सानिमा लाइफको नयाँ बोनस दर सार्वजनिक, कुन योजनामा कति पाइन्छ ?

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ सम्मको बीमाङ्कीय मूल्याङ्कनका आधारमा नयाँ बोनस दर सार्वजनिक गरेको हो । कम्पनीले सावधिक जीवन (रेगुलर) बीमा योजनामा बीमा अवधि अनुसार प्रतिहजार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दर दिने भएको छ । यस्तै, सावधिक जीवन (एकल) बीमा योजनामा कम्पनीले बीमा अवधि अनुसार प्रतिहजार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म बोनस दर प्रदान गर्ने भएको हो । यस्तै, त्रिपल सावधिक बीमा योजनामा बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ३० रुपैयाँसम्म बोनस दर तोकिएको छ । यस्तै, कम्पनीको दम्पत्ति सावधिक बीमा योजनामा बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ३० रुपैयाँ बोनस दर प्राप्त गर्न सकिनेछ । यस्तै, सावधिक तथा आजीवन बीमा योजनामा कम्पनीले बीमा अवधि अनुसार प्रतिहजार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दर निर्धारण गरेको छ । यस्तै, अग्रिम भुक्तानी बीमा योजनामा बीमा अवधि अनुसार प्रतिहजार न्यूनतम ३२ रुपैयाँदेखि अधिकतम ४१ रुपैयाँसम्म बोनस दर निर्धारण गरिएको छ । वार्षिक अग्रिम भुक्तानी बीमा योजनामा प्रतिहजार न्यूनतम १९ रुपैयाँदेखि अधिकतम २१ रुपैयाँसम्म बोनस दर तोकिएको छ । कम्पनीले सार्वजनिक गरेको बोनस दर मृत्यु दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी, अवधि भुक्तानी दाबी र चालु बीमालेखहरुमा लागू हुने जनाएको छ । साथै, कम्पनीका अनुसार आगामी बीमाङ्कीय मूल्याङकन नभएसम्मका लागि सोही बोनस दर लागूहुनेछ ।

महुली लघुवित्तले एफपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सनराइज क्यापिटल नियुक्त

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले एफपीओ जारी गर्ने भएको छ । कम्पनीले ४ लाख १६ हजार १८७ कित्ता एफपीओ जारी गर्न  लागेको हो । कम्पनीले एफपिओ जारी गर्नका लागि निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटललाई नियुक्त गरेको छ । उक्त सम्झौतामा महुली लघुवित्त वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गंगाधर पाण्डे र सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

आइएमई अफरको बम्पर विजेता बनिन् बेलीमाया तामाङ, १४ हजार पठाउँदा १० लाख उपहार

काठमाडौं । आइएमईले दशैँ अफरको बम्पर विजेतालाई आज चेक हस्तान्तरण गरेको छ । आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक थीममा आधारित अफरको विजेता मेखलाल तामाङ्गको सिफारिसमा उक्त चेक बेलीमाया तामाङ्गलाई हस्तान्तरण गरिएको हो । मलेसियाबाट आइएमई मार्फत १४ हजार ५० रुपैयाँ पठाएका तामाङ्गले नगद १० लाख रुपैयाँ उपहार स्वरुप प्राप्त गरेका थिए । मंगलबार पानीपोखरीस्थित कार्यक्रमा आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले तामाङ्गलाई उक्त चेक हस्तान्तरण गरेका हुन् ।