जीवन विकास लघुवित्तको आईपीओ खुल्यो, भर्ने की नभर्ने ? यस्तो छ सीईओको सुझाव

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) आज असार ११ गतेदेखि बिक्री खुला भएको छ । संस्थाले कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका १९ लाख ७७ हजार ३०० कित्ता साधारण सेयर बिक्री खुला गरेको हो । जसमध्ये जारी पूँजीको ५ प्रतिशत अर्थात ३० हजार ४२० कित्ता सेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ९८ हजार ८६५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । र, बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ता सेयर सर्वसाधारणमा बिक्री गरिने छ । यससँगै इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । उनीहरुले असार ११ गतेदेखि १५ गतेसम्म मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् । यदि, सो अवधिसम्म माग अनुसारको आवेदन नपरेमा असार २५ गतेसम्म सेयर बिक्री खुला गरिने संस्थाले जानकारी गराएको छ । जीवन विकासको आईपीओमा लगानी गर्न लगानीकर्तालाई कुनै दुविधा हुँदैनः सीईओ मण्डल उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । सेयर निष्कान गर्नको लागि इक्रा नेपालले लघुवित्तलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बि माइनस’ रेटिङ्ग प्रदान गरेको छ । जसले संस्थामा मध्यम क्रेडिट जोखिमका साथै समयमा वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको जनाउँछ । उक्त रेटिङ्गको अवधि जारी मितिबाट एक वर्ष अर्थात २०७८ फागुन १६ गतेसम्म हुने छ । त्यस्तै, आर्थिक वर्ष २०७६/७७ मा संस्थाको प्रतिसेयर आम्दानी १०४.९७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ३०५.२७ रुपैयाँ रहेको छ । लगानीकर्तालाई सीईओकाे आग्रह ‘लगानीकर्तामा के आग्रह गर्न चाहान्छु भने, संस्थाको रियल फिगर बुझ्नुहोस्, त्यसपछि मात्रै संस्थाको सेयरमा आकर्षित हुनुहोस्, कुनै पनि क्षेत्रमा लगानी गर्दा बुझेर लगानी गर्नु, संस्थाको वित्तीय अवस्थासँगै अन्य विवरणहरु, फिल्डमा भएका कार्यक्रम, सेवाको गुणस्तर लगायतका विभिन्न विषय बुझ्न जरुरी हुन्छ, लघुवित्तले लगानी गरेको पोर्टफोलियो करिब ९० प्रतिशत त फिल्डमा हुन्छ, त्यसैले, त्यसको क्वालिटी के कस्तो छ ? सबै बुझ्न आवश्यक छ’, सीईओ सञ्जयकुमार मण्डलले बताए । ‘जीवन विकास लघुवित्तको हकमा यी सबै क्षेत्रमा राम्रै छ । जुन अहिलेका लगानीकर्ता बुझ्नु भएकै छ र लगानी गर्न उत्साहित नै हुनुहुन्छ । मलाई लाग्छ यो आईपीओमा राम्रै आवेदन पर्छ । सबैलाई संस्थाको अवस्था बुझेर ढुक्क भएर लगानी गर्न आग्रह गर्छु । अब पर्ने नपर्ने सिष्टमको कुरा हो’, उनले विकासन्युजसँग भने । ‘जीवन विकासमा लगानी गर्ने लगानीकर्ताले लगानी गरेको पहिलो वर्षदेखि नै प्रतिफल पाउने सूनिश्चिता छ, विगतदेखि नाफामा गइरहेको संस्था भएकाले पनि त्यसमा कुनै समस्या छैन, रिटर्न दिन सक्ने क्षमतामा नै छौं, विगतका वर्षमा निरन्तर नाफा कमाएको संस्थाले पछिल्लो त्रैमासमा ५६ करोड रुपैयाँ खुद नाफा कमाउन सफल भएका छौं, म यत्ति भन्न चाहान्छु, रिटर्नमा अन्य लघुवित्त सरह नै जानेछौं, तर यति उति दिन्छौं भनेर अहिलै भन्न मिल्दैन, किनभने प्रतिफलको विषयमा निर्णय गर्ने सञ्चालक समितिले हो’, प्रतिफलबारे थप प्रष्ट पार्दै उनले भने ।

