नबिल इन्भेष्टमेन्ट बैंकिंङ र नेपाल बंगलादेश क्यापिटलबीच एकिकृत कारोबार सुरु

काठमाडौं । नेपाल बंगलादेश क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिंङले एकिकृत कारोबार सुरु गरेको छ । एक आपसमा गाभिई दुई कम्पनीले शुक्रबार पुस १ गतेबाट एकिकृत कारोवार सुरु गरेको हो । यी संस्थाका प्रवर्धक नबिल बैंकले एनबी बैंकलाई प्राप्ती गरेपश्चात् भाद्र २१, २०७९ मा दुई संस्थाबीच सैद्धान्तिक सहमति भई संयुक्त मर्जर कमिटी गठन गरिएको थियो । त्यसपछि, मंसिर १८ मा दुवै संस्थाले आ–आफ्नो विशेष साधारण सभा गरी एक आपसमा गाभ्ने गाभिने सम्बन्धि एजेन्डा पारित गरेको थियो । विशेष साधारण सभाबाट अनुमोदित निर्णय सहित दुवै संस्थाबाट एकिकृत कारोबारका लागि कम्पनी रजिष्ट्रारको कार्यालयमा निवेदन पेश गरिएको थियो । कम्पनी रजिष्ट्रारको कार्यालयमा पेश गरेको निवेदनबाट एकिकृत कारोवारको लागि स्विकृति प्राप्त भए पश्चात् गत मंसिर २७ गते कम्पनीको संचालक समितिले पुस १ गतेबाट एकिकृत कारोबार गर्ने निर्णय गरेको थियो ।

लगानीकर्ता न्यौपाने र प्रधानलाई कारवाही गर्दै धितोपत्र बोर्ड, अवैध कारोबार गरेको ठहर

काठमाडाैं । नेपाल धितोपत्र बोर्डले लगानीकर्ता गुरुप्रसाद न्यौपाने र ज्ञानेन्द्रलाल प्रधानलाई कारवाही गर्ने भएको छ । मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले रिडी हाइड्रोपावर कम्पनीका पूर्वअध्यक्ष न्यौपाने र नेपाल हाइड्रो डेभलपर्स कम्पनीका पूर्वअध्यक्ष प्रधानलाई कारवाही गर्ने निर्णय गरेको हो । अवैध रुपमा सेयर कारोबार गरेको ठहर भएपछि बोर्ड बैठकले न्यौपाने र प्रधानलाई कारवाही गर्ने निर्णय गरेको बोर्ड श्रोतले बतायो। ‘उहाँहरुले सञ्चालक समितिमा हुँदा नियम विपरित कारोबार गरेको पाइएको छ’ बोर्डको उच्च श्रोतले बताउँदै भन्यो- ‘बोर्डले उहाँहरुलाई दोषी समेत ठहर गरिसकेको छ, अब तत्काल कारबाहीको प्रकृया अगाडी बढाइने छ । ‘ न्यौपानेले रिडी हाइड्रोपावरमा अध्यक्ष रहेकै समयमा कम्पनीको सेयर किनबेच गरेका थिए । त्यस्तै,  प्रधानले पनि नेपाल हाइड्रोपावरको अध्यक्ष रहेकै समयमा आफ्नो श्रीमती बिमला श्रेष्ठ प्रधान, छोरा चेतन प्रधान र छोरी निभिता प्रधानको नाममा रहेको सेयर कारोबार गरेका थिए । सञ्चालक समितिमा रहँदा वा सञ्चालक समिति छोडेको एक वर्षभित्र आफू वा एकाघरको व्यक्तिले सम्बन्धित कम्पनीको सेयर कारोबार गर्न नपाउने व्यवस्था छ । उक्त व्यवस्थाविपरित कारोबार गरेको ठहर भएसँगै बोर्डले कारवाहीको प्रकृयालाई अघि बढाउने निर्णय गरेको हो । बोर्डले धितोपत्र ऐन अनुसार कारवाहीको प्रकृया अघि बढाउने भएको छ । ऐनमा ‘कुनै पनि सूचीकृत कम्पनीको सञ्चालक, कार्यकारी प्रमुखलगायतका पदाधिकारीहरुले पदमा रहँदा वा पदबाट हटेको १ वर्षसम्म आफ्नो वा आफ्नो परिवार र आफू संलग्न कम्पनीमार्फत् त्यस्तो कम्पनीको सेयर खरिदबिक्री गर्न नपाइने’ व्यवस्था छ । यो व्यवस्था विरुद्ध काम कारवाही गरेमा २५ देखि ७५ हजारसम्म जरिवाना र १० वर्षसम्म कुनै पनि सूचीकृत कम्पनीमा सञ्चालक समिति लगायत माथिको कुनैपनि पदमा नियुक्ति लिन पाइने छैन ।

रेमिट टु नेपालले विजेता हिरा बिकलाई हस्तान्तरण गर्यो १० ग्राम सुन

काठमाडौं । रेमिट टु नेपालले ‘चाड पर्वको बहार सुन चाँदी र नगद उपहार’ का विजेता हिरा बिकलाई १० ग्राम सुन हस्तान्तरण गरेको छ । कम्पनीले चाड पर्व लक्षित उपहार योजनाका विजेता बिकलाई एक कार्यक्रमकाबीच उक्त पुरस्कार हस्तान्तरण गरेको हो । हाल दुबईमा कार्यरत बिकले फेडरल एक्सचेन्जबाट रेमिट टु नेपाल मार्फत रकम पठाउँदा उक्त योजना अन्तगर्त १० ग्राम सुन उपहार पाएका थिए । कम्पनीले सो योजना भदौ १५ गतेदेखि कार्तिक १५ गतेसम्म सञ्चालन गरेको थियो । जसअन्तर्गत रेमिट टु नेपाल मार्फत रकम पठाउँदा ९ जनाले १० ग्राम चाँदी र बम्परमा एकजनाले १० ग्राम सुन प्राप्त गरेका हुन् । त्यस्तै, कम्पनीका अनुसार यो उपहार योजनाअन्तर्गत उत्कृष्ट कारोबार गर्ने १६ सहकारी तथा निजी सब-एजेन्टलाई सुन, चाँदी र नगद उपहारद्वारा पुरस्कृत गरिएको छ । रेमिट टु नेपालले विश्वका विभिन्न मुलुकहरुबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको छ । जसले पछिल्लो समय आफ्नो सेवा विस्तारसंगै ग्राहक तथा साझेदारहरुको सेवा सुबिधालाई पनि प्राथमिकतामा राखेको छ । सम्बन्धित समाचार रेमिट टु नेपालबाट पैसा पठाउने हिरा बिकले पाए १० ग्राम सुन, ९ जनाले पाए चाँदी