बीमा प्राधिकरणको गुनासो सुन्ने अधिकारीमा तोकिए विरोध भट्ट

काठमाडौं । नेपाल बीमा प्राधिकरणले उप निर्देशक विरोध भट्टलाई गुनासो सुन्ने अधिकारी तोकेको छ । मंसिर २८ गतेको निर्णय बमोजिम भट्टलाई गुनासो सुन्ने अधिकारीमा तोकिएको हो । साथै, उनको अनुपस्थितिमा सहायक निर्देशक रञ्जिता केसीलाई बैकल्पिक गुनासो सुन्ने अधिकारीको रुपमा तोकिएको छ ।

रिलायन्स लाइफले बीमालेख धितो कर्जामा बढायो ब्याज, पुसदेखि नै लागू हुने

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले बीमालेख धितो कर्जामा वार्षिक १२ प्रतिशत ब्याज दिने भएको छ । इन्स्योरेन्सले यसअघिको व्यवस्थालाई परिमार्जन गर्दै सो मात्राको ब्याज दिने भएको हो । यसअघि बीमालेख धितो कर्जाको वार्षिक कर्जा ब्याजदर १० प्रतिशत थियो । कम्पनीले एक सुचना जारी गर्दै कम्पनीबाट आफ्नो बीमालेख धितो राखी लिइएको कर्जाको वार्षिक ब्याजदर बढाएको जानकारी गराएको छ । उक्त सूचना अनुसार नयाँ ब्याजदर आगामी पुस १ गतेदेखि लागू हुने छ । साथै, इन्योरेन्सले आफुले लिएको कर्जा, उक्त कर्जामा लागेको ब्याज रकम समयमा नै भुक्तानी गर्न समेत सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा ईश्वरी प्रसाद अर्याल

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि इन्स्योरेन्स) को अध्यक्षमा ईश्वरी प्रसाद अर्याल नियुक्त भएका छन् । मंसिर १९ गतेको मन्त्रिस्तरिय निर्णय अनुसार अर्याललाई कम्पनीको सञ्चालक समितिको अध्यक्ष तोकिएको हो । सरकारले उनलाई अर्को व्यवस्था नभएसम्मको लागि रिक्त रहेको अध्यक्ष पदको जिम्मेवारी दिएको हो । अर्थमन्त्रालयबाट प्रतिनिधित्व गर्दै आएका अर्याल यसअघि कम्पनीको सञ्चालक सदस्य थिए । उनी अर्थमन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव समेत हुन् । यसअघि कम्पनीको अध्यक्षमा डा. रविन्द्र घिमिरे थिए । उनले आफ्नो कार्यकाल सकिनुअघि नै राजिनामा दिएपछि कम्पनीको अध्यक्ष पद रिक्त थियो । निवर्तमान अध्यक्ष घिमिरेले गत मंसिर ११ गते राजिनामा दिएका हुन् । कोरोना बीमाको दावी भुक्तानीको विषयमा भएको विवादका कारण घिमिरेले स्वच्छिक रुपमा अध्यक्ष पदबाट राजिनामा दिएका थिए ।