एभरेष्ट इन्स्योरेन्सका सीईओ गौतमले पाए निरन्तरता, संस्थालाई थप उचाईमा पुर्याउने प्रतिवद्धता

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कमल गौतमले निरन्तरता पाएका छन् । पहिलो कार्यकाल सकिनु अघि नै बीमा समितिले उनलाई इन्स्योरेन्समा निरन्तरता दिन स्वीकृति दिएको हो । सीईओ गौतमको पहिलो कार्यकाल आगामी असार १६ गते सकिँदै थियो । तर बीमा समितिले असार १० गते नै सञ्चालक समितिको प्रस्ताव अनुसार उनलाई दोश्रो कार्यकालको लागि स्वीकृति दिएको हो । कम्पनी सञ्चालक समितिको बैठकले सीईओ गौतमको कार्यकुशलता र व्यवस्थापकीय क्षमतालाई मुल्याङ्कन गर्दै पुनः नियुक्तिको लागि बीमा समितिमा प्रस्ताव गरेको थियो । गाैतमले २०७४ असारदेखि नै कम्पनीकाे प्रमुख कार्यकारी अधिकृतकाे कार्यभार सम्हाल्दै आएका छन् । चार वर्ष अवधिकाे पहिलो कार्यकालमा इन्स्योरेन्सलाई एक उचाईमा पुर्याउन सफल भएकोले नै थप चार वर्ष काम गर्ने अवसर जुटेको हुन सक्ने सीईओ गौतमकाे दावी छ । ‘बैंकिङ्ग क्षेत्रबाट आएको म, नयाँ क्षेत्रमा जे जति गर्न सकेँ त्यो गरेँ, व्यवस्थापकीय चुनौतिलाई पार गर्दै संस्थालाई एउटा ठाउँमा पुर्याएँ, त्यसको लागि म सन्तुष्ट छु, त्यसैले पनि मलाई दोश्रो कार्यकालको लागि काम गर्ने अवसर आयो होला,’ उनले पहिलो कार्यकालको अनुभव बताउँदै भने । पुनः नियुक्ति पाएसँगै गौतमले आगामी चार वर्षसम्म कम्पनीको सीईओ पदको कार्यभार सम्हाल्ने छन् । यो अवधिमा इन्स्योरेन्सलाई थप उचाईमा पुर्याउने उनको योजना रहेको छ । ‘पहिलो कार्यकाल जस्तै अबको कार्यकालमा पनि नियम कानुन संगत ढंगले संस्थाको कर्पोरेट भिजन र स्ट्रयाटेजीलाई अगाडि बढाउने हो, कम्पनी बीमित लगायत समग्र बीमा क्षेत्रको हितमा काम गर्ने हो, संस्थालाई व्यवसायिक रुपमा अगाडि बढाउने, नाफा बढाउने, संस्थालाई सबल बनाउने, ब्राण्ड इमेजलाई बढाउने त छँदै छ, यसलाई सँगै निरन्तरता नै दिँइरहने हो । समय परिवर्तनशील छ, अविरल यात्रामा अगाडि बढिरहेका छौं, सायद अबको ४ वर्षमा संस्थालाई थप उचाईमा पुर्याउन सकिन्छ होला, त्यहि अनुसार अगाडि बढ्ने छौं,’ उनले विकासन्युजसँग भने । पाल ग्रिन्डलैज बैंकबाट प्रोफेसनल बैंकिङ्ग क्यारियर शुरु गरी हिमालयन बैंक, एनआईसी एसिया बैंक, एनबि बैंक, सनराइज बैंक हुँदै पछिल्लो समय इन्फ्रान्स्टक्चर डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा रही काम गरेका गौतमले इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकलाई सुधार गर्न महत्वपुर्ण भुमिका खेलेका थिए । हालै इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैक, एनसीसी बैंकमा गाभिए पश्चात नायव महाप्रवन्धकको जिम्मेवारी सम्हाल्दै आएका गौतमले केही महिना अघि बैंकबाट राजिनामा दिई अवकास लिएका थिए । समस्याग्रस्त संस्थालाई सुधार गर्न अनुभवी गौतम निर्णय एवम व्यवस्थापकीय क्षमतामा अव्वल मानिन्छन् । इन्स्याेरेन्समा नियुक्त हुनुअघि नै करिब २६ वर्षको बैंकिङ्ग अनुभव सम्हालेका गौतम त्रिभुवन विश्वविद्यालयवाट व्यवस्थापन विषयमा स्नातकोत्तर हुन् ।

