अब टिमुर र मेन्था खेतीको पनि बीमा हुने, बीमाशुल्क ५ प्रतिशत मात्रै, दुई लाखको दुर्घटना बीमा सुविधा

काठमाडौं । अबदेखि टिमुर र मेन्था खेतीको पनि बीमा हुने भएको छ । नेपाल बीमा प्राधिकरणले ‘टिमुर खेती बीमालेख’ र ‘मेन्था खेती बीमालेख’ जारी गर्दै उक्त खेतीको पनि बीमा हुने व्यवस्था गरेको हो । प्राधिकरणका अनुसार यो दुबै बीमालेख बीमाशुल्क भुक्तानी गरेपछि मात्रै शुरु हुने छ । बीमालेखको अवधि टिमुर तथा मेन्था खेती बीमालेख जारी गर्दा घण्टा र मिनेटसम्म खुल्ने गरी समय उल्लेख गर्नुपर्नेछ । बीमालेख जारी भएको मिति र जोखिम शुरु भएको मिति फरक हुने गरी बीमालेख जारी गर्न पाइने छैन । टिमुर बीमालेखको अवधि एक वर्ष मेन्था बीमालेखको अवधि ४ महिनाको हुने छ । टिमुरको खेतीको बीमा २० वर्ष उमेरसम्मको बोटको गर्न सकिन्छ । आंशिक बीमा गर्न नपाइने एउटै क्षेत्रफलमा लगाइएको टिमुर खेतीको आंशिक रुपमा बीमा गर्न पाइने छैन । टिमुर खेतीको बीमा लागत र उत्पादनको आधारमा गर्न सकिनेछ । त्यस्तै, बीमालेख बमोजिम गरिने टिमुर खेतीको बीमाशुल्क गणना गर्दा लागतको आधारमा ३ प्रतिशत र उत्पादनको आधारमा ५ प्रतिशत बीमाशुल्क लाग्ने छ । मेन्था खेतीको बीमाशुल्क गणना गर्दा कच्चा पदार्थ उत्पादनको आधारमा ४ प्रतिशत र सुगन्धित तेल उत्पादनको आधारमा ५ प्रतिशत बीमाशुल्क लाग्नेछ । त्यस्तै, बीमालेख जारी भइसके पश्चात बीमांक रकम परिवर्तन गर्न पाइने छैन । बीमा अवधिभित्र टिमुर खेती थप गर्नु परेमा थप खेतीको लागि छुट्टै बीमालेख जारी गर्नुपर्ने छ । तीन महिनापछि मात्र बीमा टिमुर खेतीको बीमा बेर्ना रोपेको तीन महिनापछि बीमा गर्नुपर्ने छ । उक्त खेती समुन्द्र सतहबाट एक हजारदेखि दुई हजार पाँच सय मिटरसम्मको उचाईमा खुकुलो बलौटे माटोमा गर्नुपर्ने व्यवस्था छ । यो बीमालेखले रक्षावरण गरेको जोखिमहरुका कारणबाट टिमुर खेतीको क्षति भएमा क्षति भएको तीन दिनभित्र बीमितले बीमकलाई जानकारी गराउनु पर्ने छ । बीमा अवधिभित्र बीमा गरिएको टिमुर खेतीमा ८० प्रतिशतभन्दा बढी क्षति भएमा पूर्ण क्षति (टोटल लस) अनुसार दावी भुक्तानी गरिने छ । २ लाखको दुर्घटना बीमा यो बीमालेख अन्तर्गत किसानको २ लाख रुपैयाँ बराबरको दुर्घटना बीमाको सुविधा समेत रहेको छ । आत्महत्या बाहेक अन्य कुनै पनि दुर्घटनाको कारणले मृत्यु भएमा, स्पाइनल इन्जुरीको कारण पुनः ठीक नहुने गरी रिढंको हड्डी काम नलाग्ने भएमा, एक हातको नाडीदेखि माथि पुरै हात काम नलाग्ने भएमा, कुनै एउटा खुट्टाको गोलीगाँठोदेखि माथि पुरै खुट्टा काम नलाग्ने भएमा र दुबै आँखाको दृष्टि गुमेमा कम्पनीले बीमितलाई सो मात्राको भुक्तानी गर्नेछ ।

