एनआईबिएल समृद्धि फण्ड-२ मा लगानी गर्नेले १० वर्षमा २१४ प्रतिशत बढी प्रतिफल पाउँछन्- ढुंगाना

नेपाल इन्भेष्टमेन्ट बैंकको सहायक कम्पनी एनआईबिएल एस क्यापिटल लिमिटेडले ‘एनआईबिएल समृद्धि फण्ड-२’ नामक म्युचुअल फण्ड आज (बैशाख १३ गतेदेखि) बिक्रीमा ल्याएको छ । एनआईबिएल म्युचुअल फण्डको पहिलो योजना ‘एनआईबिएलसमृद्धि फण्ड-१’ सफलतापूर्वक सञ्चालन भएसँगै संस्थाले नयाँ योजना बिक्रीमा ल्याएकाे हो । यससँगै, नयाँ योजना कस्तो हो ? योजनाको उद्देश्य के हाे ?  लगानीकर्ताहरुले यसमा किन लगानी गर्ने ? भन्ने विषयमा सम्बन्धित रहेर क्यापिटलका सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानासँग गरिएको कुराकानीको सम्पादित अंशः एनआईबिएल एस क्यापिटलले निष्काशन गरेको नयाँ म्युचुअल फण्ड योजना कस्तो हो ? नेपाल इन्भेष्टमेण्ट बैंक कोष प्रबद्र्धक र हामी एनआईबिएल एस क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत बन्दमुखी योजनाहरु एनआईबिएल समृद्धि फण्ड-१ र एनआईबिएल प्रगति फण्ड साथै नेपालकै पहिलो खुलामुखी योजना एनआईबिएल सहभागिता फण्ड गरेर हाल जम्मा तीन वटा योजनाहरु संचालनमा रहेका छन् । जसमध्ये हाम्रो पहिलो योजनाको रुपमा रहेको एनआईबिएल समृद्धि फण्ड-१ ब्यालेन्सड् स्किम हो भने एनआईबिएल प्रगति फण्ड ईक्युटी बेस्ड स्किम हो । अब आउँदो पुस मसान्तमा ७ वर्षे अवधि पुरा भई एनआईबिएल समृद्धि फण्ड-१ म्याच्योर हुँदै गर्दा हामीले हाम्रो चौंथो स्किमको रुपमा एनआईबिएल समृद्धि फण्ड-२ नामको प्रतिइकाई १० रुपैयाँको दरले १२ करोड इकाई बराबरको १ अर्ब २० करोड रुपैयाँ बराबरको १० वर्षे ब्यालेन्सड् स्किम अघि सारेका छौं । र, अहिले यसको सार्वजनिक निष्काशन भईरहेको छ । यो योजनाको उद्देश्य के कस्ता छन् ? मैले अघि पनि भने एनआईबिएल समृद्धि फण्ड-२ एउटा ब्यालेन्सड् स्किम हो । त्यसको अर्थ हामी यस स्किमको रकमलाई बजारमा लगानी गर्दा एक किसिमको छुट्टै रणनीतिक योजना बनाएर स्किमको अवधी भरी नै लगानी गर्न सकिने विभिन्न क्षेत्रहरुमा सन्तुलित लगानीका साथ अघि बढ्नेछौँ । जस्तो कि केहि प्रतिशत संस्थागत बोण्ड डेबेन्चरमा, केहि प्रतिशत बैंक मुद्दति निक्षेप, केहि प्रतिशत बैंक मौज्दातमा र बाँकी शेयर मार्केटमा लगानी गछौँ । र, यसरी हेर्दा ३० देखि ३५ प्रतिशत स्थिर आय हुने उपकरणहरुमा लगानी गर्दा लगानी र जोखिम संन्तुलित हुन गई इकाईधनीहरुलाई निरन्तर समुचित प्रतिफल दिन सकिन्छ । यस स्किमको प्रमुख उदेश्य भनेको पनि यहि नै हो । साथै प्रतिफलको हकमा यस योजनाको १० बर्ष अवधिमा इकाईधनीहरुलाई न्यूनतम २१.