विपन्नको जीवनस्तर माथि उठाउन सघाउँदै शुक्लाफाँटाकाे नवीकरण सहकारी
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका– १० झलारी बजारमा रहेको नवीकरण बचत तथा ऋण सहकारी संस्थाले विपन्न सदस्यको जीवनस्तर माथि उठाउनका लागि आयआर्जनका कार्यक्रम सञ्चालन गरी रकम लगानी गर्दै आएको छ । सहकारीमा मुक्तकमैया, आरक्ष विस्थापित, गरीब तथा दलित समुदायका विपन्न व्यक्ति आबद्ध रहेका छन् । समूह जमानीका आधारमा सहकारीबाट व्यावसायिक तरकारीखेती, व्यापार र अन्य लघुउद्यम गर्न चाहने व्यक्तिलाई दुई लाखसम्मको रकम विनाधितो उपलब्ध गराउने व्यवस्थासमेत गरिएको छ । शुक्लाफाँटा र कृष्णपुर नगरपालिका कार्य क्षेत्र भएको सहकारीमा शुरुमा ५४ शेयर सदस्य रहेकामा त्यो सङ्ख्या बढेर हाल तीन हजार ६२२ पुगेको छ । जसमा महिला सदस्यको सङ्ख्या अधिक छ । महिला सदस्य दुई हजार ६४६ र पुरुष सदस्य ९७६ छन् । सहकारीमा आबद्ध अधिकांश शेयर सदस्य कृषि, व्यापार, कुखुरापालन, बङ्गुरपालन र अन्य परम्परागत सीपमा आधारित लघुउद्यम गर्दै आएको सहकारीका अध्यक्ष धनबहादुर कुश्मीले बताए । उनका अनुसार सहकारीले आव २०७६/७७ को असार मसान्तसम्म कृषिमा आबद्ध सदस्यलाई ८४ लाख ७८ हजार २५० रकम ऋणका रुपमा लगानी गरिएको छ । व्यापार ऋणमा ९२ लाख ४१ हजार २००, कुखुरापालनका लागि दुई लाख ५९ हजार ५५०, बङ्गुरपालनका लागि चार लाख ५९ हजार, शैक्षिक कर्जा तीन लाख १२ हजार ६५० र विपन्न परिवारलाई सुरक्षित आवास निर्माणका लागि १४ लाख १८ हजार रकम ऋणका रुपमा परिचालन गरिएको छ । आव ०७६/७७ को पूरै अवधिमा सहकारीले रु नौ करोड ५७ लाख ७४ हजार ७६२ रकम लगानी गरेकामा सोमध्ये सात करोड ४९ लाख २३ हजार ६१२ रकम असुली गरिएको छ । हाल लगानीमा रहेको रकम दुई करोड आठ लाख ५१ हजार १५० लगानीमा रहेको छ । व्यापार ऋणमा १६ प्रतिशत र अन्यमा १५ प्रतिशत रकम सहकारीकाले ब्याजका रुपमा लिने गरेको छ । सहकारीको शेयर पूँजी ३१ लाख ५७ हजार ६०० रहेको छ । सहकारीमा आबद्ध सदस्यले ११ करोड ४६ लाख ७८ हजार ४२ रकम बचत गरेका छन् । पञ्चेवर्षीय रणनीतिक योजना बनाई सहकारीले सदस्यको जीवनस्तर माथि उठाउनका लागि विभिन्न सङ्घसंस्थासँग समन्वय गरी कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । योजनाअन्तर्गत सहकारीमा आबद्ध सदस्यलाई तरकारीखेतीका माध्यमबाट आत्मनिर्भर बनाउनका लागि सहकारीले गाउँगाउँमा किसानका समूह गठन गरी कृषि प्राविधिक परिचालन गरी आधुनिक तरिकाले व्यावसायिक तरकारीखेती गर्नका लागि तालीमसँगै उन्नत जातको बीउ, रसायनिक मल, विषादी र सिँचाइको व्यवस्थाका लागि पम्पसेटमा अनुदानसमेत उपलब्ध गराउँदै आएको छ । शुक्लाफाँटामा ८०० र कृष्णपुरमा ८०० घरघुरी तरकारी खेतीमा संलग्न रहेका छन् । दुवै नगरपालिकामा गरी ६४ कृषक समूह गठन गरिएका छन् । “सहकारीबाट ऋण लिई तरकारीखेतीमा संलग्न रहेका सदस्यलाई किसान परियोजना २०० समन्वय गरी नर्सरी व्यवस्थापन तालीम १५०, आइपिएम तालीम ३२ र तरकारीमा जातीय प्रदर्शन ७५ वटा गरिएका छन्”, सहकारीका प्रबन्ध निर्देशक