सहकारीको आयकर घट्यो, अब कुनलाई कति ?

काठमाडौं । सरकारले सहकारीको आय कर घटाएको छ । चालु आर्थिक वर्ष २०७९/०८० को बजेटमार्फत बृद्धि गरेको सहकारीको आयकर बिहीबार आर्थिक ऐन २०७९ संशोधन गर्दै घटाएको हो । आयकर वृद्धिको चौतर्फी विरोध भएपछि अर्थमन्त्री जनार्दन शर्माको प्रस्तावमा मन्त्रीपरिषद्ले सहकारीलगायत क्षेत्रको कर घटाएको हो । अब सहकारी संस्थाहरुको करयोग्य आयमा नगरपालिकाभित्र सञ्चालित संस्थालाई ५ प्रतिशत, उपमहानगरका लागि ७ प्रतिशत र महानगरको हकमा १० प्रतिशत आयकर लाग्नेछ । अर्थमन्त्री शर्माले भने चालु आवको बजेटमा सहकारीको करको दरमा ५० प्रतिशत बृद्धि गर्दै नगरपालिकाभित्र सञ्चालन भएकोमा ७.५, उपमहानगर क्षेत्रभित्र सञ्चालन भएकोमा १० र महानगरक्षेत्रभित्र सञ्चालन भएकोमा १५ प्रतिशत करलाग्ने ब्यवस्था गरेका थिए ।

अजोड इन्स्याेरेन्स र इ–बीमा बीच सम्झौता

काठमाडौं । पहिलो डिजिटल बीमा सेवा प्रदायक इ–बीमा र अजोड इन्स्याेरेन्सबीच सम्झौता भएको छ । सम्झौता पत्रमा इ–बीमाको तर्फबाट प्रबन्ध निर्देशक रोशनप्रसाद ज्ञवाली र अजोड इन्सुरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार इ–बीमाले संस्थागत एजेन्सीको रूपमा काम गर्नेछ र सामान्य बीमा उत्पादनहरूलाई यसको अत्याधुनिक डिजिटल प्लेटफर्ममा एकीकृत गरी सर्वसाधारणलाई बीमा योजनाहरू प्राप्त गर्न सजिलो र पहुँच योग्य बनाउने छ । इ–बीमा सन् २०१५ देखि विभिन्न बीमा उत्पादन र सेवाहरूलाई डिजिटलाइज गर्न सक्रिय छ ।

पूर्वका विभिन्न जिल्लामा लुम्बिनी जनरल इन्स्योरेन्सले दियो वित्तिय तालिम

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले पूर्वका विभिन्न जिल्लाका नगरपालिकाहरुमा तालिम सम्पन्न गरेको छ । कम्पनीले भदौ ९ गतेदेखि १७ गतेसम्म पूर्वका विभिन्न जिल्लाका नगरपालिकाहरुमा पशुपञ्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिम, बीमा सचेतना कार्यक्रम, कृषि बीमा सचेतना कार्यक्रम र बीमा अभिकर्ता तालिमहरु सम्पन्न गरेको हो । कम्पनीले भदौ ९ गतेदेखि ११ गतेसम्म संखुवासभाको खाँदबारीमा ३० जना सहभागीहरुलाई ३ दिने कृषि, पशुपञ्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिम प्रदान गरेको थियो । भदौ ११ गते नै कम्पनीले खांदबारीमा नै बीमा सचेतना कार्यक्रम समेत सम्पन्न गरेको थियो । त्यसैगरी, कम्पनीले भदौ १२ गते षडानन्द नगरपालिकामा ३८ जनालाई कृषि बीमा सम्बन्धी सचेतना कार्यक्रम, भदौ १३ गते संखुवासभाको धर्मदेवी नगरपालिकामा ४० जना सहभागीहरुलाई कृषि बीमा सम्बन्धी सचेतना कार्यक्रम, भदौ १५ गतेदेखि १७ गतेसम्म झापाको दमक नगरपालिकामा ३५ जना सहभागीहरुलाई ३ दिने निर्जिवन बीमा अभिकर्ता आधारभूत तालिम सम्पन्न गरेको थियो । कार्यक्रमहरुमा कम्पनीका सहायक महाप्रबन्धक नवराज तिमिल्सेनाले तालिम दिएका थिए भने कार्यक्रमको व्यवस्थापन कम्पनीका स्थानिय शाखा कार्यालयहरुले गरेका थिए ।