नेरुडे र मिर्मिरे लघुवित्त मर्ज हुँदै, चुक्तापूँजी एक अर्ब ३८ करोड पुग्ने

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्झौता भएको छ । दुवै लघुवित्त संस्था एक आपसमा गाम्भे/गाभिने गरी पुस ११ गते सोमबार प्रारम्भिक सम्झौता भएको हो । नेरुडे लघुवित्तको केन्द्रीय कार्यालय मोरङको विराटनगर महानगरपालिका ३ मा रहेका छ भने मिर्मिरे लघुवित्त वित्तीय संस्थाको केन्द्रिय कार्यालय काभ्रेपलाञ्चोकको बनेपा ८ मा रहेको छ । मर्जर सम्झौतामा नेरुडे लघुवित्तका अध्यक्ष डा.भेष प्रसाद धमला र मिर्मिरे लघुवित्तका अध्यक्ष टेक बहादुर बोहराले हस्ताक्षर गरेका हुन् । दुवै लघुवित्तले मर्जर सम्झौता गरेसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सेयर कारोबार रोक्का गरेको छ । दुबै संस्थाहरु मर्ज भई एकिकृत कारोबार पश्चात वित्तीय संस्थाको कुल चुक्तापूँजी १ अर्ब ३८ करोड, शाखा सञ्जाल संख्या २५०, सदस्य संख्या ३ लाख बढी, ऋणी संख्या १ लाख ७५ हजार, निक्षेप ६ अर्ब २५ करोड, कर्जा लगानी रकम २० अर्ब हुनेछ भने कर्मचारी संख्या १३ सय पुग्नेछ ।  

मधेस प्रदेशका महिला पत्रकारको स्वास्थ्य तथा दुर्घटना बीमा

जनकपुरधाम । मधेस प्रदेशका एक सय ५० महिला पत्रकारको स्वास्थ्य तथा दुर्घटना बीमा गरिएको छ । आमसञ्चार प्राधिकरण मधेस प्रदेश जनकपुरधामले नेपाल पत्रकार महासङ्घको सदस्यता लिएका र रेडियो, टिभी, अनलाइन र छापामाध्यमलगायतका सञ्चारमाध्यममा कार्यरत सक्रिय महिला पत्रकारको स्वास्थ्य तथा दुर्घटना बीमा गराएको हो । गत २०७९ असारमा बीमा भएका सबै महिला पत्रकारले २०७९ साउन १ गतेदेखि बिमा सुविधा लिन पाउने आमसञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले जानकारी दिए । हालसम्म एक सय ५० महिला पत्रकारको स्वास्थ्य तथा दुर्घटना बीमा गराइसकिएको र चालु आर्थिक वर्ष २०७९/८० मा प्रदेशभरिका सबै सक्रिय पत्रकारको स्वास्थ्य तथा दुर्घटना बिमा गराउने योजना रहेको उनले बताए । जिटुजी फोलिसीअन्तर्गत पत्रकारको स्वास्थ्य तथा दुर्घटना बिमा गराउन राष्ट्रिय बिमा कम्पनी लिमेटडसँग सम्झौता भएको र बिमावापत लाग्ने प्रिमियम आमसञ्चार प्राधिकरणले जम्मा गरिदिने अध्यक्ष यादवको भनाइ छ । बिमावापत पत्रकारले वर्षमा एक लाखसम्मको औषधोउपचार खर्च र सात लाखसम्मको दुर्घटना बिमा सुविधा पाउने छन् । यस्तै आमसञ्चार प्राधिकरण मधेस प्रदेशले यही पुस महिनाको तेस्रो सातादेखि पर्साको वीरगञ्जबाट प्रेस प्रतिनिधि परिचयपत्र वितरण सुरु गरिने जनाएको छ । प्रेस प्रतिनिधि परिचयपत्र प्राप्त गर्ने पत्रकारको स्वतः स्वास्थ्य तथा दुर्घटना बिमा हुने अध्यक्ष यादवले बताए । प्रेस प्रतिनिधि परिचयपत्र प्राप्त गर्न मधेस प्रदेशअन्तर्गतको जिल्लामा कम्तीमा दुई वर्षदेखि सक्रिय पत्रकारिता गर्दै आएको हुनुपर्ने प्रावधान राखिएको छ । यसका साथै प्रेस प्रतिनिधि परिचयपत्रका लागि पत्रकारले कार्यरत सञ्चारमाध्यमको नियुक्तिपत्र, सम्बन्धित सञ्चारमाध्यमको अद्यावधिक गराएको कागजात, नागरिकता प्रमाणपत्रलगायतको कागजात बुझाउनुपर्ने व्यवस्था गरिएको आमसञ्चार प्राधिकरणले जनाएको छ । रासस

गुहेश्वरी फाइनान्सको लाभांश संशोधन, बोनस र नगद दुवै घट्यो

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको लाभांश संशोधन भएको छ । फाइनान्सको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र ०.३७ प्रतिशत नगद गरी कूल ७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । नेपाल राष्ट्र बैंकबाट नियमनकारी कोषमा समायोजन गरी वित्तीय प्रतिवेदन पुनः पेश गर्न निर्देशन दिएको छ । सोही बमोजिम नियमनकारी कोष समायोजन पश्चात् फाइनान्सको सञ्चालक समितिको पुस ११ गते बसेको बैठकले सेयरधनीहरुलाई ६.५० प्रतिशत बोनस सेयर र ०.३४ प्रतिशत नगद गरी कूल ६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । फाइनान्सले प्रस्ताव गरेको उक्त लाभांश पुन स्वीकृतिका लागि राष्ट्र बैंक पठाउने निर्णय भएको छ । फाइनान्सले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भइ आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।