मन्जुश्री फाईनान्समा अब अनलाइनबाट खाता खोल्न सकिने

काठमाडौं । मन्जुश्री फाईनान्सले ग्राहकहरुको लागि अनलाइन अकाउन्ट ओपनिङ्गको सुविधा ल्याएको छ । यस सेवाकाे सुरुवातसँगै फाइनान्सका ग्राहकले आफु बसेकाे जुनसुकै ठाउँबाटै खाता खाेल्न सक्नेछन् । मन्जुश्री फाईनान्सले उच्चतम ब्याज दरमा निक्षेप तथा सुलभ दरमा कर्जा प्रवाह लगायत आफ्ना ग्राहकहरुलाई रेमिटान्स लगायतका अन्य बैंकिङ्क सुविधा उपलब्ध गराउदै आएको छ । साथै, ‘मञ्जुश्री प्रिमियम बचत खाता’ र १ वर्ष वा सो भन्दा बढि अवधिको ब्याक्तिगत मुद्दती निक्षेपमा दुर्घटना तथा स्वास्थ्य बीमा समेत समावेश गरिएको छ । यस फाइनान्सले स्मार्ट टेलरद्वारा भुक्तानीको सेवा, क्युआरकोड भुक्तानीको सेवा, मोबाइल बैंकिङ्ग, एटिम कार्ड, अन्य आधुनिक बैंकिङ्क सुविधा उपलब्ध गराउँदै आएको छ । संस्थाले २०७९ मङसिरसम्म १२ अर्ब ४५ करोड निक्षेप संकलन तथा ११ अर्ब ७४ करोड कर्जा लगानी गरेकाे छ ।  

बचतकर्ताको ११ करोड फिर्ता गर्ने भन्दै खुल्यो मञ्जुश्री सहकारी, पुस ९ गते बोलायो साधारण सभा