४३ प्रतिशतका दरले बार्षिक प्रतिफल वितरण गर्न सकिने गरी प्रक्षेपण गरी धितोपत्र बोर्डबाट स्विकृत लिएको अवस्था रहेको छ । एनआईबीएल सहभागिता फण्ड २ योजनाले कस्ता कस्ता कम्पनीमा लगानी गर्छ ? यस योजनाले संक्षेपमा भन्नु पर्दा सामुहिक लगानी कोष र धितोपत्रसँग सम्बन्धित ऐन, नियमावली तथा निर्देशिकाहरुको अधिनमा रहि विभिन्न सूचिकृत कम्पनीहरुमा लगानी गर्ने गर्छ । तर, त्यस्ता कम्पनीहरुको छनौट गर्दा हाम्रो आन्तरिक रणनीति बमोजिम आधारभूत तथा प्रावेधिक विश्लेषणका आधारमा लगानी गर्न उपयुक्त कम्पनीहरुमा लगानी गर्नेछौँ । यो फण्डले कम्पनीको छनोट गर्दा कस्ता कस्ता रणनीतिहरु अबलम्बन गर्दछ ? मैले भरखरै भने झैँ, हाम्रो आफ्नै आन्तरिक रणनीति बमोजिम लगानीका लागि सूचिकृत कम्पनीहरुको छनौट गर्ने गर्छौ, जसमा त्यस्ता कम्पनीहरुको वित्तीय अवस्थाका साथै अन्य आधारभूत र प्रावेधिक पक्षका सूचांकहरुको विश्लेषण गरेर मात्र लगानी गर्ने गर्छौं । यसका साथ साथै शेयर मार्केटमा गर्ने लगानीमा कम्पनीहरुलाई विभिन्न वर्गमा वर्गीकरण गर्दै अल्पकालीन तथा दीर्घकालीन उदेश्यका साथ लगानी गर्ने रणनीति अवलम्बन गर्ने गर्छाैं । एनआईबिएल समृद्धि फण्ड-२ मा आवद्ध कोष सुपरिवेक्षकहरु कस्ता व्यक्तिहरु हुनुहुन्छ ? हामीले फण्डको विवरण पुस्तिकामा पनि कोष सुपरिवेक्षकहरुको बारेका संक्षिप्त जानकारी राखेका छौं । जसमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा अनुभव प्राप्त साथै हाल विभिन्न आर्थिक, राजनैतिक तथा व्यवस्थापन क्षेत्रका विज्ञको रुपमा कार्यरत ख्याति प्राप्त व्यक्तित्वहरु रहनु भएको छ । नेपाल सरकारको मुख्य सचिव पदबाट अवकाश पाउनु भएका तथा ९ वर्ष अन्तराष्ट्रिय वित्तीय एवम् विकास संस्थाको अनुभव हासिल गर्नु भएका डा. बिमल प्रसाद कोइराला, राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरुमा ३१ वर्षभन्दा बढीको कार्य अनुभव हासिल गरिसक्नु भएका शम्भुराम सिम्खडा, योजना आयोग तथा नेपालको तर्फबाट विभिन्न देशहरुको राजदुतको जिम्मेवारी वहन गरिसक्नु भएका अर्थशास्त्री दर्गेशमान सिंह, ३९ वर्षभन्दा बढीको व्यवसायिक अनुभव हासिल गरिसक्नु भएका चार्टर्ड एकाउन्टेन्ट जितेन्द्र बहादुर राजभण्डारी तथा २३ वर्षभन्दा बढी समय नेपालको बैंकिङ क्षेत्रको अनुभव हासिल गरिसक्नु भएका राजु नेपाल कोष सुपरिवेक्षकको रुपमा रहनु भएको छ । लगानीकर्ताहरुले एनआईबिएल समृद्धि फण्ड-२ मा नै किन लगानी गर्ने ? अन्यमा भन्दा यसमा के भिन्नता छ ? बजारका सबै फण्डहरुको प्रमुख उदेश्य भनेकै लगानीकर्ताहरुको जोखिम कम गरेर उच्च प्रतिफल दिने नै हुन्छ । हाम्रो पनि दृढ संकल्प त्यहि नै हो । अर्को पक्ष, नेपालमा