एनएमबी लघुवित्तले शुरु गर्यो ऋण अटोमेसन प्रणाली, अब कागज बिनै ऋण पाइने

काठमाडौं । एनएमबी लघुवित्त वित्तीय संस्थाले एस्.बी. सोलुसन्स् प्रा.लिसँग सहकार्य गरेर क्रेडिट-एक्स नामक ऋण अटोमेसन प्रणालीलाई लाइभ गरेको छ । इन्टर्नल ऋण वर्कफ्लो, जोखिम मूल्याकंन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज गर्नको लागि संस्थाले उक्त प्रणाली शुरु गरेको हो । जसमा एनएमबी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत आनन्द पान्डे र एसबी सोलुसन्सका अध्यक्ष विपुल ढकालले आ-आफ्नो संस्थाको तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका हुन् । क्रेडिट-एक्स (ऋण अटोमेसन प्रणाली) को थालनीसँगै, लघुवित्त संस्थाले पूर्ण रूपमा कागज निर्भर ऋण कार्यप्रवाह गर्न सक्षम हुनेछन् । यसले प्रणाली भित्र जोखिम प्यारामिटरको अनुगमन गरेर ऋण लिएका ग्राहकसँग सम्बन्धित जोखिम न्यूनीकरण गर्नलाई पनि सहयोग पुर्याउनेछ । यो नयाँ तरिकाले लघुवित्त संस्थालाई द्रुत गतिमा ऋण प्रक्रिया पूरा गर्न मद्दत गर्दछ । प्रणालीले जमानत र गैर जमानत बेस लोन पनि प्रोसेस गर्ने गर्दछ । ऋण स्वचालन प्रणाली अन्तर्राष्ट्रिय मापदण्ड अन्तर्गत रहेको रेटिंगको दृष्टिकोणमा निर्माण गरिएको छ । यो स्वायत्त सिस्टम, प्रणालीले संचालित ग्राहकको उद्देश्य मूल्याकनका साथसाथै विषयगत प्यारामिटरको मानकीकरणको रुपमा पनि रहेको छ । यस नयाँ प्रणाली कार्यान्वयन भएसाथै, लघुवित्त संस्थाहरूका उपभोक्ताहरूले प्रशोधन र ऋण स्वीकृति प्रक्रियाको टर्न अराउन्ड समयमा ५० प्रतिशतभन्दा बढी कटौतीको अनुमानित लाभ लिन पाउनेछन् । एसबी सोलुसन्स्ले बैंक तथा बित्तिय संस्थाहरुमा कर्जा पक्रियालाई अटोमेसन तथा डिजिटाइजेसन गर्न क्रेडिट-एक्स नामक सफ्टवेयर जडान तथा इम्पिलीमेन्टेसन गर्दै आईरहेको छ । साथै एसबी सोलुसन्सले डिजिहब सँगको सहकार्यमा पेमेन्ट अटोमेसन, एपीआई सर्भिसेस अटोमेसन तथा डिजिटाइजेसनको कामहरु पनि गर्दै आइरहेको छ ।