लक्ष्मी सेठीले भनिन्, “मुसुरोखेती र धान खेतीका लागिसमेत तालीम प्रदान गरिएको छ ।” सहकारीमा आबद्ध लघुउद्यम, व्यापार, तरकारीखेती र पशुपालनमा लागेका सदस्यको जोखिमलाई मध्यनजर गर्दै आउँदो आवमा कृषि तरकारी, पशुपालन तथा अन्य व्यवसायमा निर्जिवन बीमा गर्ने व्यवस्था मिलाउनका लागि कार्यक्रम अघि सारिएको छ । सहकारीले किसानले उत्पादन गरेको तरकारीलगायतका कृषिउपज खरीदका लागि तरकारी सङ्कलन तथा बिक्री केन्द्रसमेत सञ्चालन गरेको छ । रासस
अझैपनि महिला लघुवित्तको आईपीओको रिजल्ट हेर्न नपाएर तनावमा हुनुहुन्छ ? अब यसरी हेर्नुहोस्
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको आईपीओको नतिजा बाँडफाँड भएको घण्टौं बित्दा पनि हेर्न नपाएर अधिकांश लगानीकर्ता तनावमा रहेका थिए । वा कतिपय त अझै पनि तनाव मै रहेका छन् । फागुन १४ गते बिहान ८ बजेनै बाँडफाँड भएको आईपीओको रिजल्ट घण्टौं अर्थात दिनभर कुर्दा पनि आफुलाई परे नपरेको हेर्न नपाएपछि लगानीकर्ता तनावमा हुनु स्वभाविक नै हो । सिडिएस एण्ड क्लियरिङ्ग (सीडीएससी) ले अचानक आईपीओको नतिजा तीन वटा निकायबाट मात्रै हेर्न पाउने व्यवस्था गरेपछि उक्त ताेकिएकाे निकायको साइटमा लगानीकर्ताको अधिक चाप बढेपछि लगानीकर्ता उक्त सेवा लिनबाट बञ्चित भएका थिए । र, उनीहरु तनावमा थिए । उक्त समस्यालाई समाधान गर्दै लगानीकर्तालाई सजिलै सेवा दिने उद्देश्यले सीडीएससीले नयाँ वेवपोर्टल सञ्चालनमा ल्याएको छ । यससँगै यदि अहिलेसम्म पनि महिला लघुवित्तको आईपीओ हेर्न नसकेका वा नपाएका लगानीकर्ताले अब सीडीएससीको नयाँ वेवपोर्टलबाट सजिलै हेर्न सक्ने छन् । कसरी हेर्ने त ? तपाईंले अझै पनि महिला लघुवित्तको आईपीओको रिजल्ट हेर्न पाउनु भएको छैन भने तपाईं सीडीएससीले हालै सञ्चालनमा ल्याएको नयाँ नयाँ वेव पोर्टल ‘आईपीओरिजल्टसीडीएससीडटकमडटएनपी’ मा जानुहाेस् । त्यसपछि तल तस्विरमा देखिएकाे जस्ताे वेव पोर्टल खुल्छ । जहाँ ‘महिला लघुवित्त रिजल्ट’ भनेर देख्न सकिन्छ । त्यसभन्दा तल रहेकाे सेताे बक्स जहाँ (१६-डिजिट बिओआईडी) भनिएकाे छ, त्यसमा लगानीकर्ताले आफ्नाे १६ नम्बरकाे डिम्याट खाता नम्बर टाइप गर्नुपर्ने हुन्छ । उक्त टाइप गरिएकाे नम्बर सहि छ वा छैन एकिन गरेर त्यसभन्दा तल रहेकाे ‘भ्यू रिजल्ट’ भन्ने अप्सनमा क्लिक गरेर सजिलै आफूले भरेकाे आईपीओको नतिजा हेर्न सकिने छ । परेकाे नपरेकाे कसरी थाहा पाउने ? यदि तपाईंले टाइप गर्नुभएकाे नम्बर सहि छ र ‘भ्यू रिजल्ट’मा क्लिक गर्दा तल देखाइएकाे जस्ताे सेताे अक्षरमा ‘कङ्ग्रयाचुलेसन अलाेटेड!!! अलाेटेड क्वान्टिटीः १०’ देखियाे भने तपाईंलाई उक्त संस्थाकाे आईपीओ १० कित्ता पर्याे भन्ने बुभिन्छ । तर, ‘भ्यू रिजल्ट’मा क्लिक गर्दा तल देखाइएकाे जस्ताे राताे अक्षरमा ‘सरि नट अलाेटेड फर इन्टर्ड ओआईडी’ भनेर आयाे भने तपाईंलाई आईपीओ परेन भन्ने बुझिन्छ । त्यस्तै, लगानीकर्ताले अबदेखि सार्वजनिक निष्काशन भइ बाँडफाँड भएका कम्पनीकाे आईपीओकाे रिजल्ट माथि जनाइए अनुसार नै हेर्न सक्ने छन् । हाल