संचालन भईरहेका म्युचुअल फण्डका योजनाहरु नेपाल धितोपत्र बोर्ड मार्फत जारी भएका सामूहिक लगानी कोष नियमावली तथा निर्देशिका बमोजिम नै सञ्चालन हुने हुन्छन्, जसले गर्दा योजनाहरुले लगानी गर्ने क्षेत्रहरु लगभग सबै योजनाका उस्तै नै हुने गर्दछन् । तर फण्डको पुँजी परिचालन गर्ने प्रकृया, लगानी गर्ने कम्पनीहरुको छनौट जस्ता विभिन्न व्यवस्थापकीय र रणनीतिक कुशलता साथै अनुसन्धानमूलक लगानीको दक्षताका आधारमा योजनाहरुले बजारमा आफ्नो स्थान निर्धारण गर्ने गर्दछन् । जसमा हामी अग्रणी स्थानमा नै छौं जस्तो लाग्छ । यसको लागि हामीले अहिले सञ्चालन गरिरहेका अन्य योजनाहरुको प्रगतिलाई आधार मान्न सकिन्छ । यसका अलावा एनआईबिएल समृद्धि फण्ड-२ मा पनि हामीले लगानीकर्तालाई १० वर्षे अवधिमा न्यूनतम २१.४३ प्रतिशतका दरले वार्षिक प्रतिफल वितरण गर्ने लक्ष्यका साथ योजना लिएर आएका छौं । तपाईंले एनआईबिएल समृद्धि फण्ड २ मा न्यूनतम २१.४३ प्रतिशतका दरले बार्षिक प्रतिफल वितरण गर्ने लक्ष्य रहेको कुरा उल्लेख गर्नु भयो, यसको प्रमुख आधार के हो ? हो, हामीले सो प्रतिफल दिन सक्ने प्रक्षेपण सहित यो योजना बजारमा लिएर आएका छौं । धितोपत्र बोर्डले समेत प्रक्षेपित विवरणहरुलाई राम्रोसँग विश्लेषण गरेर मात्र स्विकृति प्रदान गरेको हो । यस योजनाको १० वर्षको वित्तीय प्रक्षेपणमा जुन किसिमको आधारभूत मान्यता र तथ्यलाई आधार मानिएको छ, त्यो सबै समय सान्दर्भिक रहेका छन् । तर, पनि योजनाको लगानी बजारको जोखिमभन्दा टाढा चाँहि अवश्य पनि रहेको छैन् । यसमा पनि दोस्रो बजारको प्राविधिक पक्षलाई समेत दृष्टिगत गर्दा सेयर बजारको न्यूनतम पनि ३ वटा बुल ट्रेन्डको अवसर पाउने समेत देखिन्छ, जसका लागि यस योजनाको १० वर्षे अवधिमा गरिएका अल्पकालिन तथा दीर्घकालिन रणनीतिक आधारले समेत हामीले लिएको लक्ष पुरा हुने विश्वास लिएका छौं । कस्ता पक्षले लगानीकर्तालाई यो फण्डमा लगानी गर्न प्रेरित गर्छ ? लगानीमा हुने जोखिम कम गर्दै उच्च प्रतिफलको पक्ष साथै दीर्घकालिन लगानीको एउटा राम्रो उपकरणको रुपमा लगानीकर्ताहरुलाई यस योजनाले प्ररित गर्छ जस्तो लाग्दछ । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गतको पहिलो एनआईबिएल समृद्धि फण्ड-१ को प्रगति विवरण कस्तो छ ? हाम्रो पहिलो स्किम एनआईबिएल समृद्धि फण्ड-१ को ७ वर्ष अवधि आउँदो पुसमा पूरा हुँदै गर्दा यस योजनाका इकाईधनीहरुलाई हामीले बजार कै उत्कृष्ट प्रतिफल दिन सफल भएका छौं । सो स्कीम अन्तर्गत हालसम्म ६३.५ प्रतिशत लाभांश वितरण गरिसकेको अवस्था छ भने पुससम्म थप ५० प्रतिशत वितरण गर्न सक्ने आधार तयार भईसकेको छ । यसरी हेर्दा ७ बर्षे अवधिमा औसत १५ देखि १६ प्रतिशतसम्मको प्रतिफल दिन सकिन्छ ।

