१८४ कम्पनीको सेयर मूल्य बढ्यो, ५ अर्बको कारोबार
काठमाडौं । मंगलबार सेयर बजार बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २२ अंकले बढेर २ हजार ७७७ बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार १८४ कम्पनीको सेयर मूल्य बढ्दा ७७ कम्पनीको सेयर मूल्य घटेको छ । १० कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । मंगलबार ३४६ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २६ कराेड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार आँखु खोला जलविद्युतको भएको छ । आँखु खोलाको ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै नेपाल रिइन्स्योरेन्सको २६ करोड ७८ लाख, रिडिपावरको २६ करोड, ५ लाख, सेन्ट्रल फाइनान्सको २२ करोड र हिमालयन रिइन्स्योरेन्सको १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार कालिन्चोक हाइड्रोपावरको सेयर मूल्य १४.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । आज सेन्ट्रल फाइनान्स, क्रेष्ट माइक्रो लाइफ, नेपाल रिइन्स्योरेन्स र गुरखाज फाइनान्सको लगानीकर्ताले कमाएका छन् । आज १२ उपसमूहको सूचकमा हरियाली छाएको छ । बैंकिङ ०.१४ प्रतिशत, डेभलपमेन्ट बैंकको ०.५९ प्रतिशत, फाइनान्स ६.०३ प्रतिशत, होटल तथा पर्यटन ०.१२ प्रतिशत, हाइड्रोपावर ०.६१ प्रतिशत, इनभेष्टमेन्ट ०.२० प्रतिशत र लाइफ इन्स्योरेन्स ०.२७ प्रतिशत बढेका छन् । साथै माइक्रो फाइनान्स ०.४० प्रतिशत, म्यूचल फन्ड ०.२९ प्रतिशत, नन लाइफ इन्स्योरेन्स, अन्य ३.८४ प्रतिशत र ट्रेडिङ १.१३ प्रतिशतले बढेका छन् ।
नेपाल बैंक र मेधर्म क्लिनिक्सबीच सम्झौता, ग्राहकलाई उपचारमा १५ प्रतिशत छुट
काठमाडौं । नेपाल बैंक लिमिटेड र मेधर्म क्लिनिक्स् प्रालिबीच स्वास्थ्य सेवा सहुलियत सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता जेठ १३ गते सम्पन्न भएको हो । सम्झौताअनुसार नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहक तथा बैंकमा कार्यरत कर्मचारीहरूले काठमाडौ‌ंको दरबारमार्गस्थित मेधर्म क्लिनिक्स् प्रालिमा उपचार गर्दा विभिन्न सेवामा लाग्ने शुल्कमा १५ प्रतिशत छुट प्राप्त गर्नेछन् । सम्झौता पत्रमा नेपाल बैंक लिमिटेडको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी र मेधर्म क्लिनिक्स् प्रालिका प्रमुख कार्यकारी अधिकृत डा. अनुप सुवेदीले हस्ताक्षर गरेका छन् । यस सहकार्यबाट नेपाल बैंकका ग्राहक तथा कर्मचारीहरूले सहुलियतपूर्ण स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास गरिएको छ । हाल नेपाल बैंक लिमिटेडले देशभर २३१ शाखा, २४६ एटीएम तथा ६१ एक्सटेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । बैंकले आधुनिक प्रविधि र सुधारिएको सेवा प्रणालीमार्फत प्रतिस्पर्धात्मक रूपमा बैंकिङ सेवा विस्तार गर्दै आएको जनाएको छ ।
सिटिजन्स बैंक र ‘र्यापिड’बीच सहकार्य, कर्पोरेट बैंकिङ सेवा एकै प्लेटफर्मबाट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र एपीआई बैंकिङ प्लेटफर्म ‘र्यापिड’बीच सहकार्य भएको छ । यससँगै बैंकका कर्पोरेट ग्राहकले अब विभिन्न बैंकिङ सेवा सञ्चालनका लागि छुट्टाछुट्टै प्लेटफर्म प्रयोग गर्नुपर्ने झन्झटबाट मुक्ति पाउने भएका छन् । सहकार्यपछि ‘र्यापिड’ प्लेटफर्मलाई सिटिजन्स बैंकको प्रणालीमा एकीकृत गरिएको छ । ‘र्यापिड’ एपीआईमा आधारित बैंकिङ प्लेटफर्म हो, जसले बैंकिङ एज ए सर्भिस मोडलमार्फत बैंक, फिनटेक तथा डिजिटल सेवा प्रदायकलाई जोड्ने काम गर्छ । यस सुविधा प्रयोगसँगै कर्पोरेट ग्राहकले अब आफ्नै सफ्टवेयर वा ईआरपी प्रणालीमार्फत एउटै प्लेटफर्मबाट खाताको ब्यालेन्स हेर्न, स्टेटमेन्ट डाउनलोड गर्न तथा आगामी दिनमा फण्ड ट्रान्सफर, ईएमआई भुक्तानी र तलब वितरणजस्ता सेवा सञ्चालन गर्न सक्नेछन् । प्रयोगकर्ताले ‘कनेक्ट विथ एपीआई बैंकिङ’ विकल्पमार्फत आफ्नो बैंक खाता लिंक गर्न सक्नेछन् । सेवा प्रयोग गर्न ग्राहकले बैंकमा एक पटक मात्र मोबाइल बैंकिङजस्तै फाराम भर्नुपर्नेछ र त्यसपछि अधिकांश सेवा अनलाइनमार्फत सञ्चालन गर्न सकिने बैंकले जनाएको छ । बैंकका अनुसार ‘र्यापिड’ले ग्राहकको अनुमति (कन्सेन्ट) प्रक्रियालाई पनि डिजिटल बनाएको छ, जसले सेवा प्रयोगलाई अझ सहज र पारदर्शी बनाउनेछ । प्लेटफर्ममा एण्ड–टु–एण्ड इन्क्रिप्सन, मल्टिलेयर भेरिफिकेशन तथा अत्याधुनिक सुरक्षा प्रोटोकल प्रयोग गरिएकोले डिजिटल कारोबार सुरक्षित हुने विश्वास लिइएको छ । बैंकले एपीआई बैंकिङ अवधारणालाई सहज र पहुँचयोग्य बनाउँदै साना, मझौला तथा ठूला व्यवसायलाई समान रूपमा डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ ।