वित्तीय संस्थाको गरी सो मात्राको बोनस सेयर नेप्सेमा थपिएको हो । जसमध्ये आशा लघुवित्तको १५ प्रतिशत अर्थात ३ लाख ४८ हजार ४३२ कित्ता बोनस सेयर सूचीकृत भएको छ । त्यस्तै, वोमी लघुवित्तको ३० प्रतिशत अर्थात ८ लाख ३३ हजार ५४४ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यससँगै दुई संस्थाको सेयर सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुन्छ । त्यसपछि दोश्रो बजारमा किनबेच हुने छ ।
आरम्भ चौतारी लघुवित्तले बोनस सेयर वितरण गर्ने
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । संस्थाले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ८.८५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । फागुन १२ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरको हो । बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत दिई संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । हाल संस्थाको चुक्ता पुँजी २६ करोड ३४ लाख रुपैयाँ रहेको छ । ८.८५ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी २८ करोड ६७ लाख रुपैयाँ पुगेको थियो ।