दीर्घकालीन लगानीकर्तालाई २ प्रतिशत पुँजीगत लाभकर लगाउन पुँजीबजार फोरमको सुझाव

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको पुँजीबजार फोरमले आगामी आर्थिक वर्षकाे लागि ७ बुँदे सुझाव दिएकाे छ । फाेरमले आर्थिक वर्ष २०७८/७९ को लागि बैशाख १२ गते अर्थमन्त्रालय समक्ष कर सम्बन्धमा विभिन्न सुझाव पेश गरेकाे हाे । पुँजीबजारलाई लगानीकर्ता मैत्री बनाउन बढीभन्दा बढी तरल बनाई राजश्व सङ्कलनको मुख्य क्षेत्रको रुपमा विकास गर्नको लागि आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा कर कानुनमा सुधार आवश्यक रहेको बताउँदै फाेरमले उक्त सुझाव पेश गरेकाे हाे । यस्ता छन् ६ बुँदे सझावहरू  प्राकृतिक व्यक्तिले नेपाल स्टक एक्सचेन्ज लिमिटेडबाट सेयर कारोबार गर्दा प्राप्त भएको पुँजीगत लाभकरलाई आयकर ऐन, २०५८ को दफा ९२ मा अन्तिम रूपमा कर कट्टी हुने भुक्तानीमा समावेश गर्ने फाेरमकाे सुझाव रहेकाे छ । त्यस्तै, लगानीकर्तालाई अल्पकालीन र दीर्घकालीन २ भागमा विभाजन गरी सोहीअनुसार अल्पकालीन लगानीकर्तालाई ५ प्रतिशत र दीर्घकालीन लगानीकर्तालाई २ प्रतिशत पुँजीगत लाभकर लगाउने व्यवस्था गर्नुपर्छ । जुनसुकै प्रकारले सेयर प्राप्त गरेको दिनदेखि ३ सय ६५ दिनभित्र बिक्री गर्ने लगानीकर्तालाई अल्पकालीन लगानीकर्ता र ३ सय ६५ दिन पछी बिकी गर्ने लगानीकर्तालाई दीर्घकालीन लगानीकर्ता भनिन्छ । संस्थागत लगानीलाई आकर्षण गर्नको लागि संस्थाले सेयर कारोबार गरी प्राप्त गरेको आयमा १५ प्रतिशत आयकर लगाउने फाेरमकाे सुझाव छ । साथै, संस्थागत लगानीकर्ता र धितोपत्र व्यवसायीलाई अग्रिम करवापत १.५ प्रतिशत कायम गर्नुपर्ने छ । फाेरमले नेपाल धितोपत्र बोर्डमा दर्ता हुने सामुहिक लगानी कोषका योजनालाई आयकर ऐन, २०५८ को दफा १० मा कर नलाग्नेमा समावेश गर्नेुपर्ने सुझाव दिएकाे छ । त्यसैगरी, सामुहिक लगानी कोष (म्युचुअल फण्ड) मा एक लाख रुपैयाँसम्मको लगानी गर्ने लगानीकर्तालाई सो बराबरको रकम करयोग्य आयबाट घटाउन पाउने व्यवस्था गर्नुपर्ने फाेरमकाे सुझाव छ । साथै, सिष्टमेटिक इन्भेष्टमेन्ट प्लानमा लगानी गर्नेलाई आयकरमा छुट दिने व्यवस्था मिलाउन अर्थमन्त्रालयलाई फाेरमले सुझाव दिएकाे छ । देशमा व्यापार व्यवसाय विकास र विस्तारको लागि छरिएर रहेको पुँजीलाई संकलन गरी सरकार र निजी क्षेत्रको लागि नपुग पुँजी जुटाउन, अर्थतन्त्रलाई थप चलायमान बनाई सरकारको लागि राजस्व संकलनको नयाँ क्षेत्रको रुपमा विकास गर्न, कम्पनीहरुको वास्तविक मूल्य निर्धारण गर्ने क्षेत्र