सञ्चालनमा ल्याइएको नयाँ पोर्टलमा सार्वजनिक निष्काशनको नतिजा मात्र राखिने छ । जुन सुरक्षित, छरितो तथा धेरै लगानीकर्ताले एकसाथ प्रयोग गर्दा समेत सहज रुपमा सञ्चालन गर्न सकिने गरि उच्च क्षमतामा तयार गरिएको सीडीएससीले जनाएको छ । त्यस्तै, सो पोर्टलमा लगानीकर्ताले कुनै पनि कम्पनीको सेयर निष्काशन पछि बाँडफाँडको नतिजा बाँडफाँड सम्पन्न हुने बित्तिकै यथाशीघ्र सहज रुपमा हेर्न सक्नेछन् । सम्बन्धित समाचार आईपीओको रिजल्ट हेर्न सीडीएससीले ल्यायो छुट्टै वेवपोर्टल, बाँडफाँड हुने बित्तिकै हेर्न पाइने
आईपीओको रिजल्ट हेर्न सीडीएससीले ल्यायो छुट्टै वेवपोर्टल, बाँडफाँड हुने बित्तिकै हेर्न पाइने
काठमाडौं । सिडिएस एण्ड क्लियरिङ्ग (सीडीएससी)ले सार्वजनिक निष्काशन भएका धितोपत्रको बाँडफाँडको नतिजा हेर्नको लागि छुट्टै वेव पोर्टल सञ्चालनमा ल्याएको छ । लगानीकर्ताले आफ्नो गोपनियताको साथसाथै सहज रुपमा आईपीओको रिजल्ट हेर्न सकून् भन्ने उद्देश्यले सीडीएससीले नयाँ वेव पोर्टल ‘आईपीओरिजल्टसीडीएससीडटकमडटएनपी’ सञ्चालनमा ल्याएको हो । यससँगै अबदेखि लगानीकर्ताले आईपीओ लगायत सार्वजनिक निष्काशन भएका धितोपत्रको बाँडफाँडको नतिजा आईपीओ रिजल्ट सीडीएससी डटकमडट एनपीमा गएर सहज रुपमा हेर्न सक्नेछन् । यसअघि सीडीएससीले दुई दिन अघि मात्रै आईपीओको रिजल्ट तीन वटा निकाय आईपीओ निष्काशन गर्ने कम्पनीको वेबसाइट, बिक्री प्रबन्धकको वेबसाइट र सिडीएससीको मेरो सेयर मार्फत मात्रै हेर्न पाइने गरि नयाँ व्यवस्था गरेको थियो । सो अनुरुप फागुन १४ गते बाँडफाँड भएको महिला लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँडको नतिजा सो कम्पनी तथा उक्त सार्वजनिक निष्काशनको निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गको वेव साइटमा राखिएको थियो । तर, लगानीकर्ताको अत्याधिक चापका कारण दुबै वेवसाइटले काम गर्न नसकेकोले उनीहरु उक्त सेवा पाउनबाट बञ्चित भएकाले सीडीएससीले नयाँ साइट सञ्चालनमा ल्याएको हो । साथै, सो अवधिमा सम्पूर्ण लगानीकर्ताको चाप मेरो सेयरमा पर्न गएको र मेरो सेयर मार्फत प्रदान गरिरुएको अन्य सेवाहरु समेत प्रभावित भएकोले अबको दिनमा त्यस्तो नहोस् भन्ने उद्देश्यले संस्थाले नयाँ व्यवस्था गरेको हो । अझैपनि महिला लघुवित्तको आईपीओको रिजल्ट हेर्न नपाएर तनावमा हुनुहुन्छ ? अब यसरी हेर्नुहोस् त्यस्तै, हाल सञ्चालनमा ल्याइएको नयाँ पोर्टलमा सार्वजनिक निष्काशनको नतिजा मात्र राखिने छ । जुन सुरक्षित, छरितो तथा धेरै लगानीकर्ताले एकसाथ प्रयोग गर्दा समेत सहज रुपमा सञ्चालन गर्न सकिने गरि उच्च क्षमतामा तयार गरिएको सीडीएससीले जनाएको छ । त्यस्तै, सो पोर्टलमा लगानीकर्ताले कुनै पनि कम्पनीको सेयर निष्काशन पछि बाँडफाँडको नतिजा बाँडफाँड सम्पन्न हुने बित्तिकै यथाशीघ्र सहज रुपमा हेर्न सक्नेछन् । सम्बन्धित सामाग्री विकासन्युज समाचार प्रभावः डिम्याट खाता दुरुपयोग रोकियो, अब कसरी हेर्ने आईपीओ रिजल्ट? भिष्म सर ! तपाईंलाई निफ्राको आईपीओ कति कित्ता पर्यो ?