आरएमडीसीद्वारा ललितपुरको अपाङ्ग सेवा संघलाई सहयोग

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले अपाङ्ग सेवा संघलाई नगद तथा खाद्य सामाग्री प्रदान गरेको छ । संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ललितपुरको बुङमतीस्थित रहेको उक्त संघलाई सहयोग स्वरुप नगद तथा खाद्य सामाग्री प्रदान गरेको हो । उक्त संघले विभिन्न किसिमका अपाङगता भएका बालबालिकालाई आश्रय दिँदै आइरहेको छ । आरएमडीसीका प्रमुख कार्यकारी अधिकृत ज्योति चन्द्र ओझाले अपाङ्ग सेवा संघका अध्यक्ष दयाराम महर्जनलाई ५० हजार रुपैयाँ बराबरको खाद्य सामाग्री र अपाङ्ग सेवा संघको नाममा ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेका थिए । उक्त हस्तान्तरण कार्यक्रममा आरएमडीसीका कामु नायव प्रमुख कार्यकारी अधिकृत पृथ बहादुर थापा, वरिष्ठ प्रवन्धक अन्नपूर्ण श्रेष्ठ, प्रवन्धक ज्ञानु माया भण्डारी, उक्त संस्थाका अन्य पदाधिकारीहरु लगायत सोही संस्थाका बालबालिकाहरुको उपस्थिति रहेको थियो । संस्थाले साझेदार संस्थाहरु मार्फत पिछडिएका वर्गका महिलाहरुलाई केन्द्रित गरी लघुवित्त क्षेत्रको प्रवद्र्धन तथा विकासका लागि संस्थागत आधारशिला निर्माण तथा जनशक्ति विकासमा विशेष योजना पुर्याउँदै आईरहेकोे छ ।

मोलुङ्ग हाइड्रोले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सनराइज क्यापिटल नियुक्त

काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनीले ३५ कराेड ३१ लाख रूपैयाँ बराबरकाे साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले निकट भविष्यमा सर्वसाधारणलाई एक सय अंकित दरको ३५ लाख ३१ हजार कित्ता सेयर निष्काशन गर्ने लागेको हो । उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल नियुक्त गर्ने सम्झाैता भएकाे छ । उक्त सम्झाैतापत्रमा कम्पनीको तर्फबाट प्रबन्ध संचालक अमृतकुमार महर्जन तथा सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले हस्ताक्षर गरेका हुन् । कूल ३५ लाख ३१ हजार कित्ता सेयरमध्ये आयोजना प्रभावित क्षेत्र ओखलढुङ्गाका वासिन्दाहरुलाई ८ लाख २ हजार ५ सय कित्ता सेयर छुट्टयाईएको छ । मोलुङ्ग हाइड्रोपावर कम्पनीको ७ मे.वा. क्षमताको मोलुङ्ग खोला जलविद्युत आयोजनाबाट २०७४ चैत १२ गतेबाट व्यापारिक विद्यृत उत्पादन सुरु गरी संचालनमा रहेको छ । मिति २०७७ माघ २५ गते सम्पन्न कम्पनीको ११ औं वार्षिक साधारणसभाबाट कम्पनीको अधिकृत पुँजी वृद्धि गरी एक अर्ब र जारी पुँजी बृद्धि गरी ८० करोड २५ लाख रुपैयाँ कायम गर्ने निर्णय गरेको छ । उक्त निर्णय पश्चात कम्पनीले सेयर संरचना अन्तर्गत जारी पुँजीको ५६ प्रतिशत अर्थात ४४ लाख ९४ हजार कित्ता संस्थापक सेयर र ४४ प्रतिशत अर्थात ३५ लाख ३१ हजार कित्ता सर्वसाधारण सेयरको सार्वजनिक निष्काशनबाट पुँजी कायम गर्ने भएको छ ।

राष्ट्रिय बीमा संस्थानको नयाँ शाखा चाबहिल र सूर्यविनायकमा, उपत्यकामा मात्रै ४ वटा शाखा

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले काठमाडौंको चाबहिलमा १७ औं र भक्तपुरको सूर्यविनायकमा १८ औं शाखा सञ्चालनमा ल्याएको छ । संस्थानको चाबहिल शाखाको सोमबार काठमाडौं महानगरपालिका वडा नं. ७ का अध्यक्ष सुतकुमार डँगोल र संस्थान सञ्चालक समितिका अध्यक्ष गंगाराम कँडेलले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । चाबहिल शाखाको उद्घाटन गर्दै अध्यक्ष डँगोलले चाबहिल क्षेत्रमा शाखा सञ्चालनमा ल्याएकोमा आभार प्रकट गर्दै सो क्षेत्रमा बीमा व्यवसाय र साक्षरता अभियान चलाउन आग्रह गरे । संस्थान सञ्चालक समितिका अध्यक्ष कँडेलले बीमा जीवनको सुरक्षाका साथै राष्ट्रको आर्थिक विकासका लागि पनि मेरुदण्ड भएको बताए । चाबहिलमा शाखा सञ्चालनमा आएपछि सो क्षेत्रका बासिन्दा केन्द्रिय कार्यालयसम्म पुगिरहन नपर्ने उनले बताए । संस्थानका प्रशासन कवि पाठकले जीवन बीमामै जेठो कम्पनी संस्थान जीवन बीमा व्यवसायमा जीवन बीमा कोषको आधारमा चौंथो र बीमाशुल्क संकलनको आधारमा तेस्रो स्थान हासिल गर्न संस्थान सफल भएको बताए । नेपाली बीमा बजारमा आफनो हिस्सा क्रमशः बढाउदै लाने कार्यमा संस्थान अझ प्रयत्नशील रहने उनको भनाई थियो । सो अवसरमा संस्थानका नायब महाप्रबन्धक महेश रिमाल, चाबहील शाखाका प्रमुख लक्ष्मीकुमार गुप्तालगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा चाबहील शाखाबाट बीमा गर्नेहरुलाई बीमालेख हस्तान्तरण गरिएको थियो । यस्तै संस्थानको सूर्यविनायकमा सञ्चालनमा आएको नयाँ शाखाको मङ्गलबार सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा र संस्थानका अध्यक्ष कँडेलले संयुक्त रुपमा उद्घाटन गरे । मेयर थापाले संस्थानलाई स्थानीय निकायमा शाखा सञ्जाल विस्तार गर्न आग्रह गर्दै यसका लागि जनप्रतिनिधिको सहयोग रहने  प्रतिवद्धता व्यक्त गरे । सो अवसरमा संस्थानका अध्यक्ष कँडेल, प्रशासक पाठक, संस्थानका नायब महाप्रबन्धक महेश रिमाल, सूर्यविनायक शाखा प्रमुख दिलकुमार लामालगायतको उपस्थिति रहेको थियो । संस्थानको काठमाडौंको कलंकीमा अर्को शाखा सञ्चालनमा आइसकेको छ भने ललितपुरको लगनखेलमा पनि तयार भएको कार्यालयबाट छिटै कारोबार शुरु हुन लागेको संस्थानले जनाएको छ । योसँगै संस्थानको उपत्याकाभित्र शाखा संख्या चार पुगेको छ ।