पुँजीबजार हो । स्वदेशी तथा विदेशी पुँजी आकर्षित गरि ठूलाठूला पूर्वाधार निर्माणदेखि स-साना स्टार्टअपको संचालनको लागि आवश्यक पुँजीको दीर्घकालीन व्यवस्थापन पुँजीबजारबाट गर्नको लागि सहज हुने हुँदा पुँजी बजारको विकास र विस्तार आवश्यक छ । पछिल्लो विवरण अनुसार कुल सुचिकृत कम्पनीको संख्या २ सय १८ पुगेको छ भने बजार पूँजीकरण ३७ खर्ब ३ अर्ब रुपैयाँ पुगेको छ । त्यस्तै, हितग्राही खाता (डिम्याट) खोल्नेको संख्या करिब ३५ लाख पुगेको छ । कुल जनसंख्याको १२ प्रतिशत पुँजीबजारमा आवद्ध भएका छन् । फागुन मसान्तसम्ममा करिब १८ खर्ब रुपैयाँ बराबरको कारोबार भइ करिब ८ अर्ब रुपैयाँ अग्रिम पूँजीगत लाभकर वापत सरकारी खातामा जम्मा भएको छ । यस हिसाबले आर्थिक वर्ष २०७७/७८ मा पुँजीबजारबाट प्राप्त हुने रकमले राजश्वमा १५ अर्ब रुपैयाँभन्दा बढी योगदान हुने देखिन्छ । नेपालको पुँजीबजारमा व्यक्तिगत लगानीकर्ताको संख्या ८९ प्रतिशत र म्युचुअल फण्डसहित संस्थागत लगानीकर्ताको संख्या ११ प्रतिशत छ । संस्थागत लगानीकर्ताको लागि करको दर बढी हुनु, प्राथमिक सेयरमा आवेदन बन्देज हुनु, जस्ता कारणले संस्थागत लगानीकर्ताको हिस्सा सार्क राष्ट्रमै न्यून छ । यसले गर्दा राजश्व सङ्कलनमा कमि आएको छ भने बजार स्थिरतालाई समेत असर परेको फाेरमले जनाएकाे छ ।

आईएमई जनरलले पानीपोखरीमा आफ्नै भवन बनाउने, सीईओ भन्छन्- छिट्टै पाँचौं स्थानमा स्थापित हुन्छौं

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सले पानीपोखरीमा आफ्नै भवन बनाउने भएको छ । बैशाख १२ गते बसेको सभाको निर्देशनसँगै कम्पनीले निकट भविष्यमानै पानीपोखरी स्थित मूख्य सडकमा जोडिएको जग्गामा भबन निर्माणको कार्य अगाडी बढाउने भएको हो । सो प्रयोजनको लागि कम्पनीले उक्त स्थानमा २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गा खरिद गरिसकेको छ । त्यसैगरी सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कम्पनीले आफ्ना ग्राहक, लगानीकर्ता, नियमनकारी निकायहरु र कर्मचारी साथीहरुको टिमको सहयोगबाट आज बीमा बजारमा एक अग्रणी कम्पनीको रुपमा स्थापित भईरहेको जानकारी गराए । त्यस्तै, यसलाई निरन्तरता प्रदान गर्न कम्पनी सदा तत्पर रहने उनले प्रतिवद्धता गरे । साथै, लगानीकर्ताको भावना र संचालक समितिको निर्देशनले अगाडी बढिरहेको र कम्पनीले क्रमश आफ्नो स्थान अग्रिणी गर्दै गएकोमा निकट भविष्यमानै ५औं स्थानमा कम्पनीलाई स्थापित गर्ने लक्ष्य रहेको पनि सीईओ श्रेष्ठले जानकारी गराए । आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको २३औं बार्षिक साधारण सभा मिति २०७८ साल