पाँच वर्षमा बीमा व्यवसाय दोब्बरले वृद्धि गर्ने गरी काम गरौं : अध्यक्ष सिलवाल

काठमाडौं ।  नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले पाँच वर्षभित्रमा बीमा व्यवसाय दोब्बरले वृद्धि गर्ने परिकल्पनाका साथ काम गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन् । बिहीबार निर्जीवन बीमकसँग भएको बीमा अभिकर्ता व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले एक अर्काको बीमालेखको नक्कल नगरी नयाँ नयाँ बीमालेख ल्याउन तथा अस्वस्थ प्रतिस्पर्धा नगर्न पनि कम्पनीहरुलाई निर्देशन दिए । ‘बीमा अभिकर्ता बीमाका बारेमा राम्रोसँग बुझेको, बीमा व्यवसायका बारेमा जानकारी भएको, बीमा कम्पनीका बारेमा थाहा भएको हुनुपर्छ, बीमा अभिकर्ता बीमा कम्पनीले छान्ने भएकाले ती विषयमा कम्पनीहरुले ध्यान दिनुपर्छ, बीमा अभिकर्ताले कम्पनीलाई बजारमा स्थापित गर्न सक्नुपर्छ, कम्पनीहरुले परिमाणभन्दा गुणस्तरमा ध्यान दिनुपर्छ,’ उनले भने । हालै भएको बिमान दुर्घटनाको बीमा दाबी भुक्तानीमा समस्या नरहेको उल्लेख गर्नुहुँदै अध्यक्ष सिलवालले ठूला जलविद्युत आयोजना लगायत ठूला किसिमका संरचनाहरुको बीमा गराउनका लागि बीमा कम्पनीहरुबाट पनि प्रयास हुनुपर्ने बताए । ‘कम्पनीहरुले आफूले आर्जन गरेको रकमको दुई प्रतिशत कर्मचारीहरुको क्षमता अभिवृद्धिमा खर्च गर्नुपर्याे, त्यसका लागि कर्मचारीहरुले पनि व्यवस्थापनसँग माग गर्नुप¥यो, कर्मचारीहरुको दक्षतालाई सूचना प्रविधिमा आवद्ध गरी विकसित गर्नुपर्याे,’ उनले भने । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा ऐनमा व्यवस्था भए बमोजिम एक बीमक, एक बीमा अभिकर्ता गर्नका लागि नदोहोरिने गरी प्रविधिमैत्री किसिमले बीमा अभिकर्ताको व्यवस्थापन गर्न लागिएको जानकारी दिए । यस्तै, नेपाल बीमा प्राधिकरणका निर्देशक कमल प्रसाद रेग्मीले प्राधिकरणले आफ्ना काम कारवाहीलाई प्रविधिमैत्री बनाउन जोड दिँदै आएको बताए । नेपाल बीमा प्राधिकरणका उपनिर्देशक शाम्भराज लामिछानेले बीमा कम्पनीले बीमा अभिकर्तालाई कामबाट अगल गर्दा निजसँग लेनदेन बाँकी नरहेको प्रमाणपत्र दिनुपर्ने र बीमा अभिकर्ताले बीमा कम्पनीमा प्रवेश गर्दा विगतमा अन्य कम्पनीमा काम गर्दा लेनदेन बाँकी भए आफैले बुझाउने कबुलियतनामा गरेको हुनुपर्ने स्पष्ट गरे । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक शम्भुप्रसाद मिश्रले बीमा अभिकर्ता व्यवस्थापनका लागि प्राधिकरणबाट संचालनमा ल्याउन लागिएको अनलाइन प्रणालीका बारेमा प्रस्तुती गर्नुहुुँदै बीमा कम्पनीहरुमा बीमा अभिकर्ता नदोहोरिने गरी छनौट गर्नका लागि प्राधिकरणको अनलाइन प्रणालीमा अनिवार्यरुपमा स्थायी लेखा नम्बर (पान) इन्ट्री गर्नुपर्ने प्रावधान राख्न लागिएको जानकारी दिए । कार्यक्रममा निर्जीवन बीमा कम्पनीहरूका बीमा अभिकर्ता शाखाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