काठमाडौं । तीन महिनादेखि बचतकर्ताको पैसा फिर्ता नगरी बन्द गरिएको सहकारी खुल्न थालेको छ । गोकर्णेश्वर नगरपालिका–५ मा रहेको मञ्जुश्री बचत तथा ऋण सहकारी संस्था लिमिटेड साउन २५ गतेदेखि बन्द रहेको थियो । बन्द भएदेखि बचतकर्तालाई पैसा फिर्ता गर्ने म्यादसम्बन्धी सूचना प्रकाशन गर्ने भने पनि कार्यान्वयन भएको थिएन । सहकारीका अध्यक्ष इन्द्र लामाले सहकारीको कार्यालय अब नियमति खोलेर कारोबार गरिने प्रतिबद्धता जनाएका छन् । सहकारीको काम गर्न जिम्मेवारी दिएका कर्मचारी जिम्मेवारी नलिई हिँडेपछि समस्या आएको बताउँदै उनले नयाँ कर्मचारी नियुक्त गरेर काम थालिएको सुनाए । बचतकर्ता सबैको साँवा, ब्याजसहित फिर्ता गरिने सहकारीको प्रतिबद्धता छ । सहकारीले बचत फिर्ता गर्न छोडेको सात महिना पूरा भए पनि कार्यालय खोलेर कारोबारसहित बचत फिर्ता गर्ने प्रतिबद्धता जनाएपछि खुसी लागेको बचतकर्ता उमेश खतिवडाले जानकारी दिए । सकारात्मक सोच लिएर कार्यालय खोलेपछि हामीले पनि सहयोग गर्न थालेको बचतकर्ताको भनाइ छ । पटक–पटक दिएको समयसीमामा पनि सहकारीले बचत फिर्ता गरेको छैन । दसैँपछिदेखि त कार्यालय नै खुल्न छोडेकामा गत हप्तादेखि कार्यालय खुल्न थालेपछि बचत फिर्ता हुने आशा पलाएको खतिवडाले सुनाए । सहकारीमा लाखौँ रुपैयाँ जम्मा गरे पनि आवश्यक पर्दा पाउन नसकेको भन्दै बचतकर्ताले गुनासो गर्दै आएका छन् । सहकारीले करिब ११ करोड रुपैयाँ बचत फिर्ता गर्नुपर्ने छ । बजारमा सात करोड ऋण लगानी रहेको अध्यक्ष लामाले बताए । पाँच करोडको घर सहकारीका नाममा छ । सेयर सदस्यको शुल्क एक करोड गरी १३ करोड रुपैयाँँको पुँजी रहेको पनि उनको भनाइ छ । आगामी पुस ९ गते सहकारीले आफ्नै भवनमा साधारणसभा बोलाएको छ । सहकारीमा लामा २०७५ सालदेखि अध्यक्ष छन् । त्यसअघि साम्देन लामाले सहकारीको अध्यक्ष भएर काम गर्नुभएको थियो । साम्देन लामाले विसं २०६३ मा सहकारी स्थापना भएदेखि २०७५ सालसम्म सहकारीको अध्यक्ष चलाएका हुन् । सहकारीको अहिले रहेको करिब सात करोड रुपैयाँ ऋणमध्ये करिब ९० प्रतिशतभन्दा बढी साम्देन लामा अध्यक्ष भएका बेलामा लगेको अभिलेख सहकारीमा रहेको उपाध्यक्ष विजय तामाङले जानकारी दिए । ‘धेरै ऋणीका घरमा ऋण उठाउन जाँदा साम्देन लामासँग ऋण लिएको हो, उनीसँग कुरा मिलाइसकेको छु भन्छन्, पूर्व अध्यक्ष साम्देन लामा कार्यालयमा आउँछु, सबै मिलाउँछु भन्छन्, तर आउँदैनन्, अब साधारणसभामा यो विषय पनि लैजान्छौँ’ उनले भने । सहकारीको ऋण उठ्न छोडेपछि सञ्चालक एकले अर्कोलाई दोष देखाउन थालेका थिए । केही पदाधिकारी एवं सदस्यले भने राजीनामा दिइसकेको बताउँदै अब आफ्नो कुनै जिम्मेवारी नरहेको भन्दै पन्छने गर्न थालेको बचतकर्ताको गुनासो छ । सहकारीबाट राजीनामा दिइसकेको बताए पूर्व सचिव अमरनाथ घिमिरे स्थापना कालदेखि नै अध्यक्षमुखी भएर सञ्चालन गरेका कारण यस्तो अवस्था आएको बताउँछन् । ‘सहकारी सबै सञ्चालक एवं सेयर सदस्यको सहकार्यमा चल्नुपर्ने हो, अरु सदस्यले पनि अध्यक्षको मात्र संस्थाजस्तो गर्ने र अध्यक्षले पनि व्यक्तिगत कम्पनीजस्तो गरी चलाउने गर्दा धेरै सहकारीमा समस्या आउने गरेको देखिन्छ, यसरी सञ्चालन गर्ने सहकारीको सिद्धान्त नै होइन’, उनले भने । सहकारीमा १४ वर्षदेखि खाता खोलेर बचत गर्दै आएका जोरपाटी माकालबारीमा फर्निचर सञ्चालन गर्ने पन्नालाल ठाकुर आठ महिनादेखि सहकारीबाट बचत फिर्ता पाउन नसकिएको गुनासो गर्छन् । करिब पाँच लाख रुपैयाँ सहकारीमा बचत गरेकाे ठाकुर दिनमा एक पटक सहकारी धाउने गरेपनि पछिल्लो समय खुल्न छोडेको कार्यालय खुलेसँगै डुबे को पैसा पाइने आशा जागेको बताउँछन् । रासस