बैशाख १२ गते आइतबार सम्पन्न भयो । विश्वव्यापि रुपमा फैलिरहेको कोभिड(१९ को दोश्रो लहरको कारणले गर्दा कम्पनीले अनलाईन रुपमा नै सभा सञ्चालन गरी सम्पन्न गरेको हो । कम्पनीका अध्यक्ष हेम राज ढकालले देशको आर्थिक विकासमा बीमाको ठूलो योगदान रहेको बताए । साथै, उनले हाल बीमा सम्बन्धमा जनमानसको सोचमा क्रमश परिवर्तन भई रहेकोले आगामी दिनमा नेपाली बीमा बजार अझै फराकिलो हुनेछ भन्ने विश्वास लिएको बताए । हाल कूल बीमाको पहुँच २६ प्रतिशत रहेको छ भने समग्र बीमाक्षेत्रको कूल ग्रार्हस्थ्य उत्पादनमा योगदान ३.४ प्रतिशत रहेको छ । बीमाको दायरामा वृद्धि भई व्यवसाय र मुनाफामा पनि क्रमश वृद्धि हुने अध्यक्ष ढकालको विश्वास छ । आईएमई इन्स्योरेन्सले पछिल्लो समय बीमा सेवामा देखिएको प्रतिष्पर्धा, ग्राहकमुखी सेवा, सेवामा विविधता, सेवाको पहुंच विस्तार आदीले बीमा व्यावसाय वृद्धि, नाफामा वृद्धि भएबाट पूंजीबजारमा समेत ठूलो हिस्सा बीमा क्षेत्रले ओगट्न सफल भएको छ । बीमा क्षेत्रको दिगो विकासको लागि गुणस्तरीय सेवा, बीमाको नयाँ नयाँ क्षेत्र पहिल्याई आम नागरिकलाई सहज सेवा प्रदान गर्ने हेतुले आगामी बर्षमा अझै नविनतम सेवाहरु सहित ग्राहकमुखी भएर सन्तुष्ठ ग्राहकको संख्यामा वृद्धि गरी अगाडी बढ्ने कम्पनीको लक्ष्य रहेको छ । बीमाको पहुंचलाई देशको सबै क्षेत्रमा पुर्याउने हेतुले कम्पनीले ७ वटै प्रदेशबाट ग्राहकलाई बीमा सेवा प्रदान गर्दै आईरहेको छ । बीमा अर्थतन्त्रको एक उत्कृष्ठ हिस्सा बनिरहेको वर्तमान परिप्रेक्षमा यसको पहुंच विस्तार तथा विकासको लागि हरसम्भव प्रयत्न गर्दै आईरहेको जानकारी गराए । आगामी दिनहरुमा शाखा विस्तार भन्दा पनि गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य सहित कम्पनी अगाडी बढी रहेको । आ.ब. २०७५/७६ मा १ अर्ब २६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेकोमा समीक्षा बर्षमा १ अर्ब ३९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । गत बर्षको तुलनामा कम्पनीको बीमा शुल्क १०.४५ प्रतिशतले वृद्धि भएको छ । चालु आ.ब.को चैत मसान्तसम्ममा कम्पनीले कूल १ अर्ब १४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरिसकेको कम्पनीका अध्यक्ष ढकालले जानकारी गराए । सीईओ श्रेष्ठले नियमनकारी निकायको निर्देशन तथा राष्ट्रिय महत्वको बिषय रहेको लघु बीमा, कृषि तथा पशु बीमा लगायत स्वस्थ्य बीमालाई अगाडी बढाउँदै बीमा सेवालाई जनस्तरसम्म पुर्याउनको लागि ७ वटै प्रदेशहरुमा शाखा विस्तार गरेको पनि जानकारी गराए । सम्बन्धित समाचार आईएमई जनरल इन्स्योरेन्सको प्रस्तावित बोनस र हकप्रद दुबै पारित