इसेवाको प्रादेशिक कार्यालय मधेश प्रदेशमा पनि 

काठमाडौं । इसेवाले मधेश प्रदेशको जनकपुरधाममा आफ्नो प्रादेशिक कार्यालय सञ्चालनमा ल्याएको छ । यो सँगै इसेवाले हरेक प्रदेशमा आफ्ना क्षेत्रीय कार्यालय स्थापना गर्न सफल भएको छ । प्रादेशीक कार्यालय जनकपुरको मिल्स् एरीयामा जनकपुर उपमहानगरपालिका उपमेयर किशोरी शाह र इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले संयुक्त रूपमा उद्घााटन गरे । अबदेखि दुई नम्बर प्रदेशका ग्राहक तथा एजेन्टहरूले इसेवाका सम्पूर्ण सेवा तथा सुविधा प्रादेशीक कार्यालय मार्फत सहज ढंगले प्रयोग गर्न पाउनेछन् । देशभर एक लाख ६५ हजार भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेको इसेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा करिब एक करोड ७० लाख जनसंख्याले सेवा लिइरहेका छन् । इसेवाको मोबाईल एप्स् डाउनलोड गर्नेको संख्या पनि करिब ७० लाख पुगिसकेको छ । इसेवाबाट इन्सयोरेन्सकाे प्रिमियम भुक्तानी मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क भुक्तानी गर्न सकिन्छ ।

कर्पोरेट पे प्रणालीमा पुससम्म २०२ अर्बको कारोबार फर्छ्यौट

काठमाडौँ । कर्पोरेट पे प्रणालीले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा २०२ अर्ब भन्दा बढीको कारोबार फर्छ्यौट गरेको छ । गत आर्थिक वर्ष भने कर्पोरेट पे मार्फत कुल १०९.५ अर्ब बराबरको भुक्तानी कारोबार फर्छ्यौट भएको थियो । बैंकरवित्तीय संस्थाहरुका साना तथा मझौला व्यावसायिक तथा विभिन्न संस्थागत ग्राहकहरुले सहज रुपमा कर्पोरेट पे मार्फत डिजिटल भुक्तानी गर्न सक्ने हुँदा यसको कारोबार संख्या दुई गुणाले बृद्धी भएको कम्पनीले जनाएको छ । हाल ४४ बैंक वित्तिय संस्थाहरु मार्फत् यस प्रणाालीमा बैंकरवित्तीय संस्थाका ६१ सय भन्दा बढि व्यावसायिक ग्राहकहरु आवद्ध भई कारोबार गर्दै आएका छन् । यस प्रणाली मार्फत फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेण्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानी लगायतका विभिन्न भुक्तानीहरु गर्न सकिन्छ । यस प्रणालीमा युटिलिटी तथा क्रेडिटरहरुलाई बल्क भुक्तानी, नेपाल आयल निगम, भन्सार विभागको प्रज्ञापनपत्रको भुक्तानी, बीमा समितिको इजाजत पत्रको नवीकरणको भुक्तानी, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष तथा अन्य विभिन्न सेवा सम्बन्धी भुक्तानीहरु उपलब्ध रहेका छन् । साथै, यस प्रणालीको एउटै प्ल्याटफर्ममा एक भन्दा बढि बैंक खाताहरु लिंक गरी कारोबारहरु गर्न सक्ने व्यवस्था रहेकोले छ । यस प्रणालीमा रियल टाइममा प्रति कारोबार २० लाखसम्म र नन–रियल टाइम कारोबारको हकमा २० करोडसम्म गर्न सकिन्छ । उक्त प्रणाालीमा व्यावसायिक ग्राहकहरुलाई भुक्तानी कारोबार सुरक्षित रुपमा गर्नको लागि आवश्यक मल्टी फ्याक्टर अथेन्टिकेसनको समेतको व्यवस्था रहेको छ । साथै, यस प्रणालीमा व्यावसायिक ग्राहकहरुले बैंक खाता, रकम वा कारोबारको किसिममा आधारित विभिन्न खाता सञ्चालनका आदेशहरू सेट गरी उच्च स्तरको नियन्त्रण र जोखिम व्यवस्थापन पनि गर्न सक्दछन् ।