नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने अभिकर्ता तालिम सम्पन्न

काठमाडौं । काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्सले आफ्ना अभिकर्ताहरुका लागि ३ दिने चेयरपर्सन क्लब, तालिम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। आर्थिक वर्ष २०७८/७९ मा तोकिएको लक्ष्य पुरा गर्न सफल ६०० जना भन्दा बढी अभिकर्ताहरुलाई कम्पनीका चेयरपर्सन प्रेमा राज्यलक्ष्मी सिंहको उपस्थितिमा चेयरपर्सन क्लबको सदस्यता वितरण तथा सम्मान प्रदान गरिएको बताइएको छ । कार्यक्रममा उपस्थित अभिकर्ताहरुलाई जीवन बीमा व्यवसायमा थप हौसला प्रदान गर्दै अभिकर्ताहरुको व्यवसायिक दक्षता अभिवृद्धि गर्ने उदेश्यले भारतका चर्चित मोटिभेटर प्रशिक्षक सइद अफ्जल अहमदबाट उत्तप्रेरणा तथा जीवन बीमा बिक्रय कला सम्बन्धि तालिम प्रशिक्षण प्रदान गरिएको कम्पनीले जनाएको छ। नयाँ बीमा ऐन २०७९ ले अभिकर्ताहरुबारे गरेको व्यवस्था सम्बन्धमा पनि विस्तृत जानकारी गराइएको थियो । कम्पनीका अध्यक्ष सिंहको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा चेयरपर्सन क्लबमा छनोट भएका सबै अभिकर्ताहरुलाई सदस्यता वितरण गरिएको थियो। विभिन्न विधामा सवोत्कृष्ठ घोषित हुनु भएका अभिकर्ताहरुलाई सम्मान प्रदान गरिएको थियो । समारोहमा अध्यक्ष सिंहले उच्च नैतिक व्यवसायिक नेतृत्वको आधारमा कम्पनीले आगामी लक्ष्य तय गर्ने बताउँदै कम्पनीलाई अग्रस्थानमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई कम्पनीले सधैं प्राथमिकतामा राख्ने प्रतिवद्धता प्रकट गरिन् । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले कम्पनीका सबै संरचनाहरु उत्कृष्ट रहेको, बोनस दर आकर्षक रहेको जानकारी गराउँदै अभिकर्ता सञ्जाललाई अझ व्यवसायिक बनाउन यथाशक्य थप लगानी गर्ने प्रतिबद्धता व्यक्त गरे । सो समारोहमा सात वटै प्रदेशबाट आफ्नो कोडको व्यवसाय र संजालको व्यवसायबाट अलग अलग प्रथम, द्धितीय, तृतीय हुने लिडर अभिकर्ताहरु र नेपालभरबाट आफ्नो कोडको व्यवसाय र संजालको व्यवसायबाट अलग अलग उत्कृष्ट ७ जना अभिकर्ताहरुलाई सम्मानित गरिएको थियो ।      

सिद्धार्थ इन्स्योरेन्सले बोलायो साधारण सभा, लाभांशसँगै मर्जरको प्रस्ताव पारित गर्ने

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले पुस २९ गतेको लागि वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको पुस ७ गते बिहीबार बसेको संचालक समितिको बैठलके २१ औं साधारण सभा बोलाएको हो । सभाले संचालक समितिले प्रस्ताव गरेको लाभांश ९.४७३७ प्रतिशत लाभांश पारित गर्नेछ । समितिले गत वर्षको नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ०.४७३७ नगद लाभांश र ९ प्रतिशत बोनस प्रस्ताव गरेको थियो । यस्तै, सभाले प्रिमियर इन्स्योरेन्ससँगको मर्जर सम्बन्धी विशेष प्रस्ताव पनि पारित गर्ने बताइएको छ । वार्षिक साधारण सभाको लागि कम्पनीले पुस १८ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरको छ । यसार्थ पुस १७ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भएको कम्पनीको सेयरधनीले मात्र लाभांश पाउनेछन् ।

महालक्ष्मी लाईफले म्याग्दीमा दियो महिला सशक्तिकरण कार्यक्रम

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले हिमाली जिल्ला म्याग्दीको अन्नपूर्ण गाँउपालिका घारमा महिला सशक्तिकरण सम्बन्धी पहिलो कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम पुस ७ गते अन्नपूर्ण गाँउपालिका ६ घारको सहकार्य र सामाजिक संस्था मिलन म्याग्दीको समन्वयनमा संचालन भएको थियो । कार्यक्रममा स्थानिय स्वयमसेविका,आमा समूह र महिला जनप्रतिनिधि समेत ३७ जनाको सहभागिता रहेको थियो। अन्नपूर्ण गाँउपालिकाका अध्यक्ष राम बहादुर खड्काको अध्यक्षतामा सम्पन्न महिला सशक्तिकरण कार्यक्रममा प्रमुख अतिथि अन्नपूर्ण गाँउ पालिका उपाध्यक्ष दिवा कुमारी तिलिजा पुनले महिलाहरूलाई जागरूक र सुसुचित बनाउने यस्ता कार्यक्रमले स्वरोजगार हुन र आय आर्जन गर्न प्रेरित गर्ने धारणा व्यक्त गरे । दुरविन डाडा कृषक समूहका सरिता बरूवाल खड्काले संचालन गरेको कार्यक्रममा मिलन म्याग्दी संस्थाका कार्यकारी निर्देशक दिलमाया बिटालु क्षेत्रिले महालक्ष्मी लाईफले महिला उत्थानको लागि गरेको सशक्तिकरण कार्यक्रम एकदमै प्रशंसनिय रहेको बताइन्। सर्वोतम पिठो उत्पादन समूहका सचिव शुशिला कार्कि र मालिका कृषक समूहका अध्यक्ष सपना बरूवालले समाजमा महिलाहरूलाई आत्म निर्भर हुन यस्ता कार्यक्रम एकदम प्रभावकारी हुने धारणा राखे। महालक्ष्मी लाईफ धवलागिरी प्रमुख जमुना आचार्यले सहभागीहरूलाई बीमाको माध्यमले कसरी स्वरोजगार भई आर्थिक रूपमा सक्षम हुने बारेमा तालिम प्रदान गरेकी हुन् ।क्षेत्रिय प्रमुख आचार्यले निकट भविष्यमा सरकारी, गैरसरकारी निकाय संगको सहकार्यमा ग्रमिण क्षेत्रका महिलाहरूलाई रोजगार र आवश्यक अन्य तालिम पनि प्रदान गर्ने जानकारी दिइन् ।